«

»

अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण

भरतपुुर, १ चैत
चितवन जिल्लाका विभिन्न १० स्थानका स्वयम्सेविकाहरुको लागि अन्तरव्यक्ति सञ्चारसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यूएसएआईडी÷एचसीथ्री नेपाल परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
चितवनको भरतपुर २, फूलबारी, कविलास, दारेचोक, सिद्धि, खैरहनी, कुमरोज, कठार, भण्डारा र कोराक गाविसमा अन्तरव्यक्ति सञ्चारसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । १० स्थानमा सञ्चालित कार्यक्रममा सो क्षेत्रमा कार्यरत ८९ जना स्वयम्सेविकाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई सम्बन्धित क्षेत्रका स्वास्थ्य संस्थाका प्रमुखहरु गंगाराम तिमिल्सिना, सुनिता सुवेदी, भविश्वर अधिकारी, हरिबहादुर देवकोटा, मोहन साउद, डा. सुनिल आचार्य, ऋषिराम रिजाल, गोकुल तिवारी, दिनेश दूधराज र राजेन्द्र पराजुलीले सहजीकरण गरेका थिए । साथै एचसीथ्री नेपाल परियोजनाका फिल्ड सुपरभाइजरहरु माया खराल र खेम बोलखेले पनि सहजीकरणमा सघाएका थिए ।
सहभागीहरुलाई परिवार नियोजनको परिभाषा, फाइदा र साधनहरु, सञ्चारको परिभाषा, प्रकार, अन्तरव्यक्ति सञ्चारका सीप, प्रभावकारी प्रश्न गर्ने तरिका, तथ्याङ्क अभिलेखीकरण र प्रतिवेदन तयार गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा पुनर्ताजगी गराइएको थियो । कार्यक्रमपछि सहभागी महिला स्वयम्सेविकाहरुले आफूहरुलाई सो कार्यक्रम प्रभावकारी भएको र कार्यक्षेत्रमा व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए ।
नेपालमा हुने अनिच्छुक गर्भधारणमा कमी ल्याउन सहयोग गर्ने लक्ष्यका साथ एचसीथ्री नेपाल परियोजना सञ्चालित छ । स्वास्थ्य सञ्चारको माध्यमले बढी माग भएका समूहलाई परिवार नियोजन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी स्वास्थ्य व्यवहारको प्रयोग वृद्धिमा जोड दिनु परियोजनाको उद्देश्य रहेको छ ।
लक्ष्य उद्देश्य प्राप्तिका लागि चितवन जिल्लाका लक्षित १० स्थानमा साथी सहजकर्ता परिचालन गरी युवा र युवा दम्पती, सीमान्तकृत र अवसरबाट वञ्चित समूह र प्रवासी कामदारलाई लक्षित गरेर कार्य सञ्चालन भइरहेको छ ।
आमा समूहको बैठक, नागरिक सचेतना केन्द्र, खोप क्लिनिक, गाउँघर क्लिनिक, नव विवाहित दम्पतीसँग छलफल, अन्तरक्रिया, होर्डिङ बोर्ड, एफएममा सूचना प्रवाह, सन्देशमूलक भित्ते लेखन, सडक नाटक प्रस्तुती र सचेतनामूलक सामग्री वितरणजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । चितवनसहित नेपालका १३ जिल्लामा सञ्चालित यो परियोजना सन् २०१७ सेप्टेम्बरसम्म सञ्चालन हुने एचसीथ्री नेपाल परियोजनाका चितवन जिल्ला संयोजक जया बुढाथोकीले जानकारी दिइन् ।