«

»

भूकम्प प्रभावित दुई बस्ती सारिदै

थप ५५८ घरधुरी स्थानान्तरण गर्न माग
सञ्चारपत्र सम्वाददाता
भरतपुर, २१ जेठ
जिल्ला दैवी प्रकोप उद्धार समिति चितवनले भूकम्पका कारण क्षतिग्रस्त दुई वटा पहाडी गाउँलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ ।
वैशाखमा आएको महाभूकम्पका कारण पहाड नै धाँजा फाटेपछि त्यस वरिपरिको बस्ती सार्ने निर्णय भएको जिल्ला दैवी प्रकोप उद्धार समिति चितवनका सदस्य सचिव एवम् स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताए । चितवनको काउले गाविसको गुजीबाङ र लोथर गाविसको इसीखाई गाउँ भूकम्पको कारण धरापमा रहेको स्थानीय विकास अधिकारी पाण्डेले जानकारी दिए ।
गुजिबाङ गाउँका २३ घरधुरीलाई शक्तिखोर गाविसको जुटपानीमा रहेको माओवादी क्यान्टोनमेन्टमा राखिने तयारी भएको पाण्डेले जानकारी दिए । त्यसैगरी, इसीखाई गाउँका ११ घर परिवारलाई लोथरकै यउरालीटारमा सार्ने तयारी भएको पाण्डेले बताए । उनीहरुलाई अबको एक हप्ता भित्रमा उक्त स्थानमा सारिने पाण्डेले बताए ।
लोथर र काउलेका ती दुई वटा बस्तीको पहाड चिरा परेको र पहाडका कारण गाउँ जोखिममा रहेको प्राविधिक अध्ययन अनुसार उनीहरुलाई स्थानान्तरण गर्न लागिएको पाण्डेले बताए । उक्त बस्तीलाई सार्नको लागि जस्तापाता, डण्डी लगायतका सामग्री जुटाउने तयारी भइरहेको पाण्डेले बताए । एउटा घर निर्माण गर्नको लागि एक लाख रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म खर्च हुने पाण्डेले जानकारी दिए ।
काउले र लोथार गाविसका दुई वटा गाउँलाई स्थानान्तरण गर्ने जिम्मा आरआरएन र सेवा फाउण्डेसनले लिइसकेको पाण्डेले जानकारी दिए । ती दुई वटा संस्थाहरुले चेपाङहरुको लागि विभिन्न कार्यक्रम गर्दै आएका थिए । चितवन भूकम्प प्रभावित जिल्ला भएपनि शङ्कटग्रस्त घोषणा नगरिएका कारण पुनर्निर्माण गर्नको लागि थप चुनौति रहेको पाण्डेले बताए ।
पुनर्निमाणको लागि सरकारबाट सहयोग नआएपनि आफूहरुले विभिन्न संघ संस्थाहरुसँग मिलेर काम गर्ने पाण्डेले बताए । बस्तीको पुनर्निर्माणको लागि धेरै संघसंस्थाहरु तयार भएका कारण वर्षात्को समय अगाडि नै भूकम्प पीडितको लागि अस्थयी टहरा निर्माण गरिसक्ने पाण्डेले बताए ।  
त्यसैगरी, दारेचोकको घुसा, चण्डी भञ्ज्याङको थाम, शक्तिखोरको नानडाँडा लगायतका पाँच वटा गाउँलाई अन्यत्र सार्नुपर्ने माग भएको जिल्ला दैवी प्रकोप उद्धार सहित चितवनका स्रोत व्यक्ति बलराम लुइँटेलले बताए । नेपाल चेपाङ संघ जिल्ला कार्य समिति चितवनले चण्डिभञ्ज्याङको एक सय २६ घर, काउलेको ८० घर, सिद्धिको दुई सय ५० घर लोथरको २२ घर र दारेचोकको ३१ घरलाई सुरक्षित स्थानमा सार्नको लागि ज्ञापनपत्र बुझाएका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताए । ती बस्तीलाई कसरी सुरक्षित गराउने भन्ने बारेमा छलफल सुरु भएको पाण्डेले बताए ।
यसैबीच, वैशाख १२ गते आएको महाभूकम्प र त्यसपछिको पराकम्पनका कारणले चितवन पु¥याएको क्षतिको पूर्ण विवरण बिहीबारसम्म प्राप्त भइसकेको छैन । बिहीबारसम्म प्राप्त भएको तथ्याङ्क अनुसार चितवनका दुई हजार ६४ घर पूर्ण रुपमा क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समिति चितवनका स्रोत व्यक्ति बलराम लुईँटेलले बताए । त्यसैगरी, चितवनमा पाँच हजार नौ सय १५ घरमा आंशिक क्षति पुगेको र नौ हजार एक सय ६५ घरमा सामान्य क्षति पुगेको लुईँटेलले जानकारी दिए ।