«

»

आदर्श गृहमा स्टेशनरी वितरण

adarshaसञ्चारपत्र सम्वाददाता
भरतपुर, १३ भदौ
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा आदर्श गृहमा आश्रित बालबालिकालाई स्टेशनरी वितरण गरेको छ ।
कृष्णपुरस्थित आदर्श गृहमै आइतबार पुगेर स्टेशनरी वितरण गरिएको हो । गृहकी अध्यक्ष मिना खरेलको अध्यक्षतामा आयोजना गरिएको स्टेशनरी वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल प्रमुख अतिथि रहेका थिए ।
आदर्श गृहमा आश्रित बालबालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि स्टेशनरी वितरणले सघाउ पुग्ने प्रमुख अतिथि पोखरेलले बताए । संस्था जन्माउन सजिलो भएपनि यसको सञ्चालन निकै चुनौतिपूर्ण भएको चर्चा गर्दै पोखरेलले बालबालिकालाई आश्रय दिएर उनीहरुको जीवनयापन सहज बनाइदिएकोमा आदर्श गृहलाई धन्यवाद दिएका थिए ।
इक्यानका सदस्य रविन केसीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा आदर्श गृह व्यवस्थापन समिति सदस्य फुलमाया रानाभाट, पत्रकार सन्तोष देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । विविध समस्यामा परेका बालबालिकालाई गृहमा राखेर संरक्षण दिइदै आइएको छ । २०६३ सालमा स्थापना भएको गृहले अहिलेसम्म ५ सय २१ जनालाई आश्रय दिइसकेको छ ।