«

»

पत्रकार महासंघका लागि पुस्तक सहयोग

book help भरतपुर, १६ चैत
नेपाली समाज बेल्जियमको ‘छोरी परियोजना’बाट नेपाल पत्रकार महासंघ, चितवन शाखालाई विभिन्न विधाका समसामयिक पुस्तकहरु प्राप्त भएका छन् । परियोजनाका संयोजक कृष्णप्रसाद रेग्मीले शनिबार महासंघका अध्यक्ष हरिप्रसाद पोखरेललाई पुस्तकालयका लागि पुस्तकहरु हस्तान्तरण गरेका हुन् । पत्रकारिता, आख्यान, इतिहास, र दस्ताबेजमा आधारित करिब २५ हजार रुपैयाँको पुस्तकहरु सहयोग प्राप्त भएको महासंघले जनाएको छ ।
महासंघले गएको चैत १६ गते आफ्नोे ६० औँ स्थापना दिवसका अवसरमा शाखा कार्यालयमा पुस्तकालय स्थापना गरेको थियो । सुरुमा ‘एक सदस्य ः एक पुस्तक’ अभियान सहित पुस्तकहरु संकलन गर्दै पुस्तकालय स्थापना गर्ने क्रममा हाल नागरिक समाजबाट पनि महासंघमा पुस्तकहरु प्राप्त हुन थालेको छ ।
महासंघलाई पुस्तक सहयोग गर्ने ‘छोरी परियोजना’ का संयोजक रेग्मी बेल्जियम निवासी हुन् । आफ्नी छोरी प्रकृति रेग्मीको १८ औँ जन्मोत्सवमा अवसरमा रेग्मीले व्यक्तिगत खर्चमा १० लाख रुपैयाँको कोषबाट ‘छोरी’ परियोजना सुरु गरी विभिन्न सामाजिक काममा सहयोग गरिरहेका छन् । कोषलाई एक करोड रुपैयाँसम्म पु¥याइने र यसबाट चितवनका पहाडी गाविसका ‘छोरी’हरुको शिक्षा र स्वास्थ्यमा रकम खर्च गरिने पनि रेग्मीको योजना छ । महासंघलाई पुस्तक हस्तान्तरण गर्दै रेग्मीले संकलन गरिएको पुस्तक अध्ययन गरेर उपयोग ल्याउन सञ्चारकर्मीहरुलाई अनुरोध गरे । रेग्मी सामान्य किसान परिवारका व्यक्ति हुन् र अहिले उनी बेल्जियमसम्मको राजनीतिमा क्रियाशिल छन् । बेल्जियमको ठूलो राजनीतिक दल एनभिएको क्षेत्रीय स्तरको नेता समेत रहेका रेग्मीको दल अहिले बेल्जियमको सत्तामा समेत छ ।
पुस्तक हस्तान्तरण कार्यक्रममा धन्यवाद व्यक्त गर्दै महासंघका अध्यक्ष हरिप्रसाद पोखरेलले अबका दिनमा पुस्तकालयलाई व्यवस्थित गर्नुपर्ने र सञ्चारकर्मीहरुले आफ्नो पेशागत क्षमता अभिवृद्धितर्फ यसलाई उपयोग गर्नुपर्ने बताए । पुस्तकालयका लागि सुरु गरेको अभियानमा सरिक भई पुस्तक उपलव्ध गराउने सबैलाई महासंघका उपाध्यक्ष दिपेन्द्र बडुवालले धन्यवाद व्यक्त गरे । पत्रकार महासंघको स्थापना दिवसका अवसरमा सुरु गरिएको पुस्तकल संकलन अभियान अहिले पनि जारी छ । हाल महासंघमा करिब पाँच सय पुस्तक संकलन भईसकेका छन् ।
आमा समूहहरुलाई सहयोग
‘छोरी परियोजना’ ले शनिबार नै कविलासको भार्लाङमा आमा समूहरुलाई पनि सहयोग गरेको छ । संयोजक रेग्मीले मिलन बजार महिला समूह, चित्रकाली आमा समूह, नमूना प्रकोप आमा समूह र लालीगुराँस आमा समूहलाई उनीहरुको संस्थागत क्षमता अभिवृद्धिका लागि सदस्य संख्याको आधारमा सहयोग गरेको जानकारी दिए । नगरपालिका र गाविसमा रहेका आमा समूहका महिलाहरुबीच सो कार्यक्रममा एकापसमा अनुभव आदानप्रदान भएको थियो । मिलन बजारबाहेक अन्य आमा समूह सबै भार्लाङका हुन् । कार्यक्रममा चारवटै आमा समूहबीच मितेरी सम्बन्ध समेत स्थापना गराइएको संयोजक रेग्मीले बताए ।
कविलास, काउले, कोराक, चण्डीभञ्ज्याङ, दाहाखानी र सिद्धिका किशोरीहरुको शिक्षा र स्वास्थ्यका लागि समेत सहयोग गर्न ‘छोरी परियोजना’ स्थापना गरिएको हो । कोषमा संकलित रकमले ‘छोरी’हरुलाई वृत्तिविकास र स्वालम्वन बनाउन मद्दत गर्ने परियोजनाका निर्देशक रामहरि कोइरालाले बताए ।
कोषको नाम नै ‘छोरी’ भएकाले यसलाई चितवनका विभिन्न सामाजिक अभियन्ताहरुको सहकार्यमा गैरसरकारी संस्थाको रुप दिँदै चितवन र बेल्जियम दुबै ठाउँमा दर्ता गरिने परियोजनाको लक्ष्य भएको कोइरालाको भनाई छ ।
‘सामान्यतया युरोपमा छोरा छोरी १८ वर्ष पुगेपछि वालिग र स्वतन्त्र हुन्छन् । यसैले उनीहरुको नाममा केही सामाजिक अभियान सञ्चालन गर्ने उद्देश्यले यो अभियान थालिएको हो ।’– छोरी परियोजनाको स्थापनाबारे जानकारी दिँदै रेग्मीले भने । १८ वर्ष उमेर पुगेपछि उनीहरु कानूनी रुपमा सवल हुन्छन् र यहाँ यो उमेरलाई पर्वकै रुपमा मनाइने चलन रहेको छ । चारवटा आमा समूहहरुको समूहगत मैत्री सम्बन्ध स्थापना गर्ने सो कार्यक्रममा चित्रकालीकी अध्यक्ष सावित्री लामिछाने, नमूना प्रकोपकी अध्यक्ष मनकुमारी चेपाङ, लालीगुराँसकी अध्यक्ष कान्छीमाया गुरुङ र मिलन बजारकी विपुला दवाडीले आ–आफ्ना समूहको गतिविधिबारे सहभागिहरुलाई जानकारी गराएका थिए । यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, पत्रकार सिर्जना अर्याल, जनस्वास्थ्य विज्ञ देवी आचार्य, स्थानीय चन्द्रबहादुर गुरुङ लगायतले ‘छोरी परियोजना’ को शुभकामना व्यक्त गर्दै ‘छोरी’ हरुको शिक्षा, स्वास्थ्य र क्षमता अभिवृद्धिका लागि सरोकारवाला निकायसंग मिलेर काम गर्न सुझाव दिएका थिए ।
नेपाल पत्रकार महासंघ, चितवनको पुस्तकालयलाई पुस्तक सहयोग गर्दै ‘छोरी परियोजना’ का संयोजक कृष्णप्रसाद रेग्मी (बायाँ) ।