«

»

सम्पादकीय : विद्यार्थीहरुको जायज माग

प्रमुख विद्यार्थी संगठनहरुले भूकम्पले बन्द भएको समयको शैक्षिक शुल्क नलिन निजी शैक्षिक संस्थालाई ध्यानाकर्षण गराएका छन् । बुधबार काठमाडौंमा बसेको बैठकले बन्द भएको बेलाको शुल्क लिए आन्दोलन गर्ने चेतावनी दिएको छ । निजी विद्यालयले भूकम्पका कारण पढाइ नभएको अवधिको पनि शुल्क माग्ने विद्यालयविरुद्ध विद्यार्थी सङ्गठनले आन्दोलनको तयारी गरेका छन् । उनीहरुले विपत्तिको सामना गर्न परिरहेका बेला निजी विद्यालयले मौकाको फाइदा उठाउन खोजेको आरोप पनि लगाएका छन् । निजी विद्यालयका सञ्चालक र सरकारी निकायका अधिकारीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले आन्दोलनको तयारी गर्नुपरेको विद्यार्थीहरुको भनाई छ ।
प्याब्सनले भूकम्पका कारण विद्यालय पनि क्षतिग्रस्त भएको र विद्यालयको सबै खर्चको स्रोत शुल्क भएकाले शुल्क मिनाहा नगर्ने बताएपछि अभिभावकहरु झनै पिडामा परेका छन् । भूकम्पपछि विद्यार्थीहरुले स्कूल गएर राम्रोसंग पढ्न पाएका छैनन् । अझ स्कूल गए पनि सामान्य अवस्थामा पठनपाठन गर्न अझै कठिन छ । यस्तो बेला निजी विद्यालयहरुले आन्तरिक स्रोतबाटै भएपनि आफ्ना खर्च धानेर विद्यार्थीहरुसंग नपढाएको बेलाको शुल्क लिन जायज देखिँदैन । यसैले विद्यार्थी संगठनहरुले उठाएको माग सकारात्मक छ । विद्यालय भवनको भाडा तिर्नुपर्ने बहानामा पठनपाठन नै नभएको समयको समेत पुस्तकालय, अतिरिक्त क्रियाकलाप, खेलकुद, सवारी शुल्क आदि लिनु सरासर अव्यावहारिक काम हो । यसमा निजी विद्यालयहरुको संस्था प्याब्सनले पुनर्विचार गर्नु जरुरी छ ।
निजी विद्यालयका केही समस्या छन् भने सरकार उनीहरुको समस्याप्रति गम्भीर हुनुपर्छ । समस्याको थुप्रोले अभिभावकको ढाडमा सेकाउने हो भने अभिभावकहरु कहिल्यै पनि निजी विद्यालयप्रति सकारात्मक देखिँदैनन् । प्याब्सनको यतिबेला परीक्षा लिन चाहिरहेका छन्, अभिभावकहरुले । निजी विद्यालयले एक महिनाको शुल्क लिँदैमा उसको सबै समस्या समाधान हुने पनि होइन । कम्तिमा विपत्तिका बेला स्कूल बन्द भएको बेलाको शुल्क नमाग्नका लागि यतिबेला विद्यार्थी संगठनहरुले देखाएको चासोलाई सरोकारवाला निकायले समर्थन गर्नु जरुरी देखिन्छ ।
वैशाख २ गते नयाँ शैक्षिक सत्र सुरु भएपछि भूकम्प प्रभावित अधिकांश निजी विद्यालयमा अहिलेसम्म पठनपाठन भएको छैन भने पठनपाठन सुरु गरेका विद्यालय पनि वैशाख १२ गतेको भूकम्पपछि बन्द छन् । प्याब्सन आफैंले १२ गतेको भूकम्पपछि विद्यार्थीको २६ दिनको पठनपाठन रोकिएको बताएको छ । भूकम्पका कारण रोकिएको पठनपाठन गर्मी र जाडो तथा चाडबाड र परीक्षा विदा कटौती गरेर सञ्चालन गरिने प्याब्सनले बताएपनि विद्यार्थीहरुमा अझै त्रास कायमै छ । अभिभावकलाई पनि एकातिर त्रास छ भने अर्कोतिर प्राकृतिक विपत्तिको सामना कसरी गर्ने अनि दैनिक गुजारा कसरी गर्ने भन्ने चिन्ता व्याप्त छ । यस्तो बेला शुल्कको भारले उसलाई थप चिन्ता निम्त्याउँछ । यस्तो बेला निजी विद्यालयहरुले विपत्तिबाट फाइदा नभई मानवीयता प्रदर्शन गर्न सक्नुपर्छ ।