«

»

क्याम्पसमा अखिलको कमिटी

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १७ मंसिर
अनेरास्ववियू चितवनको मंसिर २६ र २७ गते हुने २७ औं जिल्ला अधिवेशनका लागि क्याम्पसहरुमा अधिवेशन गर्ने कामलाई तिव्रता दिएको छ । अधिवेशन नजिकिएसँगै विद्यालय तथा क्याम्पसमा सङ्गठन विस्तार तथा परिचालनको काम तीब्र रुपमा अगाडि बढाइएको अनेरास्ववियूले जनाएको छ ।
लक्ष्मी उच्च मावि लंकुमा युवराज कँडेलको अध्यक्षतामा २५ सदस्यीय अनेरास्ववियू उच्चमावि कमिटी गठन गरिएको छ । सोही विद्यालयमा नारायण कँडेलको संयोजकत्वमा अखिल फोर्स र तारा खरेल महिला विभाग प्रमुखमा चयन भएकी छन् ।
त्यस्तै, एपेक्स एकेडेमी क्षेत्रपुरमा सुभाष आचार्यको अध्यक्षतामा २५ सदस्यीय उच्चमावि कमिटी गठन गरिएको छ भने आदर्श शेरचन कलेज दिव्यनगरमा मनिष बिष्टको अध्यक्षतामा १९ सदस्यीय अनेरास्ववियू क्याम्पस कमिटी गठन गरिएको छ । यसैगरी, अनेरास्ववियू आदर्श उच्च मावि दिव्यनगरको भेलाले शिव ढकालको अध्यक्षतामा १७ सदस्यीय उच्चमावि कमिटी गठन गरेको छ ।
“माघ ८ मा नै जनमुखी संविधान निर्माणका लागि दवाव अभियान, शैक्षिक नगरीका रुपमा चितवनको विकासका लागि २७ औं जिल्ला अधिवेशन” भन्ने मूल नाराका साथ अनेरास्ववियू चितवनको जिल्ला अधिवेशन मंसिर २६ र २७ गते हँुदै छ ।