«

»

पाठेघर खस्ने सवालबारे अन्तरक्रिया

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ९ पुस
युवा समाज नेपालको आयोजना र वातावरणीय कृषि तथा विकास केन्द्र काठमाण्डौको सहयोगमा महिला प्रजनन् अधिकार कार्यक्रम अन्तर्गत पाठेघर खस्ने सवालमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम बुधबार नारायणगढमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन समारोहमा युवा समाज नेपालका अध्यक्ष केशवप्रसाद रेग्मी सभापति थिए भने प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकेको प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमको उद्घाटन समारोहमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदी, सिमा सुरक्षा बल आँपटारीका प्रहरी उपरिक्षक शम्भु उप्रेती, गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष प्रधुम्नकुमार खड्का, जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रतिनिधि रश्मिदेवी राना, गैर सरकारी संस्था महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष खगराज ओझा लगायतले सरकारी अस्पतालले निशुल्क पाठेघरको अप्रेशन गर्ने गरेको भए पनि दुर दराजका महिलालाई यातायात खर्चको अभाव र पारिवारिक असहयोगले समस्या थपिएको बताएका थिए ।
कतिपयले पाठेघर खस्नुलाई प्राकृतिक हो भनेर सोँच्ने र अन्तिम अवस्थामा स्वास्थ्य केन्द्र जाने अवस्था रहेको वक्ताहरुको भनाई थियो । प्रजनन सम्बन्धि समस्या लुकाउने गरेकोले महिला अझ बढी पीडित बन्नुपरेको पनि कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
आफ्नो श्रीमान्लाई समेत महिलाहरुले प्रजनन समस्याबारे बताउन नचाहेको कारण पाठेघर खस्ने जस्ता डरलाग्दो रोगबाट ग्रसित हुनुपरेको, ग्रामीण महिलाहरुले प्रजनन समस्या लुकाइरहेको, छिटो विवाह, यौन रोग र महिनावारीको बेला सतर्कता नअपनाएको र गर्भ पतनका कारण समेतले महिलामा आङ खस्ने जस्तो गम्भिर प्रकृतिको समस्या आउने गरेको, पाठेघर खस्ने समस्या आउनु भन्दा समस्या नै आउन नदिने तर्फ सबै गंभिर हुनुपर्ने कार्यक्रमका श्रोत व्यक्ति विभुकुमार झाले जानकारी दिए ।
थोरै जन्मान्तरमा धेरै बच्चाहरू जन्माउनु तथा दक्ष स्वास्थ्यकर्मीहरूसंग नियमित पाठेघरको जाँच नगराउने गरेका कारण नेपालका महिलाहरूमा पाठेघर खस्ने समस्याहरू धेरै मात्रामा देखिएको बारे कार्यक्रमका अर्का श्रोत व्यक्ति इश्वरी नेपालको भनाइ थियो ।
महिलाको प्रजनन् स्वास्थ्य अवस्था, प्रजनन् अधिकार, समाजको संरचना, विकास र चेतना अभिवृद्धि, समता तथा समावेशीकरण, जनवकालत, तौर तरिका तथा रणनीति, मानव अधिकार तथा महिला अधिकारका विविध पक्षमा तालिम केन्द्रित रहने कुरा युवा समाज नेपालका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले बताए ।