«

»

माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र

माडी, १ चैत
माडी भरतपुर सम्पर्क मञ्चले माडीबाट भरतपुर स्थायी वा अस्थायी रुपमा बस्दै आएकाको तथ्याङ्क संकलन कार्य तीव्र पारेको छ । बसाइँसराइ, पेसा व्यवसायमा संलग्न भएकाहरुको चैत्र १५ गतेसम्म तथ्याङ्क संकलन गरिसक्ने मञ्चले जनाएको छ । १० वटा विभिन्न टोली भरतपुर १ देखि १४ वडासम्म परिचालन गरिएको छ ।
माडी नगर क्षेत्रबाट भरतपुर आइ बसोबास गरेकाहरुबीचको सम्बन्ध विस्तार गरी माडी विकासमा सघाउने उद्देश्यसहित तथ्याङ्क संकलन कार्य अघि बढाइएको जनाइएको छ । माडी भरतपुर सम्पर्क मञ्चका अध्यक्ष जितेन्द्रबहादुर भण्डारीले तथ्याङ्क संकलन कार्य जारी रहेकाले मञ्चमा आवद्ध हुन आग्रह गरे ।
भरतपुर वडा नम्बर १ र २ मा कपिल अधिकारी, प्रधुम्नकुमार खड्का, ३ र ४ मा कृष्णप्रसाद पौडेल, ५ र ६ मा शिवप्रसाद लम्साल, ७ ढाकाराम सापकोटा, डिल्लीराज पौडेलको टोली खटिएको छ । यस्तै वडा नम्बर ८ मा टंकप्रसाद पौडेल, ९ मा शिवप्रसाद ढकाल, १० मा विष्णुकुमारी क्षेत्री, ११ मा मोहनदत्त रानाभाट, १२ मा सीता सुवेदी बस्याल, १३ र १४ मा कृष्णबहादुर घर्तीको टोली खटिएको छ ।
माडीबाट आएर गैडाकोट क्षेत्रमा बसोबास गरेकाहरुको तथ्याङक संकलन कार्यसमेत थालिने मञ्चको टेलिफोन डायरी प्रकाशन समितिका संयोजक ढाकाराम सापकोटाले जानकारी दिए । मञ्चले तथ्याङ्क संकलन गरेलगत्तै टेलिफोन डायरी प्रकाशन गर्ने तयारी थालेको छ ।
तथ्याङ्क संकलन गर्दा नाम, स्थायी, अस्थायी ठेगाना, मोबाइल नम्बर, पेसा वा व्यवसायबारे उल्लेख गरिने मञ्चका सचिव हिमालय दवाडीले जानकारी दिए । मञ्चले कल्याणकारी कोष बनाएर सहयोग गर्ने रणनीतिसमेत लिएको छ । मञ्चले तथ्याङ्क संकलनस“गै सदस्यतासमेत वितरण गर्नेछ ।