«

»

आमाहरुलाई ‘छोरी’को सहयोग

danceभरतपुर, १६ चैत

नेपाली समाज बेल्जियमको ‘छोरी परियोजनाले’ ले शनिबार कविलासको भार्लाङमा आमा समूहरुलाई सहयोग गरेको छ । परियोजनाका संयोजक कृष्णप्रसाद रेग्मीले मिलन बजार महिला समूह, चित्रकाली आमा समूह, नमूना प्रकोप आमा समूह र लालीगुराँस आमा समूहलाई उनीहरुको संस्थागत क्षमता अभिवृद्धिका लागि सदस्य संख्याको आधारमा सहयोग गरेको जानकारी दिए ।
नगरपालिका र गाविसमा रहेका आमा समूहका महिलाहरुबीच सो कार्यक्रममा एकापसमा अनुभव आदानप्रदान भएको थियो । मिलन बजारबाहेक अन्य आमा समूह सबै भार्लाङका हुन् । कार्यक्रममा चारवटै आमा समूहबीच मितेरी सम्बन्ध समेत स्थापना गराइएको संयोजक रेग्मीले बताए ।
कविलास, काउले, कोराक, चण्डीभञ्ज्याङ, दाहाखानी र सिद्धिका किशोरीहरुको शिक्षा र स्वास्थ्यका लागि समेत सहयोग गर्न ‘छोरी परियोजना’ स्थापना गरिएको हो ।
11831724_10207004727427454_3778842524589250021_nकोषमा संकलित रकमले ‘छोरी’हरुलाई वृत्तिविकास र स्वालम्वन बनाउन मद्दत गर्ने परियोजनाका निर्देशक रामहरि कोइरालाले बताए । कोषको नाम नै ‘छोरी’ भएकाले यसलाई चितवनका विभिन्न सामाजिक अभियन्ताहरुको सहकार्यमा गैरसरकारी संस्थाको रुप दिँदै चितवन र बेल्जियम दुबै ठाउँमा दर्ता गरिने परियोजनाको लक्ष्य भएको कोइरालाको भनाई छ ।
‘सामान्यतया युरोपमा छोरा छोरी १८ वर्ष पुगेपछि वालिग र स्वतन्त्र हुन्छन् । यसैले उनीहरुको नाममा केही सामाजिक अभियान सञ्चालन गर्ने उद्देश्यले यो अभियान थालिएको हो ।’– छोरी परियोजनाको स्थापनाबारे जानकारी दिँदै रेग्मीले भने । १८ वर्ष उमेर पुगेपछि उनीहरु कानूनी रुपमा सवल हुन्छन् र यहाँ यो उमेरलाई पर्वकै रुपमा मनाइने चलन रहेको छ ।
चारवटा आमा समूहहरुको समूहगत मैत्री सम्बन्ध स्थापना गर्ने सो कार्यक्रममा चित्रकालीकी अध्यक्ष सावित्री लामिछाने, नमूना प्रकोपकी अध्यक्ष मनकुमारी चेपाङ, लालीगुराँसकी अध्यक्ष कान्छीमाया गुरुङ र मिलन बजारकी विपुला दवाडीले आ–आफ्ना समूहको गतिविधिबारे सहभागिहरुलाई जानकारी गराएका थिए ।
यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, पत्रकार सिर्जना अर्याल, जनस्वास्थ्य विज्ञ देवी आचार्य, स्थानीय चन्द्रबहादुर गुरुङ लगायतले ‘छोरी परियोजना’ को शुभकामना व्यक्त गर्दै ‘छोरी’ हरुको शिक्षा, स्वास्थ्य र क्षमता अभिवृद्धिका लागि सरोकारवाला निकायसंग मिलेर काम गर्न सुझाव दिएका थिए ।