«

»

सेवा विस्तार गर्दै भरतपुर अस्पताल

bharatpur-hospitalसञ्चारपत्र सम्वाददाता
भरतपुर, ९ पुस
भरतपुर अस्पतालले बिएन नर्सिङ र एमडी विषयको कक्षा सुरु गर्ने भएको छ । अस्पताललाई ‘मेडिकल कलेज’ को रुपमा अगाडि बढाउने लक्ष्य लिएसँगै आगामी वर्षदेखि सो कक्षा सुरु गर्न लागिएको हो ।
अस्पतालले प्रदान गर्दै आएको सेवालाई थप गुणस्तरीय बनाउने र मेडिकल कलेजको रुपमा विकास गर्दै लैजाने योजना अनुसार काम अगाडि बढाईएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए ।
बुधबार अस्पतालमा पत्रकारहरुसँगको अन्तरक्रियामा समितिका अध्यक्ष सुवेदीले सरकारी सेवा र सुविधा भनेपछि राम्रो हुनुपर्ने मान्यतामा अस्पताल प्रशासन लागिपरेको बताए । ‘सरकारले लगानी गरेको र जनताले पनि उपचारको लागि पैसा तिर्ने भएका कारण सरकारी अस्पतालले निजी अस्पतालको भन्दा गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ ।’ सुवेदीले भने, ‘हामीले भरतपुर अस्पताललाई सफा, सहज र सुन्दर गुणस्तरीय सेवा दिने बिरामीमैत्री अस्पताल बनाउँदैछौँ ।’
अस्पतालको सुधारका काम गर्न डाक्टर माणिक मानन्धरको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको कार्यक्रममा जानकारी गराइयो । समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई निशुल्क रुपमा उपचार गर्नका लागि अस्पतालले उपचार कोष बनाउने अवधारणा ल्याएको पनि सुवेदीले कार्यक्रममा जानकारी दिए ।
३१ बिगाह क्षेत्रफलमा फैलिएको भरतपुर अस्पतालको विकासको लागि गुरुयोजनाको साथमा रणनीतिक योजना समेत तयार परिएको अस्पतालले जनाएको छ । अस्पताललाई शिक्षा क्षेत्रसँग जोड्नुपर्ने भएका कारण भरतपुर एकेडेमी अफ मेडिकल साइन्सेसको स्थापना गर्र्न लागिएको उनको भनाई छ । स्थापना गर्न लागिएको मेडिकल कलेजले सम्बन्धन नपाउने बेलासम्म काठमाण्डौको वीर अस्पतालमा रहेको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्दै आगामी शैक्षिक सत्रदेखि बिएन र एमडी पढाउने सहमति भएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा प्रमाणपत्र तहको नर्सिङ विषयको पढाई हुँदै आएको छ ।
पत्रकारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर केशवराज भुर्तेलले गरीव तथा विपन्न वर्गका बिरामीहरुलाई निःशुल्क रुपमा सेवा प्रदान गरिएको जानकारी दिए । अस्पतालमा सिटी स्क्यान, मृगौलाको उपचार र एनआईसीयू बाहेक सबै सेवा सुविधा रहेको बताउँदै मेसु भुर्तेलले भरतपुर अस्पताललाई ‘सरकारी त हो नि !’ भनेर हेला गर्न हुँदैन भने ।
अस्पतालमा अहिले हाडजोर्नी सम्बन्धी सबै अप्रेसन गर्न सम्भव छ । राजधानीमा रहेको वीर अस्पतालपछि राजधानी बाहिरका सरकारी अस्पतालमा भरतपुर अस्पतालले दन्तरोगको सबै उपचार गर्दै आएको छ । बिहान १० बजेदेखि दुई बजेभित्र सरकारी अस्पतालका डाक्टरहरु बाहिरका अन्य अस्पतालमा नगएको दाबी गर्दै डाक्टर भुर्तेलले अस्पतालले सञ्चालन गरेको ‘पेइङ क्लिनिक’ बाट सर्बसाधारण लाभान्वित भएको पनि बताए ।