«

»

कुखुरा पालक किसानहरुको तथ्याङ्क लिइने

सञ्चारपत्र सम्वाददाता
नारायणगढ, ९ पुस
व्यवसायिक रुपमा कुखुरा पालन गर्दै आएका किसानहरुको तथ्याङ्क सङ्कलन हुने भएको छ । राष्ट्रिय योजना आयोगको तथ्याङ्क विभागले कुखुरा पालक किसानहरुको तथ्याङ्क निकाल्न लागेको हो । चितवनमा रहेका कुखुरा पालक व्यवसायीहरुको प्रारम्भिक तथ्याङ्क पुस १० गतेदेखि लिने र माघ १५ गतेदेखि गणकहरु खटाएर उनीहरुको विस्तृत तथ्याङ्क संकलन गरिने राष्ट्रिय योजना आयोगका अम्बिका बस्यालले बताए ।
सरकारले कृषि क्रियाकलाप गर्दै आएका किसानहरुको तथ्याङ्क लिएको तर कुखुरा पालक किसानहरु त्यसमा नपरेका कारण उनीहरुको तथ्याङ्क लिन लागिएको बस्यालले जानकारी दिए ।
‘पोल्ट्री फरक तरिकाले सञ्चालन भएको व्यवसाय हो ।’ बस्यालले भने, ‘कृषि गणनामा पोल्ट्री व्यवसाय पर्न नसकेको कारण अहिले उनीहरुको छुट्टै गणना गर्न लागिएको हो ।’
कुखुरा पालक किसानहरुको सहि तथ्याङ्क लिन सकियो भने उनीहरुको व्यवसायलाई टेवा पुग्ने गरी सरकारले नीति तथा योजना बनाउने बस्यालले बताए । सरकारी क्षेत्र र पोल्ट्री क्षेत्रले निकालेको तथ्याङ्कमा पोल्ट्री व्यवसायीहरुको फरक फरक तथ्याङ्क आएका कारण पनि त्यसलाई एकरुप बनाउनको लागि पोल्ट्री सर्वेक्षण गर्न लागिएको बस्यालले बताए ।
कार्यक्रममा पोल्ट्री व्यवसायी गुणचन्द्र बिष्टले योजना आयोगलाई तथ्याङ्क सङ्कलन गर्नको लागि सक्दो सहयोग गर्ने बताए । ‘तथ्याङ्क कार्यालयबाट आएका कर्मचारीलाई सबै तथ्याङ्कहरु नलुकाई सबैले दिनुहोला ।’ बिष्टले भने, ‘हामीले दिएको तथ्याङ्कबाट सरकारले हाम्रो लागि उपयुक्त नीति बनाउन सक्छ ।’
बुधबार नारायणगढमा भएको सोही अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले विभागले तथ्याङ्क लिने काम राम्रो भएको बताउँदै सबैले सहयोग गर्नुपर्ने बताए ।
‘यो पहिलो चरणको काम भएको कारण सत प्रतिशत राम्रो हुन नसके पनि आगामी वर्षहरुमा राम्रो हुन सक्छ’, भट्टराईले भने, ‘कार्यालयबाट आएका कर्मचारीले उनीहरुले मागेको सबै तथ्याङ्क भरेर सहयोग गरिदिनुहोला ।’
राष्ट्रिय योजना आयोग तथ्याङ्क विभागले बुधबार नारायणगढमा आयोजना गरेको ‘व्यवसायिक कुखुरापालन सर्वेक्षण २०७१’ अन्तरक्रिया कार्यक्रममा चितवनका २० जना कुखुरापालक किसानहरुको सहभागिता रहेको थियो ।