«

»

सम्पादकीय : गणतन्त्रको संस्थागत विकास

penनेपालमा गएको वैशाख १२ गते गएको भूकम्पका कारण औपचारिक रुपमा मनाउनुपर्ने आजको आठौँैँ गणतन्त्र दिवस पनि ओझेलमा परेको छ । यद्दपि गणतन्त्रप्राप्तिपछिको अवधिमा देशले अपेक्षा गरे अनुरुप प्रगति हासिल गर्न नसक्दा गणतन्त्रको संस्थागत विकास पनि हुन सकेको छैन । नेपालमा गएको वैशाख ०६४ चैतमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनबाट गठित संविधानसभाको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय चालिस वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपालमा गणतन्त्र घोषणा गरेको थियो । नेपालमा गणतन्त्रको घोषणापछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले श्रीपेच खोलेर राजदरवार छोडेका थिए । विश्वको इतिहासमा राजतन्त्रले बिना रक्तपात सत्ता छोडेर हिँडेको बिरलै पाइन्छ । यो पनि त्यस्तै एउटा घटना थियो ।
जनताको शान्तिपूर्ण आवाजको अगाडि शासकहरु कसरी झुक्न बाध्य हुनुपर्ने रहेछ भन्ने एउटा उदाहरण पनि थियो तत्कालीन राजा ज्ञानेन्द्रले मध्यरातमा दरवार छोड्नुपरेको घटना । हुन त ज्ञानेन्द्र शाहले ०६२÷०६३ सालको जनआन्दोलन दवाएर आफ्नो निरङ्कुश शासनसत्ताा टिकाउने कोशिस नगरेका पनि होइनन् । त्यसका लागि दमनको बाटो अपनाउँदा नेपालबाट राजतन्त्रले बिदाईको बाटो रोज्नुप¥यो । जनताको परिवर्तनप्रतिको चाहना र बलिदानीपूर्ण संघर्षको बलमा नै नेपालमा गणतन्त्र स्थापना हुन सकेको हो । बीर सहीदहरुको उचित सम्मानबिना गणतन्त्र दिवस मनाउनुको कुनै सार्थकता रहँदैन ।
निरङ्कुश राजतन्त्रको कालो बादललाई चिर्दै र दशक लामो निस्सासिँदो सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा अवतरण गराएर गणतन्त्रको सूर्योदय भएको पनि सात वर्ष पूरा भइसकेको छ । नेपालमा गणतन्त्रको घोषणासँगै हरेक वर्ष गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउने गरिएको छ । गणतन्त्र दिवसको दिनमा सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि घाइते तथा आपाङ्ग जीवन बिताइरहेका नागरिकको उचित व्यवस्थापननका लागि राज्यले जिम्मेवारी लिनैपर्छ । हामीले आठौैँ गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रलाई संस्थागत गर्नुपर्ने विषय पनि हाम्रा सामु चुनौतीको रुपमा रहेको छ ।
गणतन्त्र दिवस मनाउने सन्दर्भमा आयोजना गरिने केही औपचारिक कार्यक्रमले जनतालाई आकर्षित गर्न सकेको पाईंदैन । यसो हुनुको मुख्य कारण गणतन्त्र संस्थागत हुन नसक्नु नै हो । गणतन्त्रको संस्थागत विकास नहुँदा गणतन्त्र प्राप्तिको यो अवधिमा यो उपलब्धिलाई तुहाउन खोज्नेहरु पनि अनेक ढङ्गले परिचालन भएको छर्लङ्ग छ । कोही त अझै पनि इतिहासमा सीमित भएको निरङ्कुश राजतन्त्रको वकालत गरेर सस्तो मनोरञ्जन दिने दुस्साहस गर्दैछन् । यसो गर्नु भनेको गणतन्त्रका लागि बलिदानी दिएका, रगत पसिना बगाएका नेपाली जनताको अपमान शिवाय अरु केही हुनै सक्दैन । समृद्धि र सुशासन बिनाको कुनैपनि व्यवस्था दिगो हुन सक्दैन । यसलाई राजनीतिक दलहरुले मनन गर्नु जरुरी छ । अहिले भूकम्पले देश तहसनहस भएका बेला गणतन्त्र दिवसका अवसरमा सरकारले भौतिक संरचनाको पूनर्निमाण र भूकम्प पीडितहरुका लागि दीर्घकालीन राहतको प्याकेज ल्याउनु जरुरी देखिन्छ ।