«

»

थारु विद्यार्थीको महाधिवेशन शुरु

सञ्चारपत्र सम्वाददाता
सौराहा, १० पुस
थारु विद्यार्थी समाजको राष्ट्रिय महाधिवेशन बिहीबारदेखि चितवनको सौराहामा शुरु भएको छ ।
महाधिवेशनको सहिद परिवारले उद्घाटन गरेका थिए । सहिद कमल चौधरी, विपिन क्षेत्री, रामप्रसाद चौधरी, प्रकाश चौधरी र धनबहादुर थनेतका परिवारले महाधिवेशनको उद्घाटन गरेका हुन् ।
बछौली माविमा शुरु भएको महाधिवेशनमा देशका २५ जिल्लाका प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने महाधिवेशनमा एकहजार भन्दा बढी विद्यार्थी सहभागी रहेका थारु समुदायका अगुवा बासुदेव चौधरीले जानकारी दिए ।
शुक्रबारदेखि बन्दसत्र सञ्चालन हुने आयोजकले जनाएको छ । महाधिवेशनले माघ ८ मै पहिचान सहितको संविधान निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
उद्घाटन कार्यक्रममा सभासद्हरु तेजुलाल चौधरी, रुक्मिणी चौधरी र जनकराज चौधरीले संविधान निर्माणका लागि आफुहरु प्रतिबद्ध रहेको बताए । मुख्यगरी रोजगारमूलक शिक्षा र मातृभाषाको पठनपाठनमा उनीहरुको जोड थियो । थारु विद्यार्थी समाजका वरिष्ठ उपाध्यक्ष शिवनारायण चौधरीले मातृभाषाको पठनपाठनको सहज व्यवस्था मिलाउन सरकारसँग माग गरे ।