«

»

सिकाइ जीवनको लागि कि परीक्षाकोे लागि ?

फोटोरमाकान्त सापकोटा 

बाबुआमाले आफ्ना बालबालिकालाई फकाएर, गाली गरेर, पिटेर तर्साएर, आशा देखाएर वा अरु कुनै तरिकाले आफ्नो इच्छा अनुसारको व्यवहार निर्माण गर्न चाहान्छन् । बालबालिकाहरू झगडा गरेर, रोएर, तोडफोड गरेर रिसाएर, लुकेर, भागेर खाना नखाएर र यस्तै अरु कुरा गरेर आफ्नो आवश्यकता, इच्छा पूरा गर्न चाहान्छन् । राजनीति गर्ने नेता, सामाजिक अगुवा, समुदायका जिम्मेवार मानिसहरू, सेवाग्राहीहरू सबैले आ–आफ्नो चाहना र आवश्यकता अनुसारको व्यवहार निर्माण गर्न खोजिरहेका हुन्छन् । यी सबै चाहानाभित्र व्यवहार परिवर्तनको अपेक्षा छ । अर्थात् आदत, ज्ञान, प्रवृत्तिको परिमार्जन खोजिएको छ । यसको अर्थ हो बाबुआमा छोराछोरीलाई सिकाउन चाहान्छन् भने छोराछोरी बाबुआमालाई, नेता कार्यकर्तालई, कार्यकर्ता नेतालाई, शिक्षक विद्यार्थीलाई र विद्यार्थी शिक्षकलाई सिकाउन चाहान्छन् । हरेकले हरेकलाई सिकाइ रहेको हुन्छ । सिकाइ प्रक्रियामा अनुभव र तालिमद्वारा व्यवहार परिवर्तन र परिमार्जन भइरहन्छ । सिक्दा वा सिकाउँदा सिक्ने सिकाउँने व्यक्तिको विचार मनोभावना वा व्यवहारमा केही न केही परिवर्तन आइरहेको हुन्छ ।
सिलसिलाबद्धरुपले सिक्न र सिकाउने विधिज्ञानको खोजी हुने क्रममा शिक्षा मनोविज्ञानको विकास भयो । शिक्षक अभिभावक, विद्यार्थी र वातावरण वीचको भावनात्मक सम्बन्ध स्थापना गरी व्यवहार परिमार्जन गर्ने कामलाई सिकाइ भनिन्छ भन्ने कुरामा सबै मनोवैज्ञानिकहरूको साझा धारणा रह्यो । तर व्यवहार, व्यवहारका स्रोत, बुद्धि, ज्ञान, संवेग आदि कुरामा मनोवैज्ञानिकहरूका केही फरक मान्यताहरू रहँदै आएका छन् । जसलाई मनोवैज्ञानिक मुद्धाहरूको रुपमा लिइन्छ । ग्रेगर मेन्डेल (१८६७)लगायत आनुवांशिक अध्ययन कर्ताका अनुसार मानव व्यवहार निर्माणको महत्वपूर्ण स्रोत वंशाणुक्रम हो । अर्थात् पुख्र्यौली गुण हो । यसैका कारण सन्तान थरीथरीका हुन्छन् । हुने विरुवाको चिल्लो पात भने जस्तै गर्भ र वाल्यकालमा नै निर्धारण भएको व्यवहारको श्रोतले मानिसका व्यवहार लाई डो¥याउँछ ।

स्किनर, वाटशन लगायतका ब्यवहारवादि मनोबैज्ञानिकहरूका अनुसार सिकाइ वातावरणमा निर्भर रहन्छ । मलाई स्वस्थ्य शिशु देउ म उसलाई चाहेजस्तो बनाइदिन्छु भनी वाटसनले १८१७८ मा नै भनिदिएका थिए र सिकाइमा वातावरण निर्माणको महत्वलाई उजागर गरिदिएका थिए । सिग्मण्ड फ्रायडजस्ता मनोविश्लेषकका अनुसार मानिसमा बाँच्ने बचाउने तथा मर्ने मार्ने प्रवृत्ति अर्थात् मानवीय र दानवीय प्रवृत्ति दुवै हुन्छन् । परिवेशको परिवर्तनले यी प्रवृत्तिमा भिन्नता देखिन्छ । मानिस अन्धवेगको दास पनि हो र अचेतन मनबाट समेत प्रभावित हुन्छ । मानवलाई देवता वा दानवको रुपमा मात्र विश्लेषण गर्नु दुवै अपुरो हुन्छ । कार्ल रोजर्स र अब्राहम मास्लोजस्ता मानवतावादी मनोवैज्ञानिकहरूले १९६० तिर मानिस प्रकृतिको सर्वश्रेष्ठ प्राणि हो भनी चित्रण गरे । ऊ जन्मजात नै सक्षम छ र पूर्णतातिर प्रयत्नशील रहिरन्छ तर आधारभूत आवश्यकता पूरा हुन सकेन भने उसको विका अवरुद्ध हुन्छ । स्वतन्त्रता, प्रजातान्त्रिक वातावारण उदारतामा मात्रै व्यवहारमा प्रगतिशील परिवर्तन हुन्छ अर्थात् सिकाइ हुन्छ भन्ने मानवतावादी मान्यता हो । पियाजे, जर्ज केलि, भिगोत्सकी लगायतका संज्ञानवादी एवम् निर्माणवादी मनोवैज्ञानिकहरूको विचारमा बालक वा व्यक्तिले सूचना प्राप्त गर्दछ, अनुभवसँग मिलाउँछ, विश्लेषण गर्छ र अनुकूलन प्रक्रियाबाट व्यवहार र ज्ञान निर्माण गर्दछ । अर्थात् अनुभव र वातावरणको अनुकुलन प्रक्रियाबाट सिकाइ हुन्छ ।
सिकाइको व्यापकता र विधि विज्ञानका विभिन्न मतहरूबारे माथि चर्चा गरियो । सिकाइ कसरी भइरहेको छ । विद्यालयमा सिकाउने शिक्षकहरूमा के कस्ता क्षमताहरू छन् । सिक्ने सिकाउने विषयवस्तुहरू के कति सान्दर्भिक छन् आदि महत्वपूर्ण प्रशनहरू पनि सिकाइसँग सम्बन्धित छन् । यस सन्दर्भमा शैक्षिक सुधारको राजनीति शीर्षकको नागरिक पत्रिकामा प्रकाशित विश्लेषणप्रति मेरो ध्यानाकर्षण भएको छ । यसका केही सन्दर्भहरूलाई स–प्रसङ्ग चर्चा गर्न सान्दर्भिक ठान्दछु । भोलाप्रसाद दाहाल (Friday 03 feb 2012 13.06 www.nagariknews.com) ले फिनलेण्डकी वरिष्ठ पाठ्यक्रम विद् इर्मेली हलिनेसँग गरेको अन्तरक्रिया र विश्लेषणका आधारमा नेपाल र फिनलेण्डको शिक्षालाई तुलना गरिएको छ । नेपालले फिनलेण्डबाट थुप्रै कुरा सिक्न सक्ने निष्कर्ष निकालिएको छ । स्मरणीय छ कि फिनल्यावण्डको शिक्षा विश्वमै उत्कृष्ट मध्येमा पर्दछ र नेपालको शिक्षामा सहयोगी मुलुकभित्र पर्दछ । पाठ्यक्रम पाठ्यपुस्तक र शिक्षण सिकाइबारे प्रस्तुत भएको विश्लेषण अनुसार फिनलेण्डको शिक्षण तथा सिकाइ , ज्ञान, सीप मुल्य मान्यताको अभ्यास र सकरात्मक सोचको विकासमा केन्द्रित छ । यहाँको शिक्षाले विद्यार्थीलाई समालोचनात्मक विश्लेषण र अन्वेषणात्मक चिन्तन गर्न सक्षम बनाउँछ । नेपालको शिक्षा घोक्ने र सम्झने कुरामा केन्द्रित ठानिएको छ । फिनलेण्डमा बालविकास केन्द्रिदेखि नै शिक्षक हुन स्नातकोत्तर गरी एकवर्षको शिक्षण तालिम प्राप्त भएकै हुनु
पर्दछ । त्यहँँ शिक्षण पेशा र शिक्षा विषयको अध्ययन उच्च प्राथमिकतामा पर्दछ भने नेपालमा यसको विपरित अवस्था छ । सबैभन्दा कमजोर विद्यार्थी शिक्षक बन्दछ र पेशामा टिक्न राजनीतिक दलको झोले बन्दछ भनी विश्लेषणमा जसरी आरोपित गरिएको छ त्यो विश्लेषणलाई म स्वीकार गर्न सक्दिन तथापी यो भनाईलाई निराधार भन्ने र खण्डन गर्ने तागत पनि हाम्रो पद्धतिले हामीलाई दिएको छैन । पत्रिकामा प्रकाशित उक्त विश्लेषणलाई अहिलेसम्म कसैले चुनौति दिएको वा खण्डन गरेको पनि मैले सुनेको पढेको छैन । हाम्रो सिकाइप्रक्रियामा भएका चुनौतिमध्ये यो महत्वपूर्ण मुद्दा हो भन्ने ठान्दछु ।
प्रकाशित विश्लेषणको अर्काे पाटो परीक्षाको सवालमा छ । फिनलेण्डमा त्रैमासिक वार्षिक परीक्षाहरू लिइँदैन, उत्तीर्ण, अनुत्तीर्ण भन्ने पनि हुँदैन । निरन्तर मूल्याङ्कनद्वारा विद्यार्थीको क्षमता र सिकाइ उपलब्धि मापन गरिन्छ र अर्काे कक्षामा चढाइन्छ । सिकाइ उपलब्धि भएन भने अवसर सृजना गरेर उपलब्धि गराएरै छोडिन्छ । नौ कक्षासम्मको आधारभूत, अनिवार्य, निःशुल्क र एकैप्रकारको शिक्षामा कोही पनि अनुत्तीर्ण हुँदैन । विद्यालय छाडेर जाँदैन । १२ कक्षाको राष्ट्रिय परीक्षामा पनि ९५ प्रतिशत उत्तीर्ण हुन्छन् । फिनलेण्डको साथै दक्षिणकोरिया, सिङ्गापुर, डेनमार्क, स्वीटजर्लेण्ड, हङ्कङ, दक्षिण अफ्रिका लगायतका देशहरू जहाँ हामीले अपेक्षा गरेका सुचकहरू १०० वर्ष पहिले नै पूरा भईसकेको पाइन्छ । यी मुलुकहरूको सिकाइ र परीक्षा पद्धति सबै फिनलेण्डको जस्तै छ । तर हाम्रो स्थिति फरक छ । फिनलेण्डकी इर्मेलीले भनेजस्तै हामीकहाँ अङ्ग्रेजी सिक्न, आकर्षक पोषाक लगाउन, अनुशासनमा रही घोकाइ र स्मरणबाट अधिकतम अङ्क प्राप्त गर्न सामाजिक प्रतिष्ठा समेतको लागि सहरी अभिभावक र बालबालिकाको ठूलोसंख्या नीजी शैक्षिक संस्थामा आकर्षित छन् । त्यहाँँ विद्यार्थीहरू राम्रो अङ्क ल्याएर उत्तीर्ण पनि भएका छन् । बढी अङ्क ल्याउने दौडमा विशिष्ठ क्षमता अर्थात् मौलिकता, नयाँ ढंगले विचार गर्ने सृजनशीलता ओझेलत परेको त छैन भन्ने विषयमा थुप्रै वहसहरू भएका छन् । वस्तुपरक अनुसन्धान गर्न आवश्यक ठान्दछु ।
मेरो अनुभव र अध्ययनले भन्छ बुद्धि र ज्ञान एउटै होइन । बुद्धि ज्ञान हासिल गर्ने क्षमता हो । प्रत्यक्षीकरण गर्न सक्ने, चिन्तन गर्ने कुरा ज्ञान सीप आर्जनको लागि ऊर्जा हो, यो नै बुद्धि हो । बुद्धि धेरै क्षमताहरूको संयुक्त रुप हो । विकासात्मक मनोविज्ञान अनुसार यस्तो उर्जा गर्भ अवस्थादेखि किशोर अवस्थासम्म विकसित भइरहेको हुन्छ । बुद्धि उत्खनन कार्यजस्तै हो । भाषा, गणित, विषयगत जानकारी जस्ता कुराहरू ज्ञान, सीप आर्जन भीत्र पर्दछन् । ज्ञान, सीप आर्जन गर्ने कुरा जीवनभर भइरहन सक्दछ । जसरी बाँझो चउर जोतेर उर्वर बनाइन्छ बुद्धिको प्रस्फुटन भइसकेपछि मानवको सिकाइ प्रक्रिया पनि उर्वर भूमिजस्तै हुन्छ । पाठ्यक्रमले राखेको अपेक्षित उपलब्धिको जानकारी विना नै पाठ्यपुस्तक मात्रै रटाउने, त्यस्तै प्रश्न सोध्ने, त्यस्तै गरी परीक्षण गर्ने अनि उत्तीर्ण र अनुत्तीर्ण घोषित गर्ने हाम्रो सिकाइ पद्धतिले बुद्धिको प्रष्फुटन गराएको छैन भन्ने पाठ्यक्रमविद् इर्मेलीको भनाइ पाइन्छ । उनको यो विश्लेषणले हाम्रो सिकाइ पद्धति जीवनको लागि परीक्षाको लागि भन्ने प्रश्न उब्जेको छ ।
अन्तमा मेरो पहिलो निचोड हो, सिकाइ व्यापक छ, हरेकले हरेकलाई सिकाइरहेको छ सिकिरहेको छ जो शिक्षक विद्यार्थीमा मात्रै सीमित रहन सक्दैन । सामाजिक पद्धति विग्रदा सिकाई प्रक्रिया विग्रन्छ । मेरो दोस्रो निचोड हो सिक्ने सिकाउने विधि विज्ञानको प्रयोग रम्रोसँग भएको हुनुपर्दछ । यसको लागि मनोवैज्ञानिक सिकाइवातावरण आवश्यक छ । तेस्रो निचोड हो अरुको आलोचना, सुझाव अनुभवबाट सिक्नु पर्छ र आलोचनालाई अवसर र चुनौतिको रुपमा स्वीकार गर्नु पर्दछ । चौथो निष्कर्ष हो परीक्षा र प्राप्ताङ्कको दौडमा सृजनाको पक्ष ओझेलमा परेको कुरा मनन योग्य छ । अध्ययन अनुसन्धान र सुधार गर्न आवश्वयक छ । मेरो अन्तिम निष्कर्ष हो वुद्धि गर्भ अवस्था देखि नै नियमित रुपमा विकसित हुँदै जान्छ, ज्ञान र सीप बुद्धिमा आधारित भएर पछि निर्माण हुन्छ । अन्त्यमा बस्तुगत ढङ्गले सोच्नसक्ने, समस्या समाधान गर्नसक्ने, विश्लेषण गर्नसक्ने, भविश्यवाणी गर्नसक्ने गरी सृजनात्मक विकास गर्न हाम्रो सिकाइ प्रक्रियाले मद्दत गरोस् जीवनको लागि बाटो पहिल्याउन सक्नेगरी तयारी गर्न सकोस् भन्ने अपेक्षा राख्दछु ।