«

»

भूकम्प पीडितका लागि राहत

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ जेठ
चितवनको विकट पहाडी गाविस सिद्धिमा रहेको सैपामका भूकम्प पीडितले पहिलो पटक राहत पाएका छन् ।
विनासकारी महाभूकम्पले क्षति पु¥याएको यस ठाउँमा अहिलेसम्म पनि राहत नपाएका यहाँका भूकम्प पीडितहरुलाई मङ्गलबार राहत वितरण गरिएको हो । सृजना महिला सहकारी, विश्व शान्ति आमा समूह, अन्नपूर्ण आमा समूह, नेपाल रेडक्रस सोसाइटी चितवन शाखा र विशेषगरी लण्डन निवासी ममता मादेन, इजरायल निवासी सानु गुरुङ र माया घलेको आर्थिक सहयोगमा सैपामका ५२ घर चेपाङ परिवारलाई राहतका सामग्रीहरु वितरण गरिएको हो ।
राहत सामग्रीमा पीडितहरुका लागि चामल, दाल, आलु, बिस्कुट, लगायतका खाद्य सामग्री तथा साबुन समेत वितरण गरिएको छ । सैपाममा पनि भूकम्पले ठूलो क्षति पु¥याएको भएपनि यहाँका पीडितहरुले आजसम्म राहत नपाएको जानकारी पाएपछि उनीहरुलाई आवश्यक परेका सामग्रीहरु लिएर वितरणको लागि आएको रेडक्रस शारदानगर उपशाखाकी पूर्व अध्यक्ष तथा युवा समाजसेवी तारा गुरुङले जानकारी दिइन् ।
राहत वितरण कार्यक्रममा रेडक्रस चितवनकी कोषाध्यक्ष अनिता मैनाली, शुभ शान्ति राप्रावि सैपाम सिद्धिका शिक्षक श्याम लामा, सृजना महिला सहकारीकी अध्यक्ष आशा गुरुङ, पार्वती शाह, राम बहादुर प्रजा लगायतले चितवनको विपन्न गाविसको रुपमा चिनिने सिद्धि स्थित सैपामका चेपाङ जातिलाई राहत वितरण कार्यक्रमले समाजमा सकरात्मक सन्देश दिने बताएका छन् । अधिकांश चेपाङ जातिको बसोवास रहेको सैपाममा केही दिन अघि आएको हावाहुरीको कारणले लगाएको मकै खेतीमा समेत क्षति पुगेको छ ।
त्यसैगरी, रोटरी क्लब अफ रत्ननगरले गोरखा र धादिङका भूकम्पपीडितहरुका लागि खाद्यान्न, जस्तापाता, स्टेशनरीलगायतका सामग्री वितरण गरेको छ । क्लबका अध्यक्ष मधुपकुमार भट्टराईको नेतृत्वमा गएको एक टोलीले हालै धादिङको सलाङ–८ स्थित आरुवासमा ४० बण्डल जस्तापाता, ५० सेट ब्लाङ्केट र स्टेशनरी सामग्री वितरण गरेको हो ।  
कालीदेवी माविको प्राङ्गढमा आयोजित कार्यक्रममा क्लबका सदस्य डा. ढुण्डीराज पौडेलले भूकम्प प्रभावित गाउँका एक सय दुई जनाको नाक, कान, घाँटी सम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए । सोही क्रममा जनक पौडेलको संयोजकत्वमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
क्लबका विपिन पोखरेलको संयोजनमा भएको राहत वितरण कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष मधुपकुमार भट्टराईले गरेका थिए । राहतका लागि क्लबका पूर्व अध्यक्ष उमेश घिमिरेका साथै विनोद पोखरेल, पुरुषोत्तम कँडेल, दिलीप घिमिरे, कुलबहादुर गूरुङ, सन्त महतोले विशेष सहयोग गरेका थिए । साथै क्लबका सबै सदस्यहरुले समेत आर्थिक सहयोग जुटाएका थिए ।
मानवीय सेवा र सामुदायको हितमा काम गर्दै आएको क्लबले गोरखाको बगुवा, तान्द्राङलगायतका गाउँमा एक ट्रक चामल र कम्बल वितरण गरेको रोटरीयन सुरेन्द्र रेग्मीले बताए ।
यसैबीच, भूकम्पपीडित घाइतेको उपचारका क्रममा रगतको अभावलाई मध्यनजर गर्दै रोटरी क्लब अफ रत्ननगरले रत्ननगर मेडिसिनको प्राङ्गढमा रक्तदान कार्यक्रम गरेको थियो । एक सय ४४ जना रक्तदाताबाट संकलित रगत रक्त सञ्चार केन्द्र भरतपुरलाई हस्तान्तरण गरिएको थियो । क्लबका अध्यक्ष भट्टराईले परोपकारी कार्यमा रोटरीयन साथीहरुको सहयोग र सद्भावका कारण भूकम्प प्रभावितलाई केही हदसम्म राहत प्रदान गर्न सकेकोमा सबैप्रति आभार प्रकट गरे । उनले आगामी दिनमा पनि यस्तै मानवीय कार्यमा क्लब लागिपर्ने प्रतिबद्धता जनाए ।