«

»

जथाभावी फोहर फाले कारवाही

सञ्चारपत्र सम्वाददाता
नारायणगढ, २१ जेठ
नारायणगढ भृकुटीपथका महिलाहरुले जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने गरी ८ बुँदे आचारसंहिता जारी गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर भृकुटीपथ टोल विकास संस्था महिला समूहले सफा भृकुटीपथ बनाउन आचारसंहिता जारी गरी सरसफाई अभियान थालेको हो ।
भरतपुर उपमहानगरपलिकाको ७० प्रतिशत आर्थिक सहयोग तथा बाँकी २० प्रतिशत रकम समूहले व्यहोर्दै फोहर व्यवस्थापन गर्न भृकुटीपथ टोलमा एक सय १० थान बाल्टिन टोलमा वितरण गरिएको छ । समूहकी अध्यक्ष सुधा जोशीले अटेर गर्दै टोलमा जथाभावी फोहर फाल्नेलाई जरिवाना तिर्न लगाइने बताइन् ।
जोशीका अनुसार पहिलोपटक एक सय रुपैयाँ, दोस्रोपटक तीन सय रुपैयाँ र तेस्रो पटक फोहर फाल्नेलाई पाँच सय रुपैयाँ जरिवाना तोकिएको छ । संकलित फोहर विहान ६ बजेदेखि ८ बजेसम्म नगरपालिकाले उठाइसक्ने जनाइएको छ ।
समूहकि सदस्य विद्या जोशीले टोललाई नमूना टोल बनाउने अभियान थालनी भएको भन्दै फोहोरको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा भरतपुर उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत टिकाराम कँडेलले नगर क्षेत्रका सबै ठाउँमा सरसफाई अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।