«

»

सम्पादकीय :त्रिचन्द्र क्याम्पसमा विद्यार्थी अराजकता

आजकल हरेक क्याम्पसमा बिपी कोइरालाको एउटा उद्गार देख्न सकिन्छ । अझ काँग्रेस निकट नेपाल विद्यार्थी संघले यसको बढि प्रयोग गर्छ । त्यो हो–‘शैक्षिक क्षेत्र बाहुबल गर्ने थलो होइन, यो त विचारको द्वन्द्वात्मक भूमी हो ।’ तर शैक्षिक क्षेत्र बाहुबल प्रयोग गर्ने थलो नै रहेछ, यहाँका विद्यार्थीका लागि । प्रेमिकाका विषयमा दुई विद्यार्र्थीबीच उत्पन्न विवादले आइतबार उग्र रूप लिँदा देशको राजधानी काठमाडौँको मुटुमा रहेको त्रिचन्द्र क्याम्पसमा रहेको बीपी पुस्तकालयमा आगलागी हुनुले यसै कुरालाई पुष्टि गराएको छ । आगलागीबाट पुस्तकालयका पुस्तक, टेबुल, कुर्र्सी, सोफालगायतका भौतिक सामग्री जलेर नष्ट भएका छन् । यसले विद्यार्थीहरु थप अराजक बनेर शैक्षिक क्षेत्रलाई विचारको द्वन्द्व बनाउन प्रयासरत रहेनछन् भन्ने देखाएको छ ।
त्रिचन्द्र क्याम्पसमा भएको घटनामा सुरुमा बीएस्सी प्रथम वर्षमा अध्ययनरत एक छात्रालाई मन पराउने विषयमा सोही क्याम्पसमा अध्ययनरत प्रेम केसी र कमल बुढाबीच विवाद भयो । केसी एमाले भ्रातृ संगठन अनेरास्ववियुका र बुढा नेविसंघका कार्यकर्ता रहेछन् । केसी पढिरहेको बेला बुढाले आफ्ना केही साथीहरुसहित उनलाई खुकुरीले आक्रमण गरे । यसपछि उनीहरुको झगडा व्यक्तिगत रहेन । यसले संगठनको रुप धारण ग¥यो ।
क्याम्पसका विद्यार्थीहरुका अनुसार यसअघि पनि प्रेमिकाकै विषयलाई लिएर केसी र बुढाबीच भनाभन भएको थियो । यसले के देखाउँछ भने उनीहरुको झगडा विल्कुलै व्यक्तिगत थियो । तर पछि विद्यार्थी संगठनले आफ्ना कार्यकर्ताको संरक्षणकै लागि घटना विद्यार्थी समुहमा ल्याए । अनि क्याम्पसमा खुकुरी हानाहानदेखि पुस्तकालय जलाउने काम भयो । दुवैथरि विद्यार्थीले पुस्तकालय जलाएको दोष एकअर्कालाई लगाइरहेका बेला घटना जसले घटाएको भएपनि यसको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कम हुन्छ । सानो कुरालाई लिएर देशको शिक्षित वर्ग यो हदसम्म उत्रनु राम्रो थिएन ।
पुस्तकालयमा बिपी कोइरालाले लेखेका पुस्तक र कांग्रेससँग सम्बन्धित महत्वपूर्ण दस्ताबेज थियो । पुस्तकालयमा विद्यार्र्थीले हतियार बोकेर क्याम्पस छिर्नु र आफैंले पढ्ने पुस्तकालयमा आगो लगाउनु चिन्ताको विषय हो । यसले विद्यार्थीले नैतिकता गुमेको छ । त्रिचन्द्रमा भएको घटनाले नेपालको शैक्षिक प्रणालीलाई नै अराजक बनाएको छ । शिक्षाप्रेमीहरुलाई लज्जित बनाएको छ । विद्यार्र्थीबीच अलोकप्रिय बन्दै गएको गलत राजनीतिले विद्यार्र्थी संगठनहरू आपराधिक मनोवृत्तिबाट ग्रस्त भएको बोध गराएको छ ।
राजनीतिको नाममा अपराधिक भए पनि हुने, गुन्डागर्र्दी गरे पनि हुने, भ्रष्टाचार गरे पनि हुने स्थितिले अबको विद्यार्थी आन्दोलन कता जाला भन्ने चिन्ता सबैलाई गराएको छ । यस्ता घटना हुँदै जाने हो भने आगामी विद्यार्र्थी आन्दोलन निश्चितरूपमा अराजक, अनुशासनहीन र बद्नाम हुँदै जानेछ । प्रेमिका या जुनसकै नाममा भएको सानो घटनालाई संगठनको रुप दिएर यो हदसम्म उत्रनु जायज थिएन । यसैले विशुद्ध शैक्षिक, वैचारिक तथा राजनीतिक आन्दोलनलाई अगाडि बढाउने हो भने शैक्षिक संस्थाहरूमा वितण्डा मच्याएर होइन, वैचारिक बहस र सांगठनिकरूपमा बलियोे भएर मात्रै विद्यार्र्थी आन्दोलनलाई अगाडि बढाउन सकिँदैन । बिपी कोइरालाले भनेजस्तै शैक्षिक क्षेत्रलाई बाहुबल प्रयोग गर्ने स्थल बनाउनु उपयुक्त होइन ।