«

»

मानवीय कारण जल प्रदूषण बढ्दो

Still0218_00000आनन्द पोखरेल
नारायणगढ, ६ फागुन
पछिल्लो समय बढ्दै गएको सहरीकरणका कारण मानवीय फोहोर बढ्दै गएको छ । मानवीय कारणले निस्किएका फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा वातावरणीय समस्यासमेत देखिने गरेको छ । मानवीय फोहोरलाई राम्रोसँग व्यवस्थित गर्न नसक्दा नदीनालाहरु प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएका छन् ।
मानवीय सभ्यताको विकाससमेत नदी–नाला तथा खोलाको छेउछाउबाट भएको देखिन्छ । मानिसहरुको विभिन्न क्रियाकलापका कारण नै दिनप्रतिदिन नदी तथा ताल तलैया प्रदूषित बन्दै गएको छ । नदी प्रदूषणका कारण नेपालका विभिन्न नदीनालाहरुमा समेत विस्तारै असर पर्दै गएको छ । जल प्रदूषणका कारण चलचर प्राणीमा प्रत्यक्ष रुपमा असर पर्दा यसले प्राकृतिक पारिस्थितिक पद्धतिलाई समेत असर पु¥याउने विज्ञहरु बताउँछन् ।


निरन्तर बगिरहने नदीनालाहरुमा विश्वमा नै धनी मुलुकको रुपमा नेपाल चिनिने गरेको छ । यहाँ बाह्रै महिना पानी बग्ने हजारौँ खोला–नाला तथा ठूला नदीहरुसमेत बग्ने गर्दछन् । नारायणी, कोसी, कर्णाली, महाकालीलगायतका नदीहरु नेपालका मुख्य नदीहरु हुन् । नदी छेउमा बसोबास गर्ने व्यक्ति तथा उद्योग स्थापनाले नदी प्रदूषण बढ्दै गएको छ ।
खोला तथा नदी किनारमा मानवीय बस्ती बाक्लो हुने भएका कारण यस क्षेत्रबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्नु नै जल प्रदूषणको मुख्य कारण हो । अव्यवस्थित सहरीकरणका कारण बजार क्षेत्रबाट निस्कने फोहोरलाई प्रशोधन नगरी सीधै पानीका स्रोतहरुमा मिसाउँदा यसले जल प्रदूषण निम्त्याउँछ ।
चितवनमा रहेको नारायणी नदीसमेत पछिल्लो समय प्रदूषणको सिकार बन्दै गएको छ । नदी किनारमा स्थापना भएका उद्योगहरुबाट निस्किएका फोहोरहरुलाई प्रशोधन नगरी नारायणीको किनारमा मिसाउँदा यहाँ रहेका जलचरहरुमा प्रत्यक्ष रुपमा असर परेको छ ।
चितवनको ठिमुरामा रहेको दूध कारखाना र नवलपरासीको गोर्खा ब्रुअरीबाट निस्कने फोहोरलाई प्रशोधनविना नै नारायणी नदीमा मिसाइने गरेको छ । त्यसैगरी, भरतपुर उपमहानगरपालिका भित्रबाट निस्कने फोहोरलाई पनि ढलमार्फत सीधै नदीमा मिसाइँदा जल प्रदूषण बढ्न गएको छ ।
नारायणी नदीमा माछा मारेर जीविका चलाउँदै आएका नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका वडा नम्बर ३ ब्रम्हस्थानका डम्बरबहादुर बोटे पछिल्लो समय नदीमा माछाको संख्या घट्दै गएको बताउँछन् । उमेरले ६३ वर्ष नाघेका उनी आजभन्दा ३० वर्षअगाडि नारायणीमा ठूलाठूला माछा पाइने गरेकोमा अहिले माछा मारेर दैनिकी चलाउनसमेत धौधौ हुने गरेको गुनासो गर्छन् ।
जल प्रदूषणका कारण नारायणी नदीमा रहेका माछाहरुको आकारमा समेत परिवर्तन आएको अनुसन्धानकर्ताहरु बताउँछन् । पछिल्लो समय नदीमा गोंच, डल्फिनजस्ता माछाहरु देखिन छोडेको उनीहरुको भनाइ छ । नदी प्रदूषणले माछाहरुको अस्तित्व संकटमा पर्दा माछामा आश्रित अन्य जलचर प्राणीसमेत लोप हुन सक्ने विज्ञहरु बताउँछन् ।
नदीनाला माछाको लागि अत्यन्त आवश्यक भएजस्तै नदीनालाको लागि पनि माछा आवश्यक भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ डाक्टर दिनेश भुजू बताउँछन् ।
नेपालको नारायणी नदीमा प्रदूषणका कारण परेको प्रभावका बारेमा सन् १९८० देखि अनुसन्धान गर्दै आएका इम्पोरिय स्टेट यूनिभर्सिटी अमेरिकाका प्रोफेसर डेभिड आर एड्सले पानी प्रदूषण भएकै कारण माछाको वंशाणुमा समेत परिवर्तन आएको बताउँछन् । नारायणी नदीको विभिन्न १२ ठाउँमा अध्ययन गर्दै आएको डेभिडले जल प्रदूषणका कारण र जथाभावी करेन्ट लगाएर माछा मार्दा नदीमा पहिलेको तुलनामा अहिले माछाको जनसंख्या घटेको बताए ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जलप्रदूषण हुँदा अप्रत्यक्ष रुपमा जलचर प्राणीलाई असर पर्ने जानकारी दिए । करिब १५ वर्ष अगाडिदेखि संरक्षणमा काम गर्दै आएका खड्काले प्रदूषणकै कारण नदीमा माछाको संख्या घटेपछि गोहीको संख्यासमेत बढ्न नसकेको बताए ।
मानवीय फोहोरलाई नियन्त्रण गर्न सकेको अवस्थामा नदी स्वतः स्वच्छ र सफा हुने नेपाल सरकार वन विभागकका पूर्व महानिर्देशक गोकुलराज पाण्डेले बताए । विभिन्न ठाउँमा स्थापना गरिएको उद्योग कलकारखानाबाट निस्कने फोहोरलाई नदीमा मिसाउँदा प्रशोधन गरेरमात्र मिसाउन सकेमा पनि नदी प्रदूषण नहुने पाण्डेको भनाइ छ ।
बढेको सहरीकरणसँगै शौचालयबाट निस्कने दिसापिशावलाई नदीमा मिसाउने प्रकृया बढेकोले यसलाई नियन्त्रण गर्न सकेमा नदी प्रदूषण हुनबाट जोगिने र जलचर प्राणीलाई समेत नकारात्मक असर नपर्ने पाण्डेले बताए ।
मानवीय कारणले भएको जल प्रदूषण रोक्न हामी सबै लाग्नु पर्छ । आजैका दिनदेखि हामीले जल प्रदुषण रोक्नका लागि ठोस कदम चालेनौँ भने पृथ्वीबाट डायनासोर लोप भएजस्तै गरी जलचर प्राणी समेत लोप नहोलान् भन्न सकिदैन । जल प्रदूषण रोक्दै पर्यावरण बिग्रनबाट जोगाउनु हामी सबैको दायित्व हो ।