«

»

भूकम्पबाट पूर्ण प्रभावितलाई चितवनमा सहयोग

भूकम्पबाट पीडित भइ ‘रातो कार्ड’ पाएकालाई सहयोग गर्न चण्डिभञ्ज्याङमा सर्वदलीय सर्वपक्षीय भूकम्पपीडित सहयोग समितिका सदस्यसँग भेला भएका स्थानीयहरु । समितिले चितवनको नौवटा गाविसमा ५२ लाख रुपैयाँ राहत सहयोग गर्दैछ ।

भूकम्पबाट पीडित भइ ‘रातो कार्ड’ पाएकालाई सहयोग गर्न चण्डिभञ्ज्याङमा सर्वदलीय सर्वपक्षीय भूकम्पपीडित सहयोग समितिका सदस्यसँग भेला भएका स्थानीयहरु । समितिले चितवनको नौवटा गाविसमा ५२ लाख रुपैयाँ राहत सहयोग गर्दैछ ।

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १७ भदौ
चितवनका राजनीतिक दलहरुको सक्रियतामा गठित ‘सर्वदलीय सर्वपक्षीय भूकम्पपीडित सहयोग समिति’ ले भूकम्पबाट पूर्ण रुपमा प्रभावितहरुलाई सहयोग वितरण गर्न सुरु गरेको छ । गएको वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण पूर्णरुपमा प्रभावित भएका जिल्लाका बासिन्दालाई यहाँका राजनीतिक दलले सङ्कलन गरेको रकम नगदै वितरण गर्न बिहीबारबाट सुरु गरेका हुन् ।

भूकम्पपछि वैशाख १५ गते जिल्लाका सबै राजनीतिक दलका प्रमुख र प्रतिनिधि रहेको २३ सदस्यीय सर्वदलीय सर्वपक्षीय भूकम्पपीडित सहयोग समिति गठन गरी आर्थिक सङ्कलन थालिएको थियो । सो क्रममा ५९ लाख रुपियाँ दलहरूले सङ्कलन गरेका थिए । समितिमा चितवनमा क्रियाशिल सबै राजनीतिक दललगायत उद्योगी, व्यवसायी, शिक्षक, कानुन व्यवसायी, र पेशागत संघसंस्थाको समेत सहभागिता छ ।
समितिले बिहीबार चण्डीभञ्ज्याङ र दारेचोकमा पुगी करिब २१ लाख रुपैयाँ राहत वितरण गरेको थियो । भूकम्पबाट पूर्ण क्षती व्यहोरी सरकारबाट ‘रातो कार्ड’ पाएकालाई गाविस सचिव र स्थानीय राजनीतिक दलका प्रतिनिधिको समन्वयमा राहत वितरण गरिएको समितिका संयोजक एवम् नेपाली काँग्रेस जिल्ला समिति चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिए । चितवनका नौवटा पहाडी गाविसमा पुगेर राहत दिने कार्यक्रम तय गरिएको पनि संयोजक गुरुङले बताए । आज शुक्रबार सिद्धि र शक्तिखोरमा राहत बाँड्ने कार्यक्रम छ ।
दैवीप्रकोप उद्धार समिति चितवनले दिएको जानकारीअनुसार भूकम्पका कारण जिल्लामा तीन हजार ७२५ घर पूर्णरुपमा क्षति भएका छन् भने १२ हजार २४ घर आंशिक क्षति भएका छन् । चार सय १६ घरधुरीलाई अन्यन्त्र स्थानान्तरण गरिएको छ । भूकम्पबाट पूर्ण रुपमा क्षती व्यहोरेर ‘रातो कार्ड’ पाएकालाई मात्र राहत दिइने समितिको निर्णय छ । उनीहरुलाई प्रति परिवार एक हजार ५०० रुपैयाँको दरले समितिले राहत दिन लागेको हो । समितिले सङ्कलन गरेको रकम क्रमशः प्रभावित परिवारलाई स्थानीय निकायमार्फत वितरण गर्दा लापरबाही नहुने समितिको बुझाई छ । यसबाट बचेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।
समितिको सचिवालय सदस्य जीतनारायण श्रेष्ठका अनुसार चन्डिभञ्ज्याङमा पूर्णरुपमा प्रभावित २६३ परिवारलाई रु तीन लाख ९४ हजार ५०० हस्तान्तरण गरिएको छ । दलका प्रमुखहरूले चन्डिभञ्ज्याङ गाविसका कर्मचारी लक्ष्मण चेपाङलाई गाविसको सर्वदलीय संयन्त्रको रोहवरमा नगद हस्तान्तरण गरेका थिए ।
समितिले बिहीबार नै दारेचोक गाविसका एक हजार १६३ घरपरिवारलाई प्रतिपरिवार रु एक हजार ५०० का दरले १७ लाख ४४ हजार ५०० रुपियाँ पनि हस्तान्तरण गरेको छ । गाविस सचिव निलकण्ठ लामिछानेलाई गाविसको सर्वदलीय संयन्त्रको रोहवरमा दलका प्रमुख एवम् प्रतिनिधिले नगद हस्तान्तरण गरेका थिए ।
वैशाख १२ को भूकम्पपश्चात चितवनका राजनीनिक दलहरुले एकै ठाउँमा उभिएर भूकम्पपीडितका लागि सहयोगको काम गर्दै आएका छन् । सरकारी तथा गैरसरकारी निकायबाट आएका सहयोग पनि दलहरुकै सहयोग र समझदारीमा प्रभावितहरुलाई वितरणका लागि सिफारिस गरिएको थियो ।
दलहरु एकत्रित भएर गरेको कामले सफलता पाएको उल्लेख गर्दै एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले भने–‘हामीले दिएको रकमको मात्रा कम होला । तर यसको सन्देश एकताको भावनाले ओतप्रोत छ ।’ जनताबाटै संकलित रकम सबै पीडितलाई बराबरी भाग लगाउँदा यसले राष्ट्रियस्तरमै राम्रो सन्देश गएको थपलियाले दावी गरे ।
भूकम्पपीडितको नाममा जथाभावी राहत सँकलन हुन थालेपछि वैशाख १५ गते जिल्ला विकास समितिको कार्यालयमा भएको छलफलले ‘सर्वदलीय सर्वपक्षीय भूकम्पपीडित सहयोग समिति’ गठन गरेको थियो । सबै राजनीतिक दलका युवाहरुले राहत सङ्कलन गर्ने आशय देखाएको भएपनि उद्योगी व्यवसायीहरु पीडित हुने हुनाले आफूहरुले एकीकृत रुपमा राहत सङ्कलन गरेर भूकम्प प्रभावितहरुलाई बाँड्न सफल भएको समितिका सदस्य एवम् एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले बताए ।
चण्डीभञ्ज्याङ र दारेचोकमा राहत वितरण गर्दा समितिले छुट्टाछुट्टै औपचारिक कार्यक्रम समेत गरेको थियो । औपचारिक कार्यक्रम गर्दा समेत दलहरुले आलोपालो तरिकाले कार्यक्रममा सहभागिता जनाएका थिए । चण्डीभञ्ज्याङमा भएको औपचारिक कार्यक्रममा काँग्रेस सभापति टेकप्रसाद गुरुङले सभापतित्व गरेका थिए । यसैगरी एमाले चितवनका सचिव तेजेन्द्र खड्काले कार्यक्रमको सञ्चालन गरेका थिए भने कार्यक्रमको उद्देश्यमाथि राप्रपा नेपालका अध्यक्ष बद्रि तिमल्सिनाले प्रकाश पारेका थिए ।
दारेचोकमा भएको राहत वितरण कार्यक्रमको सभापतित्व एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले गरे भने यसको सञ्चालन काँग्रेस सचिव जीतनारायण श्रेष्ठले गरे । दारेचोकमा एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले कार्यक्रमको उद्देश्य सम्बन्धमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
राहत वितरण कार्यक्रममा राप्रपाका अध्यक्ष रामहरि कँडेल, नेकपा (माले)का सचिव पर्शुराम लामिछाने, नेकपा–माओवादीका सेक्रेटरी सुरेश गौतम, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष अमर क्षेत्रीसहित सचिवालयका सदस्यको उपस्थिति रहेको थियो ।