«

»

अन्तर विद्यालय टी–ट्वान्टी हुने

सञ्चारपत्र सम्वाददाता
भरतपुर, २१ जेठ
गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले मानसिकरुपमा पारेको असर कम गर्न विभिन्न प्रयास भइरहेका छन् ।
विशेषगरी स्कुले विद्यार्थीहरुमा परेको मानसिक प्रभाव हटाउन शिक्षा सम्बद्ध निकायहरुले पनि विद्यालयमा मनोसामाजिक परामर्शमा आधारित गतिविधि बढि गर्न सुझव दिएका छन् । भूकम्पको त्रास कम गर्ने उद्देश्यले भरतपुर क्रिकेट क्लबले विद्यालयस्तरका विद्यार्थीहरुलाई ट्वान्टी–ट्वान्टी क्रिकेटमा सहभागी गराउने भएको छ । क्लबले यही जेठ २५ गतेबाट भरतपुरमा जिल्लास्तरीय इन्टर स्कूल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष गुञ्जन उपाध्यायले जानकारी दिए ।
सहभागिताका लागि निजी तथा सामुदायिक दुवैखाले विद्यालयलाई आह्वान गरिएको उनले बताए । “विद्यार्थीमा मानसिकरुपमा असर परेको छ”, उनले भने, “त्यसलाई हटाउन टी–ट्वान्टी क्रिकेटले सहयोग गर्ने ठानेका छौँ ।” प्रतियोगितामा अधिकतम १६ वटा टिम सहभागी गराउन सकिने प्रतियोगिता संयोजक ध्रुव भुषालले जानकारी दिए । हरेक विद्यालयले आफ्नै विद्यालयमा कक्षा १० सम्म अध्ययनरत १४ जना खेलाडीसहित २ हजार रुपैया“ शुल्क तिरेर प्रतियोगितामा सहभागिता जनाउन सक्ने भुषालले जानकारी गराए ।
नकआउटका आधारमा खेलाइने क्रिकेट भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा हुने बताइएको छ । क्लबका सल्लाहकार अनिल अधिकारीले विश्वभर लोकप्रिय टी–ट्वान्टी फम्र्याटको क्रिकेट नै अहिलेको अवस्थामा विद्यार्थीलाई मनोरञ्जन दिने भरपर्दो माध्यम भएकाले यो प्रतियोगिता गर्न लागेको बताए ।