«

»

औपचारिक अनुसन्धान शुरु भयो ः एसपी कार्की

sp karkiकृष्ण प्रसाद अधिकारी हत्याको अनुसन्धानको विषय यतिबेला राष्ट्रिय रुपमा चर्चाको बिषय बनेको छ । अधिकारीका बुबा आमा छोराको हत्यामा संलग्न भएकाहरुलाई कार्बाहीको माग गर्दै आमरण अनसनमा बसिरहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था अतिनै नाजुक भैसकेको छ । प्रमुख राजनीतिक दलका नेताहरु र अन्तरिम मन्त्रीपरिषद्का अध्यक्षसमेतले अनसन अन्त्य गर्न अनुरोध गरेपनि उनीहरु मानिरहेका छैनन् । यस्तो अवस्थामा उनीहरुको जीवन रक्षा सबैको प्राथमिकतामा परेको छ ।  गोरखा जिल्ला फूजेल गाविस वडा नम्बर ७ का १७ वर्षिय कृष्ण प्रसाद अधिकारीको तत्कालीन नेकपा माओवादीले ०६१ जेष्ठ २४ गते चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर–१ बकुल्लहरबाट अपहरण गरि गोली हानेर हत्या गरेको सम्बन्धमा भइरहेको अनुसन्धान बारे जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रद्युम्न कार्कीसँग सञ्चारपत्र दैनिकका लागि मुकुन्द दहालले गर्नुभएको कुराकानी ः  

अधिकारीको हत्याको सम्बन्धमा अनुसन्धान प्रारम्भ भएको हो ?
 हो, चितवन जिल्ला प्रहरी कार्यालयले यस घटना सम्बन्धमा अनुसन्धान शुरु गरेको छ । र, यो  निरन्तर अघि बढ्नेछ । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसको आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाईएको हो । चितवन जिल्ला न्यायधिवक्ताको कार्यालयबाट कानुनी राय प्राप्त नभएपनि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रकृया आरम्भ गरेको छ ।

अनुसन्धान प्रकृया कहाँ पुगेको छ ?
घटनाको अनुसन्धान शुण्यबाट शुरु गरेको हुनाले हाल अनुसन्धान प्रकृया प्रारम्भिक चरणमा रहेको छ । घटनाको सत्य तथ्य पत्ता लगाउन यस चरणमा अधिकारीको हत्या भएको घटनास्थल, घटनासँग सम्बन्धित स्थानहरुको पहिचान, घटनास्थल वरपरका मानिसहरुसँग घटनाबारे जानकारी लिने काम भैरहेको छ । मृतकको ठेगाना भएको स्थान गोरखाको फूजेलमा पनि घटना बारे बुभ्mने कार्य भैरहेको छ । एक टोलीले चितवनमा अनुसन्धान गरिरहेको छ र अर्को टोलीले सो घटनाको बारेमा फूजेलमा बुभ्mने काम भैरहेको छ । प्रहरी नायव उपरीक्षकको नेतृत्वमा टोली सक्रियतापूर्वक लागि रहेको छ ।

यस घटनाको अनुसन्धान प्रकृया औपचारिक रुपमा कि अनौपचारिक रुपमा भैरहेको हो ?
मानवअधिकार आयोगको सिफारिसको आधारमा अनुसन्धान प्रकृया अघि बढाइएकोले यो अनुसन्धान प्रकृयालाई औपचारिक नै मान्नुपर्दछ ।

अनुसन्धानको क्रममा तपाईंलाई कत्तिको दवाव आएको छ ?
अन्य पक्षबाट छैन । तर पीडित पक्षले चाहिँ दोषीलाई छिटो कार्बाही गर्न भन्दै पटक पटक आग्रह गरिरहेका छन् ।

एनेकपा माओवादीका अध्यक्षले पत्रकार सम्मेलनमार्फत अनुसन्धान प्रकृया अघि नबढाउन गरिएको धम्कीपूर्ण आग्रहलाई के भन्नुहुन्छ ?
यस सम्बन्धी औपचारिक जानकारी हामीलाई प्राप्त भएको छैन ।

एनेकपा माओवादी चितवनले पनि अनुसन्धान अघि नबढाउन विज्ञप्ति मार्फत दवाव दिएको छ नि ?
मलाई सो बारे जानकारी छैन ।

अधिकारी दम्पत्तीको माग सम्बोधन हुनेगरी अनुसन्धानको परिणाम आउन कति समय लाग्छ ?
यतिनै समय लाग्छ भनेर अहिलेनै भन्न सकिन्न । आवश्यक प्रमाणहरुको संकलन नगरी हामीले निष्कर्ष निकाल्न मिल्दैन । त्यसैले अहिलेनै कति समय लाग्ला भनेर किटानी गर्न सकिँदैन । हामी गम्भिर र सक्रिय भएर काम गरिरहेका छौं ।

अनुसन्धान प्रक्रिया शुरु भयो भन्नुभयो, के तपाईं अधिकारी हत्याका दोषीहरुलाई कानुनी कठघरामा उभ्याउन सक्नुहुन्छ ?
सबुत प्रमाणले पुष्टि गरेमा उभ्याउन सक्छु । अनुसन्धान त्यसैका लागि त हो नि ।

यस्ता घटनाको अनुसन्धानको लागि सञ्चार माध्यममा आएका समाचारहरुले कस्तो प्रभाव पारेका
छन् ?
हाल सञ्चार माध्यममा आएका समाचारहरुले अनुसन्धानमा नकारात्मक प्रभाव पारेको छ जस्तो
लाग्दैन । सामान्यतयाः सञ्चार माध्यमले अनुसन्धान प्रकृयालाई सकारात्मक प्रभाव पार्दछ, नकारात्मक असर पार्दैन । तर त्यसका लागि समाचार सत्य, तथ्यमा आधारित हुनुपर्छ बढाइचढाइँ गरिनुहुँदैन ।