«

»

पत्रकार महासंघलाई आर्थिक सहयोग

11064229_930115983687356_1744507804_o
भरतपुर, २८ फागुन
गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारका सल्लाहकार आरके शर्माले नेपाल पत्रकार महासंघ, चितवनमा पुस्तकालय स्थापनाका लागि साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् मिडिया टास्क फोर्स सदस्य रवि रोषीको पहल र पत्रकार महासंघ कतार शाखाको समन्वयमा शर्माले सो रकम बिहीबार एक कार्यक्रमका बीच चितवन शाखालाई हस्तान्तरण गरे ।
नेपाल पत्रकार महासंघ, चितवनको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सल्लाहकार शर्माले महासंघका अध्यक्ष हरिप्रसाद पोखरेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । पत्रकार महासंघलाई शर्माको यो व्यक्तिगत सहयोग हो ।
कतारमा व्यवसाय गरिरहेका शर्माले आफ्नो आम्दानीको केही रकमबाट नेपालमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । विगत ८ बर्षदेखि कतारमा निर्माण व्यवसाय सञ्चालन गरिरहेका शर्माले अमेरिकामा अर्गानिक खेती पनि गरेका छन् । नेपालमा बेष्ट रेमिटका मुख्य लगानीकर्ता शर्माको बैङ्किङ क्षेत्रमा पनि लगानी रहेको छ । उनको घर चितवनको मंगलपुरमा छ ।
विशेष गरी शैक्षिक क्षेत्रको विकास, बृद्धबृद्धा तथा खेलकुदको क्षेत्रमा सहयोग गर्दै आएका उनले समाजको यथार्थतालाई सबैमाझ ल्याउने पत्रकारहरुको छाता संस्थालाई सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताए । शर्माले महासंघ चितवन शाखाको निर्माणाधिन भवन अवलोकन समेत गरेका थिए । महासंघको भवन निर्माण कार्यलाई पूर्णता दिन आवश्यक सहयोग गर्न समेत आफू तयार रहेको उनले बताए । पत्रकारहरुको क्षमता वृद्धिका लागि गरिएको सहयोगको सदुपयोग गर्न उनले उक्त कार्यक्रममा पत्रकारहरुलाई आग्रह गरेका थिए ।
विदेशबाट भित्रिने ६० देखि ७० प्रतिशत रेमिट्यान्सको अनुत्पादनशील क्षेत्र तथा विलासिताको लागि लगानी हुदैं गर्दा भविष्यको सुनिश्चितता हराउँदै गएकोप्रति शर्माले चिन्ता व्यक्त गरे । वैदेशिक रोजगारमा गएकाहरुको परिवारलाई वचत गर्ने बानी विकास र उत्पादशील क्षेत्रमा लगानीका लागि सचेतना फैलाउने काम पत्रकार तथा सञ्चारमाध्यमहरुले गर्न जरुरी रहेको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्ण गिरीले पत्रकारहरुको क्षमता वृद्धिका लागि यो सहयोगले उल्लेखनीय काम गर्ने बताए । सहयोगबापत प्राप्त रकम सम्झौता बमोजिम नै पत्रकार महासंघको संस्थागत विकास र सञ्चारकर्मीहरुको क्षमता वृद्धिमा खर्च गर्नुपर्ने सल्लाहकार गिरीको भनाई थियो ।
सहयोग हस्तान्तरण कार्यक्रम महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले सभापतित्वमा सम्पन्न भएको थियो । महासंघको लागि भएको यो सहयोग अमुल्य रहेको भन्दै यसको सदुपयोगप्रति विश्वस्त रहन पनि उनले कार्यक्रममा प्रतिबद्धता जनाए । कार्यक्रममा महासंघका उपाध्यक्ष दिपेन्द्र बडुवालले स्वागत मन्तव्य व्यक्त गर्दै महासंघको गतिविधिमाथि प्रकाश पारेका थिए ।