«

»

कालिकाले १३ औँ वार्षिकोत्सव मनाउने

kalikaसञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ भदौ
कालिका एफ.एम प्रा.लिले आफ्नो १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिने विविध कार्यक्रमहरु शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एफ.एमका अध्यक्ष एवम् प्रबन्ध निर्देशक बिक्रम पाण्डले श्रोता, बिज्ञापनदाता र शुभ चिन्तकहरुको चाहना, सल्लाह सुझावलाई मध्यनजर गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आगामी असोज १ गतेबाट वार्षिकोत्सवका कार्यक्रमहरु गरिने पाण्डेले जानकारी दिए ।

असोज १ गते देवघाटको वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाएर कार्यक्रमको सुरुवात गरिने एफएमले जनाएको छ । असोज २ गते साहित्यीक सरोवर (गजल, मुक्तक र कविता) कार्यक्रम छ । यस्तै, असोज ४ गते अन्तर कलेज हाजिरीजवाफ प्रतियोगिताको फाइनल हुनेछ भने असोज ६ गते आमा समूहहरुबीच हाजिरीजवाफ प्रतियोगिता हुनेछ ।
असोज ९ गते भूकम्प प्रतिरोधात्मक संरचना कसरी निर्माण गर्ने सम्बन्धी एक दिने सचेतना नयाँ कार्यक्रम यसपटकको वार्षिकोत्सव कार्यक्रममा थप गरिएको छ । यस्तै, असोज ११ बजे पत्रकार महिला र महिला अधिकारकर्मी, व्यवसायी महिला बिच फुटबल प्रतियोगिता पनि नयाँ कार्यक्रम पनि थप गरिएको एफ.एमले जनाएको छ ।
असोज १४ गते पञ्चे तथा सारङगी बाजा प्रतियोगिता हुनेछ । असोज १६ गते भूकम्पका बेला खटिएका सुरक्षा निकायहरुलाई सम्मान सहित धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ । असोज १८ गते सेवाबाट निवृत्त भएका व्यक्तिहरुको प्रतिभा प्रस्फुटन कार्यक्रमलाई एफ.एमले निरन्तरता दिएको छ ।
यस्तै, असोज २० देखि २१ सम्म अन्तर कर्मचारी खेलकुद कार्यक्रम रहेको छ । जसअन्तर्गत नेपालको राष्ट्रिय खेल कबड्डी र डण्डी बियोलाई प्राथमिकता दिइएको छ । यस्तै असोज २३ गते बृहत लोक दोहोरी तथा सांस्कृतिक कार्यक्रमलाई पनि एफ.एमले निरन्तरता दिएको छ । असोज २६ गते कालिका एफ.एम म्युजिक अवार्ड तथा समापन समारोह रहेको छ । यस वर्ष एफ.एमले नयाँ चार वटा कार्यक्रम समेत थप गरेको छ । म्युजिक अवार्डमा एउटा विधा थप गर्दै सर्वोत्कृष्ट म्युजिक भिडियोलाई अवार्ड प्रदान गरिने पनि एफएमले जानकारी दिएको छ ।