«

»

विपि कोइरालाको ३१ औं स्मृति दिवस +भिडीयोहरु

चितवन डट कम  साउन ६ । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३१ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
दिवसका अवसरमा नेपाली कांग्रेस र उसको भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । यही सन्दर्भमा आज कांग्रेसले बीपी सङ्ग्रालय काठमाडौंको सुन्दरीजलमा विशेष कार्यक्रम गर्दैछ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भारतको बनारसमा भएको थियो ।

उहाँ नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो । जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता हुनुहुन्थ्यो । क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसंगै जेल पर्नुभएको थियो ।
कोइरालाको नेतृत्वमा जहानियाँ राणाशासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । बीपी कोइरालाले २००७ सालमा १०४ वर्षे राणाशासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिनुहुन्थ्यो ।
यसैबीच विपी स्मृती दिवसको अवसरमा आज चितवनमा पनि विविध कार्यक्रमहरु भएका छन् । नारायणगढको नगरवनमा निर्माण गरिएको विपी पार्कमा आज सरसफाई गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सरफाई गरेको हो । स्मृती दिवसकै अवसरमा आज विहान विपी कोइराला ममोरियल क्यान्सर अस्पताल भरतपुरमा फलफुल वितरण गरिएको छ । विपी चिन्तन प्रतिष्ठान, प्रजातान्त्रिक विचार समाज र नेपाल शिक्षक संघको संयुक्त आोजनामा भएको कार्यक्रममा करिव ३ सय बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । नेपाली कांग्रेस जिल्ला सभापति टेकप्रसाद गुरुङको प्रमुख आतिथ्यता एवं नेपाल शिक्षक संघका अध्यक्ष ध्रुव पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष देवेन्द्र सुवेद, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष नारायण चालिसेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस भरतपुर वडा नं १० ले पनि ‘विपी एक, व्यक्ति अनेक’ विषक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस जिल्ला सभापति टेकप्रसाद गुरुङको प्रमुख आतिथ्यता एवं वडा सभापति उत्तम जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

चिन भ्रमण गरेका अवसरमा दिनु भएको भाषणको एक अंश ।

यो पनि हेर्नुहोस ।