«

»

पिसजोनले ११ को पढाई सुरु गर्ने

आनन्द पोखरेल
चितवन, १० असार
भरतपुर उपमहानगरपालिका वडानम्बर ७ विशालचोकमा रहेका पिसजोन बोर्डिङ स्कुलले यसै शैक्षिक सत्रदेखि उच्च मावि सञ्चालन गर्ने भएको छ । ०६० सालदेखि शैक्षिक गुठीको रुपमा सञ्चालनमा आएको आएको विद्यालय गत वर्षदेखि निजी स्तरबाट सञ्चालनमा आएको थियो ।
पिसजोनले यसै शैक्षिक सत्रदेखि विज्ञान र व्यवस्थापन विषयमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने जनाएको छ । यस वर्षमा उक्त उच्च माविले दुवै सङ्कायमा ४० जनाका दरले विद्यार्थी भर्ना गर्ने विद्यालय व्यवस्थापन समितिले जनाएको छ । पिस जोनले कक्षा ११ मा विज्ञान संकाय र व्यवस्थापन संकायमा कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा पढाइ सञ्चालन गर्ने विद्यालयका प्राचार्य मुक्तिनाथ अधिकारीले बताए ।
हाल उच्च माध्यमिक शिक्षा परिषद्ले निजी उच्च माध्यमिक विद्यालयहरु खारेजीको प्रकृयामा गइरहेको बेलामा नयाँ उच्च माध्यमिक विद्यालय पनि सम्बन्धन पाएको सन्दर्भमा अधिकारीले भने, –‘कुनै संकाय पढाउने अनुमति लिएपछि लगातार तीन वर्षसम्म उक्त संकाय सञ्चालन नगरेका उच्च माविहरुलाई सरकारले खारेजी गर्ने तयारी गरेको हो ।’ आफूहरुले सम्बन्धन लिएकै वर्षदेखि कक्षा सञ्चालन गर्न लागिएको अधिकारीले बताए ।
समाजका प्रतिष्ठित व्यक्तिहरुद्वारा उच्च माध्यमिक सञ्चालन गरिएको कारण विद्यालयले पैसा कमाउन भन्दा पनि सेवाभावले काम गर्ने विद्यालयले बताएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै एसएलसी प्रवेशिका परीक्षामा ८५ प्रतिशत भन्दा बढी अंक ल्याएका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ । विद्यालयले कक्षा ११ सञ्चालन गर्न लागेको पहिलो वर्ष भएका कारण विज्ञान र व्यवस्थापन विषयमा भर्ना हुने विद्यार्थीलाई ५० प्रतिशत सहुलियतको व्यवस्था गर्ने समेत जनाएको छ ।