«

»

विद्यार्थी अभिभावक परामर्श : एसएलसी पछिको बाटो

फोटोआगामि केही वर्ष पछि नै कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिनेछ तापनि अहिले सम्म कक्षा १० को अन्तिम राट्रियस्तरको परिक्षा नै विद्यालय तहको अन्तिम ढोका मानिने गरिएको छ । शैक्षिक प्रक्रियामा संलग्न मानिसको चेतनाको समृद्धिको कारण विगतमा जसरी फलामे ढोका भनिन्थ्यो त्यो मान्यतामा पनि परिवर्तन आएको छ । सिकाइ र मूल्याङ्कन नियमित र निरन्तर प्रक्रिया हुने हुँदा कुनै एउटा ढोकालाई फलामे वा अरू यस्तै विशेषण दिनु असान्दर्भिक हुन्छ । यसले सो परीक्षालाई डरलाग्दो रूपमा चित्रित गर्दछ । फेरि पनि एसएलसीले चर्चा र महत्व पाउने केही कारणहरू छन् । पहिलो कारण हो – राष्ट्रिय स्तरमा नै शिक्षा मन्त्रालय परीक्षा नियन्त्रण कार्यालयबाट लिइने परीक्षा हो, तहगत संरचनाको अन्तिम खुट्किलो हो । दोस्रो – विषय छनौट, शैक्षिक संस्था छनौटमा निर्णय गर्नुपर्ने अर्को महत्वपूर्ण समय अब नजिक आइ पुगेको हुन्छ । तेस्रो कारण हो – बालबालिकामा किशोर अवस्थाको परिर्वतन संगै अमूर्त चिन्तनको विकास भैसकेको हुन्छ जसले गर्दा तिब्र परिवर्तनको संघारमा हुन्छन् ।
हरेक वर्ष एसएलसी परीक्षा पछि सञ्चार जगतमा एउटा बहस चल्ने गर्छ, अनि, फुर्सदका विद्यार्थीलाई आकर्षित गर्न विज्ञापन पनि हुने गर्दछ । बहसहरूमा म पनि आमन्त्रित हुने गरेको छु । सिनर्जी एफएमका रमाकान्त पौडेल लगाएतका सञ्चारकर्मीहरूको समूहले गत वर्ष एसएलसी दिएर बसेका विद्यार्थी अभिभावक र शिक्षा सेवीहरू बीचमा जनबहस आयोजना गरेको थियो त्यहाँ मैले आफ्ना सुझाव, परामर्शहरू राखेपछि विद्यार्थी र अभिभावकबाट बग्रेल्ती प्रश्नहरू आएका थिए । ती प्रश्नहरूबाट सजिलै बुझ्न सकिन्थ्यो कि विषय र स्कूल रोज्दा विद्यार्थीहरूको र अभिभावकको चाहना बाझिएको देखिन्थ्यो । चितवनका तीन वटा नर्सिङ्ग कलेज र दुईवटा सामुदायिक र निजी कलेजमा पनि विद्यार्थीहरूको रूचि र पढिरहेको विषयको बारेमा सर्वेक्षण गरेको थिएँ । नर्सिङ्ग कलेजहरूमा ३०% विद्यार्थीले अभिभावकको चाहना अनुसार नर्सिङ्ग पढेको पाइयो । अरू कलेजहरूमा अर्थात शिक्षा, व्यवस्थापन, मानविकि लगायतका विषयको अध्ययनमा ५०% जति विद्यार्थीको आफ्नो रूची, २०% जति साथिहरूको प्रभाव, १०% जति विज्ञापनको प्रभाव र २०% जति आँफूले पढेको संस्था, अभिभावक र विज्ञहरूको परामर्शको प्रभाव पर्दो रहेछ । आफ्नो रूची अनुसारको विषय र संस्था छान्न नपाएका विद्यार्थीहरूमा पढाइमा उत्प्रेरणा कमि हुन थालेको अर्थात विचलनको खतरा देखिंदो रहेछ । यहाँ सम्मको मेरो निष्कर्ष के हो भने एसएलसी पछिको विषय र शैक्षिक संस्था छनौटमा आँफूले पढेको विद्यालय, अभिभावक र विज्ञ परामर्श दाताहरूसँग छलफल गरी विद्यार्थी स्वयंले निर्णय गर्न सक्ने तथा सहि र गलत निर्णयको जवाफदेही स्वयं विद्यार्थीलाई नै बनाउने गरी परिपक्वताको अवसर प्रदान गर्नु पर्छ ।
धेरैजसो अध्ययन अनुसन्धानकर्ता एवं विज्ञहरूले औंल्याउने गरेको कुरा के हो भने हाम्रा विद्यालयरूमा पढाइ त भएको छ तर सिकाइ भएको छैन । शिक्षण प्रक्रिया जीवनको तयारी भन्दा जाँचको तयारीमा केन्द्रित छ । विद्यार्थी, अभिभावक, व्यवस्थापक, सरकार सबैलाई प्राप्ताङ्कमा उपलब्धि चाहिएको छ । त्यसैले परीक्षा मुखी, प्रश्नमुखी र रटायन केन्द्रित पढाइछ, परीक्षा पछि थोरै कुराको सिकाइ मात्रै स्थानान्तरण हुने गर्दछ । अनुमान गरीरहेको प्रश्न जाँचमा आएन भने अनुत्तीर्ण हुन्छन् । १० वर्षको जगमा सिकाइ राम्रो हुने र परीक्षा र मूल्याङ्कन नियमित सिकाइमा आधारित हुने हो भने एसएलसी परीणाम यस्तो हुन्छ त ?
यो तालिकाले देखाए अनुसार १ कक्षामा भर्ना भएका मध्ये १३% मात्रै एसएलसी उत्तीर्ण हुन्छन् । यस्तो १० वर्षे तथ्याङ्कमा २०% भन्दा माथि कहिल्यै पनि नपुगेको देखिन्छ । २०७० र २०७१ मा एसएलसी दिएका विद्यार्थीहरू पनि १ कक्षामा भर्ना हुँदा १३ लाख भन्दा थोरै थिएनन् । यसरी उत्तीर्ण हुनेमा पनि ८०% भन्दा संस्थागत विद्यालयबाट उत्तीर्ण छन् । यसले गर्दा जीवन प्रतिनै उत्प्रेरणको कमी छ ।
राम्रो प्राप्ताङ्कका साथ उत्तीर्ण हुनेहरूमा प्राय डक्टर, इन्जिनियर, सि.ए बन्ने चाहना छ । त्यसैले ११÷१२ मा विज्ञान विषय लिएर राम्रो शैक्षिक संस्थामा पढ्न चाहन्छन् । भर्ना भैसकेपछि अपेक्षा गरेअनुसारको पठन पाठन, साथ सङ्गत नपाउँदा पनि उत्प्रेरणामा कमी आएको पाइएको छ ।
अपेक्षा अनुसारको राम्रो अङ्क ल्याएर उत्तीर्ण हुनेहरूले पनि फेरी अर्कोपटक अफ्ठ्यारोको सामना गर्नुपर्ने बेला आउँछ । धेरैले पढ्ने चाहना गरेको प्राविधिक उच्च शिक्षा यति महङ्गो भैसक्यो कि एम.वि.वि.एस मात्रै पढ्न पनि झण्डै ६० लाख शुल्क बुझाउनु पर्ने, इञ्जिनियरीङमा पनि १० लाख भन्दा बढि शुल्क तिर्ने कुरा सामन्यनै भैसकेको छ । छात्रवृत्तिको लागि प्रयत्न गर्दा पनि आरक्षण प्रणालीले गर्दा जेहेन्दार विद्यार्थीको अवसर कम हुने गर्दछ । दलित, जनजाति, दुर्गम, मधेशी, महिला, अपाङ्ग इत्यादी जस्ता आरक्षणले गर्दा खुला प्रतिस्पर्धाकोे सिट कम हुने र जेहेन्दार विद्यार्थीको उत्प्रोरणामा प्रभाव पारेकोे पाइयो । कूल छात्रवृत्तिमध्ये ४५% आरक्षणमा संस्थागत विद्यालयमा पढेकोले प्रतिस्पर्धा गर्न नपाउने अर्को प्रावधानले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी, तिनका अभिभावक र सञ्चालकलाई समेत अपमान गरेको अनूभूति दियो, उत्प्रेरणामा कमि ल्यायो ।
अबको बाटो के हो त ?
पहिलो बाटो हो एसएलसी पछिको फुर्सद व्यवस्थापन । मुलुक भित्रका हेर्न लायक ठाउँहरू हेर्ने, टाढा रहेका (मुलुक भित्र) आफन्तहरू भेट्ने, परिवार सँग घुम्ने, ड्राइभिङ, कुकिङ लगायतका जीवन उपयोगी सीप सिक्ने यो राम्रो अवसर हो । राम्रो पुस्तकहरू छानेर पढ्ने, लेख्ने, सामाजिक काममा पनि सक्रियता बढाउने, एसएलसी पछिको उपयोगि काम हुन सक्छन् । यदि विज्ञान, गणित जस्ता विषयमा आँफैले पढ्नमा कठिनाइ छ भने ब्रिजकोर्स पनि गर्न सकिन्छ तर यो सबैलाई आवश्यक हुँदैन । आँफूले पढ्ने संस्थाको खोजि गर्ने, त्यहाँ पढेका साथिहरूसँग भेट्ने र जानकारी लिने । अल्छि बन्ने, पढ्ने, लेख्ने बानीमा कमि आउन सक्ने खतराबाट बचाउन अभिभावकले पनि ठूलो भूमिका रहन्छ ।
एसएलसी पछिको दोस्रो चरणको काम हो विषय र शैक्षिक संस्था (स्कूल) रोजेर भर्ना हुने यसो गर्दा ध्यान दिनु पर्ने केही कुरा छन् । विषय रोज्ने क्रममा यसरी प्राथमिकता निर्धारण गर्न सकिन्छ ः–
एसएलसी सम्म विज्ञान गणितको जग राम्रो छ र भर्ना पाउन सकियो भने ११ कक्षामा विज्ञान पढ्ने निर्णय यस अर्थमा ठिक हुन्छ कि विज्ञानमा १२ कक्षा पढेर अरू कुनै पनि विभाग र विषयमा जानेबाटो खुल्ला हुन्छ । तर विज्ञान गणित पढेको कारण अनुतिर्ण हुने, समय श्रम र आर्थिक लगानी खेर जाने जोखिम छ भने दोस्रो विकल्पमा जान सकिन्छ । व्यवस्थापन, मानविकी, शिक्षा आदि ऐच्छिक विषय लिएर ११ कक्षामा भर्ना हुन सकिन्छ । त्यसमा आफ्नो रूची र क्षमता पहिचान गर्न आवश्यक छ । प्राविधिक विषय तर्फ जाने हो भने ओभरसियर, नर्स (छात्राको लागि), एच.ए, ल्याव, असिस्टेण्ट, कृषि तथा पशु विज्ञान, सर्भे लगायतका विषयमा पनि एसएलसी पछि तीन वर्षे कोर्ष हुन्छ  । जस्तै एसएलसी पछि पिसिएल नर्सिङ, वि एन, एम एन, पि एच डि इन नर्सिङ हुन सक्छ भने १२ कक्षा विज्ञान पछि विएस्सी नर्सिङ, एम एस÷ एम एन, पि एच डि इन नर्सिङ हुन्छ । समय र पूँजी को हिसाबले थोरै लामो छोटो तथा कम र बढी खर्चिलो भने हुन सक्छ । अरू विषयमा पनि यस्तै ढंगबाट दुई हागा जान सक्छ । त्यस्तै गरि ११÷१२ व्यवस्थापन लगाएतका विषयहरूमा थुप्रै छनौटका अवसर हन्छन्, यसको लागि विज्ञहरूको परामर्श तथा सिनियरहरू मार्फत जानकारी लिन आवश्यक हुन्छ । सबै माध्यमबाट सूचना र परामर्श प्राप्त गरिसकेपछि निर्णय विद्यार्थी स्वयंले गर्नु पर्छ र अभिभावकले परिपक्व निर्णय गर्नमा सहजिकरण गरिदिनु पर्छ ।
११÷१२ कक्षा पढ्नको लागि उच्च माध्यमिक शिक्षा परिषदबाट स्वीकृति प्राप्त उच्च मा.वि.हरू सामुदायिक विद्यालय, संस्थागत विद्यालय र विश्वविद्यालय को पाठ्यक्रम पढाउन स्वीकृति लिएर चल्दै आएका केही सामुदायिक कलेजहरू मध्येबाट छनौट गर्नुपर्ने हुन्छ । प्राविधिक विषयतर्फ सिटिईभिटी अन्तर्गत वा सो संग स्वीकृति लिएर चलेका शैक्षिक संस्थाहरू छन् । यस्ता संस्थाहरू छनौट गर्दा विज्ञापनहरूको आधारमा जानकारी लिन सकिन्छ तर विज्ञापनकै भरमा निर्णयमा पुग्नु उचित हुँदैन । संभावित शैक्षिकसंस्थामा पढेका, पढाएका वा नजिकबाट चिन्ने विज्ञहरू, अभिभावकहरू सँग जानकारी लिन आवश्यक हुन्छ । भौतिक वातावरण राम्रो, शिक्षकहरू दक्ष र अनुभवि भएर पनि कक्षामा केही विद्यार्थीहरू मात्रै अनुशासन हीन भएपनि शैक्षिक क्रियाकलाप प्रभावकारी हुन सक्दैन । आँफूले एसएलसी सम्म पढेकै विद्यालयमा आफ्नो रूचिअनुसारको विषय राम्रोसँग पढाइ भैरहेको अवस्था छ भने सोही संस्थामा ११ कक्षा पढ्नु राम्रो हुन सक्छ । शिक्षकहरूको सुपरिचित अभिभावकत्व विद्यार्थीहरूको लागि अनुकूल हुने संभावना पनि हुन्छ । सके सम्म ११÷१२ कक्षा वा सो सरहको शिक्षाको लागि घर छाडेर डेरा गरी बस्न जानुपर्ने तथा आउन जान धरै समय लाग्ने स्थिति सिकाइमैत्री÷विद्यार्थी मैत्री हुन सक्दैन ।
निस्कर्षः
पहिलो निस्कर्ष हो विज्ञान र प्रविधिको विकाससँगै बालबालिका, किशोर किशोरीहरूमा मनोविज्ञानले अहिलेसम्म बताएको विकासक्रम भन्दा तिब्र परिवर्तन आउने गरेको छ । पुस्तान्तर बढ्दो छ, परिवारिक, सामाजिक सन्तुलनमा जटिलता आउदो छ, अभिभावकले कुशलतापूर्वक अभिभावकत्व पूरा गर्नपर्ने छ । दोस्रो निचोड हो अभिभावकका सपना, विद्यार्थीका चाहना र वस्तुगत परिस्थितिको बारेमा छलफल र आवश्यक परामर्शपछि विद्यालय छनौट, विषय छनौटका सवालमा विद्यार्थी स्वयंलाई निर्णय गर्न सक्ने तहमा पुग्न सहजिकरण गर्नुपर्छ । तेस्रो निस्कर्ष हो एसएलसी लगाएतका कुनै पनि परीक्षाको परिणाम अपेक्षित नहुन सक्छ, रामे प्राप्ताङ्क ल्याएर पनि चाहेको ठाउँमा चाहेको विषय पढ्न नपाइने हुन सक्छ , छात्रवृत्तिको अपेक्षामा पनि अनेकौ व्यवधानहरू छन् अर्थात् उत्प्रेरणामा कमी ल्याउने थुप्रै चुनौतिहरू छन् जसले विद्यार्थीहरूलाई विदेशिने चाहना बढाइदिएको छ । फेरी पनि विद्यार्थीलाई यथेष्ट परामर्श उपलब्ध गराउने र विचलन आउनबाट जोगाउने नयाँ चुनौति आजका धेरै अभिभावकसामु देखिएको छ । अन्त्यमा बालबलिकाको जन्मकालका सुनौला हजार दिनमा यथेष्ट हेरचाह र पोषण पाएन भने शारीरिक, बौद्धिक विकास अवरूद्ध हुन्छ । त्यसैगरी किशोर अवस्थामा (१५÷१६ वर्षतिर, एसएलसी पछि) नजिकको सुपरिवेक्षण र परामर्श सेवाकासाथ निर्णयमा उसको स्वतन्त्रताले उसलाई आफ्नो खुट्टामा उभिन सक्ने, आँफैप्रति जवाफदेही हुन मद्दत पुग्छ भन्ने अभिभावकले बुझ्न जरूरी ठान्दछु ।