«

»

सात महिनामा २६ प्रहरी कारबाहीमा

सञ्चारपत्र संवाददाता
भरतपुर, ६ फागुन
गैरव्यावसायिक र आचरणविहीन काम गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्षको सात महिनामा २६ जना प्रहरीलाई कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी वसन्तबहादुर कुँवरका अनुसार कारबाहीमा पर्नेहरुमा प्रहरी निरीक्षक एक जना, प्रहरी नायव निरीक्षक दुई जना, प्रहरी सहायक निरीक्षक एक जना, प्रहरी हबल्दार सात जना र प्रहरी जवान १५ जना रहेका छन् ।
संगठनको मर्यादाविपरीत कार्य गरेका तीमध्ये पाँच जनालाई बर्खास्ती गरिएको छ भने अन्यलाई नसियत दिने र ग्रेड रोक्का गर्ने काम गरिएको कुँवरले बताए । संगठनलाई मर्यादित बनाउन गैरव्यावसायिक काम गर्ने मातहतका जुनसुकै प्रहरीलाई पनि कारबाही गरिने कुँवरले बताए ।
कार्यालयभित्रकै काममा पनि गैरव्यावसायिक भएको भन्ने गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालयका प्रत्येक कोठामा सीसी क्यामरा जडान गरी निगरानी गरिएको एसपी कुँवरले बताए । अब सर्वसाधारण मात्रै होइन, प्रहरीले गरेका गल्तीको पनि उजुरी परे आवश्यक छानविन र कारबाही हुने उनको भनाइ थियो ।