«

»

सहयोग खोज्दै ह्विलचियर यात्री

??????????सविता श्रेष्ठ
चितवन । ओखलढुङ्गा प्राप्चा ४ का तेजबहादुर कार्की (५०) बेडसोरको उपचार गर्न सहयोगको खोजीमा छन् । चितवनको भरतपुर अस्पतालमा उपचार गर्न आएका उनलाई अस्पतालले काठमाण्डौं जान रिफर गरेको छ । काठमाण्डौंसम्म पुग्ने खर्च नभएर उनी अस्पतालमै बस्न बाध्य भएका छन् ।
२० बर्ष बस गुडाएका कार्कीले २०५७ कार्तिकमा भएको बस दुर्घटनामा परेर दुवै खुट्टा गुमाएका थिए । मकालु बसका चलाउँदा बसको टाईरड भाँच्चिएर उनी धादिङको जोगिमारा ९ ज्यामिरेघाटमा उनी दुर्घटनामा परेका थिए । दुर्घटना भएको तीन महिनापछि उनको खुट्टा काट्टिएको थियो । दुर्घटनापछि उपचार खर्च र १० वर्षसम्म मासिक ८ हजार बस सञ्चालकले सहयोग गरेको कार्की बताउँछन् ।
शारीरिक अशक्त भएपनि देशको नाम फैलाउँछु भनेर १० वर्ष अघि उनले विश्व ह्विलचियर यात्रा सुरु गरेका हुन् । यात्राको क्रममा नेपालको ७५ जिल्ला, बर्मा र सार्क देशको भ्रमण गरेको कार्की बताउँछन् ।
बङगलादेशको यात्रा सकेर भीसा आवेदनको प्रक्रियाका लागि उनी दिल्ली गएको समयमा शरीरमा घाउ भएको कार्कीले बताए । ‘घाउ भएको ४ महिना भयो । दिल्लीमा उपचार गर्न क्वीमा बस्नुपर्ने भएपछि यतै आएँ ।’ शरीरमा घाउ भएपछि उनको विश्वयात्राका ४ सहयोगीहरुले भैरहवा ल्याएर छोडिदिएको कार्कीले बताए ।
भैरहवामा भेटिएका सुनसरी धरानका जेम्स कार्कीले असार २८ गते भरतपुर अस्पतालमा कार्कीको भर्ना गराएका हुन् । ‘प्लाष्टिक सर्जरी गरेर घाउ निको बनाउनुपर्छ’ आफ्नो उपचारको बारेमा बताउँदै कार्की भन्छन्–‘यहाँ (भरतपुर अस्पतालमा) मेशीन नहुँदा रेफर गरेको छ ।’
दुर्घटनामा परेपछि परिवारले वास्ता गर्न छाडेको कार्की बताउँछन् । अस्पतालमा भर्ना भएपछि सहयोगको लागि सरकारी कार्यालय र संघसंस्थामा सम्पर्क गरेपनि सहयोग नपाएको कार्की बताउँदै कार्की भन्छन् – ‘सबैले कागजमात्र बनाएर पठाईदिएका छन् । कागज दिएर उपचार त हुँदैन ।’ उपचार खर्च जुटाएर उपचार गर्न पाए निको भएपछि विश्व ह्विलचियर यात्रालाई अगाडी बढाउने उनको चाहना छ ।