«

»

चितवनलाई पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियान

आनन्द पोखरेल
भरतपुर, ९ असार
जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनको लागि अभियान सुरु गरेको छ ।
चितवनलाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नको लागि जिल्लामा रहेका १२ महिनादेखि २३ महिना मुनीका बालबालिकालाई दिइएको खोपको अनुगमन सुरु गरिएको हो । यसैक्रममा बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय चितवनबाट भरतपुर उपमहानगरपालिका वडा नम्बर २६, २७, २८ र २९ (साबिकको पटिहानी गाविस)मा सुलभ सर्वेक्षण गरिएको छ । उक्त गाविसमा रहेका २३ महिना मुनीका सबै बालबालिकाले पूर्ण खोप पाएका भनेर पटिहानी स्वास्थ्य चौकीले भनेपछि सुलभ सर्वेक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत दिवाकर महर्जनले बताए ।

कार्यालयले बिहिबार साविकको बछौली गाविस र शक्तिखोर गाविसमा पनि सुलभ सर्वेक्षण गर्ने महर्जनले बताए । ती गाविसहरुले २३ महिना मुनीका बालबालिकालाई दिनुपर्ने सबै खोप कसैलाई पनि नछुटाइ लगाएको भए पूर्ण खोप युक्त गाविस घोषणा गर्ने तयारीमा आफूहरु लाग्ने महर्जनले जानकारी दिए । गाविसका सबै बालबालिकाले खोपको मात्र पूरै लगाएको पाइएमा जिल्ला खोप समन्वय समितिको बैठक बसेर पटिहानी, बछौली, शक्तिखोर गाविसलाई पूर्ण खोप युक्त गाविस घोषणा गरिने महर्जनले जानकारी दिए ।

कोही छुटे कि : सुलभ सर्वेक्षणको क्रममा जिल्ला जन स्वास्थ्य कार्यालय चितवनबाट खटिएको टोलीले पटिहानी बजारमा बालबालिकालाई दिएको खोपको मात्रा अनुगमन गर्दै । तस्विर : आनन्द/सञ्चारपत्र

कोही छुटे कि : सुलभ सर्वेक्षणको क्रममा जिल्ला जन स्वास्थ्य कार्यालय चितवनबाट खटिएको टोलीले पटिहानी बजारमा बालबालिकालाई दिएको खोपको मात्रा अनुगमन गर्दै । तस्विर : आनन्द/सञ्चारपत्र

जिल्ला जनस्वास्थ्य कार्यालयले असार महिनामा नै तीन वटा गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्ने समेत महर्जनले बताए । यस अगाडि ०७१ साउन २२ गते साबिकको फूलबारी गाविस पूर्ण खोप युक्त गाविस घोषणा भइसकेको छ । फूलबारी गाविसक नारायणी अञ्चलमा नै पहिलो पूर्ण खोप युक्त गाविस हो भने अब घोषणा गरिने गाविस नारायणी अञ्चलकै दोस्रो पूर्ण खोप युक्त गाविस हुनेछ ।
पूर्ण खोप युक्त क्षेत्र घोषणा हुनको लागि बीसीजी, डीपीटी, पीसीभी र दादुरा–रुबेला विरुद्धको खोपको मात्रा उक्त क्षेत्रका सबै बालबालिकाले पूरा रुपमा लगाएको हुनुपर्ने विश्व स्वाथ्य सङ्गठन क्षेत्रीय कार्यालय हेटौँडाका आईपीडी (खोपबाट सुरक्षित राखिने रोगहरु) इन्चार्ज डाक्टर नरेन्द्रकुमार झाले बताए । नेपाललाई सन् २०१७ सम्ममा पूर्ण खोप युक्त मुलुक जिल्ला घोषणा गरिने तयारीका साथ जिल्लाहरुमा काम भइरहेको झाले बताए । डाक्टर झाले चितवन जस्तो स्वास्थ्य, शिक्षालगायत सबै क्षेत्रमा अगाडि रहेको जिल्लाले मुलुककै पहिलो पूर्ण खोप युक्त जिल्ला हुनुपर्नेमा चितवनले ढिलाइ गरेको टिप्पणी गरेका थिए ।
कुनै पनि क्षेत्रलाई पूर्ण खोप युक्त क्षेत्र घोषणा गरेर मात्र नहुने भन्दै पूर्ण खोपलाई निरन्तरता दिन सक्नुपर्ने डाक्टर झाले बताए । ‘गाविसलाई पूर्ण खोप युक्त घोषणा गर्नको लागि हतार गर्नु हुँदैन’ झाले भने, –‘घोषणा गरेपछि त्यसलाई दीर्घकालिन रुपमा अगाडि बढाउन सक्नुपर्छ ।’ पूर्ण खोपको लागि स्थानीय स्तरमा रहेका संघ–संस्था, राजनीतिक दल, क्लबहरु सबैको प्रतिबद्धता आवश्यक रहेको झाले बताए ।
सुलभ सर्वेक्षणका क्रममा बुधबार जिल्ला जन स्वास्थ्य कार्यालय चितवन, विश्व स्वाथ्य संगठन, पत्रकारको टोलीले पटिहानी गाविसका ६० घरमा रहेका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुको सर्वेक्षण गरेको थियो । सर्वेक्षणका क्रममा सबै बालबालिकाले नियमित रुपमा पूर्ण खोप लिएको पाइएको कारण उक्त गाविसलाई पूर्ण खोप युक्त गाविस घोषणाको लागि तयारी थालिने खोप अधिकृत दिवाकर महर्जनले बताए ।
नेपालमा हालसम्म नौ वटा जिल्लाहरु पूर्ण खोप युक्त जिल्ला घोषणा भइसकेका छन् । २०७० फागुन १५ गते पाल्पा जिल्लालाई नेपालको पहिलो पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसपछि नवलपरासी, अछाम, गुल्मी, अर्घाखाँची, म्याग्दी, धनकुटा, इलाम र बैतडीलाई पूर्ण खोप युक्त जिल्ला घोषण गरिएको छ । पछिल्लो पटक ०७२ असार ७ गते बैतडीलाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको हो ।