«

»

बालबालिकालाई मनोविमर्श सेवा

सञ्चारपत्र सम्वाददाता
भरतपुर, २१ जेठ
चितवनको शक्तिखोरस्थित चतुर्मुखी उच्च माविमा अध्ययन गर्दै आएका तथा सोही क्षेत्रको बाल विकास खुत्रुके कार्यक्रममा सहभागी गरी ७७ बालबालिकालाई बिहीबार मनोसामाजिक विमर्श सेवा प्रदान गरिएको छ । सो अवसरमा उनीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरियो ।
युवा समाज नेपालद्वारा सञ्चालित बाल सहभागिताको सिद्धान्तमा आधारित कार्यक्रम अन्तरगत उनीहरुलाई मनोविमर्श सेवा तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
शक्तिखोरको चतुर्मुखी उच्च माविका भूकम्प पीडित ५० बालबालिका तथा बाल विकास खुत्रुके कार्यक्रम शक्तिखोरका २७ बालिकालाई विमर्श सेवा तथा शैक्षिक सामग्री वितरण गरिएको युवा समाज नेपाल चितवनका अध्यक्ष केशव प्रसाद रेग्मीले जानकारी दिए ।
सीमा सुरक्षा कार्यालय चितवनका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शम्भु उप्रेती प्रमुख अतिथि रहेका उक्त कार्यक्रम युवा समाज नेपाल चितवनका अध्यक्ष केशव रेग्मीको अध्यक्षतामा भएको थियो ।
यसअघि चितवनका विभिन्न क्षेत्रका सयौं बालबालिकाहरुलाई मनोविमर्श सेवा तथा शैक्षिक सामग्री वितरण गरेको युवा समाजका महासचिव  सहदेव लकान्द्रीले जानकारी दिए ।
कार्यक्रममा युवा समाजका संस्थापक अध्यक्ष बद्री अधिकारीले भूकम्प पीडित बालबालिकाहरुलाई मनोसामाजिक परामर्शका कार्यक्रम आवश्यक भएको बताए । कार्यक्रममा गैसस महासंघ चितवनका अध्यक्ष खगराज ओझा, चतुर्मुखी उच्च माविका प्रधानाध्यापक पूर्ण पुरी लगायतले  मन्तव्य राखेका थिए ।