«

»

नगर क्षेत्रमा भूकम्पको अप्रत्यक्ष क्षति बढी

crackतिलकराम रिमाल
चितवन, २० जेठ ः
भूकम्पको प्रत्यक्ष क्षति नदेखिए पनि भरतपुर उपमहानगरपालिका क्षेत्रभित्र ठूलै क्षति भएको देखिएको छ ।  हालसम्म ३७ वटा घर बस्न नमिल्ने गरी क्षति भएका छन् भने एक सय ५१ वटा घर आंशिक क्षति र दुई हजार सात सय ४८ घर चर्किएका छन् ।
उपमहानगरपालिकाका इञ्जिनिर सूर्य लामाका अनुसार महाभूकम्पले ठूलो क्षति नगरेको भएपनि त्यसपछिका पराकम्पनका कारण घरहरुमा क्षति बढ्दै गएको बताए । शुरुमा केही नभएका घर पछि चर्किंदै गएपछि नगरपालिकामा निवेदन दिन आउनेको संख्या बढेको उनले जानकारी दिए । शुरुमा सामान्य चर्केका घरहरु पनि पछिल्ला पराकम्पनले चर्काईलाई ठूलो बनाउँदै लगेपछि क्षति बढेर गएको लामाले जानकारी दिए ।
उपमहानगरपालिकाले १० दिन यता इञ्जिनियर एसोसिएसनको सहयोगमा ४० जना इञ्जिनियरलाई स्वयंसेविका रुपमा घर निरीक्षणमा खटाएको छ । चर्किएका घरको संख्या बढ्दै गएको ईञ्जिनियर लामाले बताए ।
उपमहानगरपालिकाको वडा नं. ११ र १२ मा बढी घरमा क्षति पुगेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले बताए । घर बस्न नहुने भएपनि विकल्पको अभावमा कतिपय त्यही घरमा बसेको, कतिपय आफन्त र अरु केही बाहिर पाल टाँगेर बसिरहेका इञ्जिनियर लामाले बताए । कडिपाटन गरिएका, पुराना, माटोको जोडाई भएका, पिल्लर नभएका र ब्लकले बारेका घरहरुमा बढी क्षति उनले बताए ।
पछिल्लो समय उपमहानगरपालिकामा घर निरीक्षण गराउन निवेदन दिनको संख्या बढ्दै गएको छ  भने कतिपयले सरकारी निकायबाट कुनै सहयोग नपाउने भन्दै क्षतिको विवरण उपमहानगरपालिकामा पेश नगरेको पाईएको छ ।
नगरस्तरीय विपत् व्यवस्थापन समितिले क्षतिको विवरण जिल्ला दैविक प्रकोप व्यवस्थापन समितिमा बुझाएको कार्यकारी अधिकृत सापकोटाले बताए ।  शुरुका दिनमा नगर क्षेत्रमा कुनै क्षति नदेखिएपछि जिल्लास्थित सरकारी, गैरसरकारी, राजनीतिक दल र सभासद्हरु कसैले पनि उपमहानगरपालिकाभित्रको क्षतिको बारेमा ध्यान नपु¥याएको नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।
कार्यकारी अधिकृत सापकोटाले सबै निकायबाट सहयोगको खाँचो नगरभित्र नै देखिएको भन्दै घरवारविहिन भएका र क्षति पुगेकाहरुलाई रातहतका लागि सम्बन्धित निकायमा पत्राचार गरेको पनि बताए ।
घर क्षति भएकाहरुले आफूहरुले कसैबाट पनि सहयोग तथा राहत नपाएको गुनासो गरेका छन् । सबैको ध्यान बढी क्षति भएका पहाडी गाविसमा पुगेपछि नगर क्षेत्र ओझेलमा परेको छ ।