«

»

मन्त्रालय चितवनमा ल्याउन माग

सञ्चारपत्र सम्वाददाता
भरतपुर, २१ जेठ
वैशाखमा आएको विनाशकारी भूकम्पका कारण राजधानी काठमाडौँ उपत्यकामा ठूलो प्रभाव परेकोले त्यहाँ रहेका विभिन्न मन्त्रालय र विभाग चितवनमा ल्याउन यहाँका राजनीतिक दलहरुले माग गरेका छन् ।
बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर बिके मार्फत प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउँदै चितवनका राजनीतिक दलका प्रतिनिधिहरुले राजधानीबाट चितवन नजिकै र देशको मध्य भागमा रहेको कारण मन्त्रालयहरु यहाँ ल्याउन माग गरेका हुन् । भूकम्पका कारण मुलुकको मुख्य प्रशानिक संयन्त्र रहेको राजधानीमा भएको धनजनको क्षतिले अब राजधानीको विकल्प बारेमा सोच्ने बेला आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा चितवनका सम्पूर्ण राजनीतिक दलहरुले विगतमा राज्यको पुनर्संरचना निर्माणको आवाज उठाई आन्दोलन समेत गर्दै आएको स्मरण गराइएको छ । भौतिक पूर्वाधार, यातायातको सहज पहुँच, देशकै मध्यभागमा रहेको, राजधानी काठमाडौँदेखि निकट दूरीमा रहेको र भौगोलिक रुपमा अधिकांश भूभाग समथर रहेका कारण चितवनलाई वैकल्पिक राजधानीको रुपमा अगाडि बढाउन सकिने भएका कारण पनि मन्त्रालयहरु यहाँ सारिनु पर्ने नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले बताए ।
चितवनलाई भविष्यमा वैकल्पिक राजधानीको रुपमा विकास गर्न सकिने हुँदा भूकम्प पछिका दिनहरुमा चितवनमा तत्काल स्थानीय विकास, कृषि विकास, यातायात तथा भौतिक निर्माण, आपुर्ति, गरिबी निवारण तथा सहकारी, वन लगायतका मन्त्रालय र सोसँग सम्बन्धित विभागहरु चितवनमा सर्नको लागि स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले माग गरेका छन् ।
चितवनमा मन्त्रालय र विभाग सार्नुपर्नेमा चितवनका सम्पूर्ण राजनीतिक दलहरुको संयुक्त बैठक बसी चितवनलाई वैकल्पिक राजधानीको रुपमा विकास गर्न विभिन्न मन्त्रालय र विभागहरु तत्काल चितवनमा सार्न माग गर्ने निर्णय भए अनुसार ज्ञापनपत्र बुझाइएको थपलियाले बताए । दलहरुको मागका विषयमा प्रधानमन्त्री कोइरालाबाट उपयुक्त निर्णय हुनेछ विश्वास राजनीतिक दलका प्रतिनिधिहरुले व्यक्त गरेका छन् ।
विपदको यस घडीमा विनाशकारी भूकम्पबाट प्रभाव र पीडामा परेका जनताहरुलाई राहत एवम् पुनस्र्थापनामा सहयोग पु¥याउन चितवनका राजनीतिक दल र उद्योगी व्यवसायी, पेशाकर्मी नागरिक समाज र रेडक्रस लगायतका संघ संस्थाहरु मिलि सर्वदलीय, सर्वपक्षीय समिति गठन गरी पहल भैरहेको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, नेपाली काँग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठ, एनेकपा माओवादी चितवनका अध्यक्ष यमबहादुर परियार, राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिना, राप्रपा चितवनका अध्यक्ष रामहरि कँडेल, नेकपा माले चितवनका सचिव परशुराम लामिछाने, राष्ट्रिय जनमोर्चाका मोहनमणी ढकाल, जनमोर्चा नेपालका साध्यबहादुर भण्डारी र नेकपा–माओवादीका घननाथ सापकोटाले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।