«

»

विप्लव माओवादीद्वारा १० बिघा जग्गा कब्जा

 

‘विप्लव’ माओवादीले भरतपुर १२ कैलाशनगरमा जग्गा कव्जा गरी भूकम्प पीडितलाई बाँड्न बनाउँदै गरेका टहरा

‘विप्लव’ माओवादीले भरतपुर १२ कैलाशनगरमा जग्गा कव्जा गरी भूकम्प पीडितलाई बाँड्न बनाउँदै गरेका टहरा

‘भूकम्प पीडित’लाई टहरा बनाउँदै बाँड्दै

तिलकराम रिमाल

तीर्थ नेपाल
भरतपुर, १४ जेठ
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा १० बिघा निजी जग्गा कब्जा गरी ‘भूकम्प पीडित’लाई टहरा बनाएर बाँडेको छ ।
माओवादीले अजय बिक्रम शाह र बिजय बिक्रम शाहको नाममा रहेको ९ बिघा १७ कठ्ठा जग्गामा टहरा बनाएर भूकम्प पीडितलाई बाँडेको हो । उक्त जग्गा २०६९ साल देखि नै आफुहरुको नियन्त्रणमा रहेकोले भूकम्प अति प्रभावित जिल्लाका पीडितलाई बसोबासका लागि वितरण गरिएको विप्लव नेतृत्वको नेकपा माओवादी चितवनका सेक्रेटरी विश्वनाथ थारु ‘महेश’ले बताए ।
“हामीले यो जग्गा पहिल्यैदेखि नियन्त्रणमा लिएका हौं, किसानहरुले भोग चलन गर्दै आएका थिए । अहिले भूकम्प पीडितलाई टहरा बनाएर वितरण गरिरहेका छौँ” थारुले भने ।
घर र जग्गा पाईन्छ भनेर कैलाशनगरमा गोरखा, मकवानपुर, धादिङ, तनहुँ, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट भूकम्प पीडितहरु आएका छन् । माओवादीले अहिलेसम्म पाँच सय ५० परिवारले नाम टिपाएको जनाएको छ । झण्डै एक हजारको सङ्ख्यामा भूकम्प पीडितहरु आईपुगेका छन् । ती मध्ये अधिकांश गोरखा जिल्लाका छन् ।
बिहीबार अपरान्हसम्म झण्डै एक सय वटा टहरा निर्माण गरिएको छ । बाँसका खाँवा, जस्तापाताको बार र छाना हालेर टहरा बनाईएको छ । टहरा बनाउन विप्लव माओवादीका जिल्लास्थित नेता कार्यकर्ता र भूकम्प पीडितहरु खटिएका छन् ।

नेकपा माओवादी चितवनका सेक्रेटरी विश्वनाथ थारु महेश टहरा बनाउन नापजाच गर्दै

नेकपा माओवादी चितवनका सेक्रेटरी विश्वनाथ थारु महेश टहरा बनाउन नापजाच गर्दै

विभिन्न सामुदायिक वनवाट बाँस, व्यक्ति तथा संघसंस्थाबाट सहयोग मागेर टहरा बनाउने सामग्री जुटाइएको नेकपा माओवादी चितवनका सचिवालय सदस्य नारायण न्यौपानेले बताए । न्यौपानेका अनुसार चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले दुई लाख रुपैयाँ बराबरको ४० बण्डल जस्तापाता सहयोग गरेका छन् ।
चितवनमा निशुल्क घर जग्गा बाँडिएको सुनेर आफुहरु आएको बिभिन्न जिल्लाबाट आएका भूकम्प पीडितहरुले बताएका छन् । गोरखा आँपपीपल गाउँ विकास समिति–२ बाट आएका टेकबहादुर सुनारले आफुहरुको बस्ने, खाने केही आधार नभएपछि चितवन आउनु परेको बताए । “भूकम्पले घर भत्कायो, माटो सबै चिराचिरा परेको छ, यहाँ बसोबासका लागि घरजग्गा बाँडेको सुनेर आईयो”– सुनारले भने । आँपपीपलकै कुलबहादुर सुनारले गोरखामा बाँच्नै नसकिने अवस्था भएकोले आश्रयको लागि आएको बताए ।
जग्गा ब्यक्तिकै भएपनि पीडितहरुलाई बस्न योग्य देखेर राखिएको र अब उनीहरुको थप व्यवस्थापन राज्यले गर्नुपर्ने माओवादी जिल्ला सेक्रेटरी थारुको भनाई छ ।
चितवन प्रशासनले व्यक्तिको जग्गा कब्जा गरेर बस्न नमिल्ने भन्दै टहरा नबनाउन भनेको छ । टहरा बनाउने काम रोक्न बिहीबार अपरान्ह पुगेका प्रहरी रमिते बनेर बसेका थिए । प्रहरी चौकी सितारामचोकबाट प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर श्रेष्ठको कमाण्डमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
टहरा बनाउँदै गरेका भूकम्प पीडितहरुलाई प्रहरी टोलीले काम रोक्न भनेपछि भनाभन समेत भएको थियो । ‘हामी खान, बस्न केही बाँकी नरहेर रुँदै आएका छौँ, हामीलाई लखेट्न तपाईंहरुलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन’ एक युवाले प्रहरीसँग आक्रोश पोख्दै थिए ।

टहरा बनाउने काम रोक्न बिहीबार अपरान्ह पुगेको प्रहरी छलफल गर्दै

टहरा बनाउने काम रोक्न बिहीबार अपरान्ह पुगेको प्रहरी छलफल गर्दै

माओवादीले टहरा निर्माणको काम रोक्न नसक्ने जनाएपछि प्रहरी टोली बल प्रयोग गर्ने आदेश नरहेको बताउँदै मुकदर्शक बनेको थियो ।
यसैबीच, चितवनका प्रमुख जिल्ला अधिकारी मान बहादुर बिकेले कुनै पनि जग्गा अनधिकृत रुपले कब्जामा लिएर प्रयोग गर्न नपाईने भन्दै कारवाही गर्ने प्रतिक्रिया दिएका छन् । भूकम्प पीडित हुन् वा होईनन् त्यसको समेत पहिचान गरि सम्बन्धित जिल्लासँग बुझेर कारवाही थालिने उनले बताए । ‘यदि पीडित नै रहेछन् भने हामी उनीहरुलाई सम्बन्धित जिल्लामा समस्या राख्न भन्नेछौँ र त्यहाँबाट उठाउने छौँ’ प्रजिअ बिकेले भने ।
जग्गा धनी अजय बिक्रम शाहले जग्गा फिर्ता गराईं पाउँ भनि जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी गरेका छन् ।