«

»

पत्रकारको देशव्यापी दबाबः माघ ८ मै संविधान ल्याउ

fnj picसञ्चारपत्र सम्वाददाता
भरतपुर, ८ पुस
आगामी माघ ८ गतेभित्रमा संविधान जारी गर्ने भन्ने राजनीतिक दलहरुको प्रतिवद्धतालाई पूर्णता दिनका लागि दबाब दिने उद्देश्यले नेपाल पत्रकार महासंघले मंगलबार देशव्यापी दबाबमूलक कार्यक्रम सम्पन्न गरेको छ ।
दुई महिनाअघि लमजुङको घले गाउँमा सम्पन्न महासंघको केन्द्रीय समिति वैठकले संविधान निर्माणमा दबाब दिनका लागि तीन महिने विशेष अभियान सञ्चालन गरेको थियो । महासंघको अभियान माघ ८ गतेसम्म विविध दबाबमूलक कार्यक्रमसहित जारी रहने जनाईएको छ ।
नेपाल पत्रकार महासंघको देशव्यापी अभियान अन्तर्गत चितवन शाखाले पनि मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर एक घण्टा संविधान निर्माणका लागि राजनीतिक दल र सभासद्हरुलाई दबाब दिएको छ ।
दलहरुले प्रतिवद्धता जाहेर गरेअनुसार संविधान जारी गर्न अब एक महिनामात्र बाँकी भएकाले सहमतिबाट संविधान जारी गर्ने मिति एक महिना बाँकी छ भन्ने सोहि सन्देश दिन महासंघको आयोजनामा विहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय चितवनको प्राङ्गणमा दबाबसहितको प्रदर्शन कार्यक्रम राखिएको हो ।
पत्रकार महासंघले अल्पकालीन कार्ययोजना अन्तर्गत संगठनको सम्पूर्ण शक्ति श्रमजीवी पत्रकारको हकहित र नयाँ संविधान निर्माणमा केन्द्रित गर्ने निर्णय बमोजिम ‘नेपाली जनतासँग गरेका बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने नाराका साथ दबाबमूलक अभियान सञ्चालन गरिएको चितवन शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए ।
प्रशासन कार्यालयमा भएको महासंघको कार्यक्रमलाई समापन गर्दै शाखा अध्यक्ष पोखरेलले दिगो शान्ति स्थापना, समृद्ध मुलुक निर्माणका लागि निर्धारित समयमा नै नयाँ साझा सहमति एवम् सहकार्यमा उचित विधि र प्रक्रिया अपनाई संविधान निर्माण गर्न दलहरुलाई अनुरोध गरेका थिए ।
संविधान निर्माणमा दबाब दिनका लागि आगामी दिनमा पत्रकारहरुले कानुन व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापक, शिक्षक, मानवअधिकारकर्मी, नागरिक समाज र स्वतन्त्रताप्रेमी सबैको साथ लिएर अगाडि बढ्ने पनि उनले बताए ।
पत्रकार महासंघले आयोजना गरेको सो कार्यक्रममा ऐक्यवद्धता जनाउन कार्यक्रम स्थलमा नेकपा एमाले चितवनका जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष चुडामणि सापकोटा, सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोविन्द देवकोटालगायत सञ्चारसम्बद्ध विभिन्न पेशागत संघसंस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
देशव्यापी अभियानसँगै पत्रकार महासंघले लोकतान्त्रिक आन्दोलन र संघर्षको उपलब्धीस्वरुप प्राप्त भएका लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता जस्ता महत्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न तथा पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गर्न सबैलाई अनुरोध समेत गरेको छ । पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र समग्र पत्रकारिताको व्यवसायिक विकास एवम् संविधान निर्माणका लागि महासंघले ‘महासंघको अभियान ः श्रम अधिकार र संविधान’ भन्ने मूल नारासमेत तय गरेको जनाएको छ ।
यसैबीच संविधान निर्माणमा दवाब दिन महासंघले सबै सञ्चारमाध्यमहरुमा ‘नेपाली जनतासँग गरेका बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल नारा नियमित प्रकाशन÷प्रसारणका लागि आह्वान गर्ने र प्रसारणमाध्यमहरुलाई यससम्बन्धी जिङ्गल निर्माण गरी प्रसारण गर्न तथा नियमित स्क्रोलको प्रकाशन प्रसारण गर्न अनुरोध गरेको छ ।
महासंघको मूल नारालाई मध्यनजर गर्दै संविधान निर्माणको समयसीमा र अन्तर्वस्तुलाई केन्द्रित गरी आ–आफ्नो सञ्चारमाध्यममा सम्पादकीय, लेखरचना, टिप्पणी, अन्तर्वार्तालगायत नियमित संवाद र विशेष सामग्रीको प्रकाशन÷प्रसारणका लागि पनि महासंघले सबैमा आह्वान गरेको छ ।
पत्रकार महासंघको तीन महिने विशेष अभियानमा श्रमजीवि पत्रकारहरुको सवाललाई पनि उठाईएको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वनका लागि चितवनका सञ्चार प्रतिष्ठानका व्यवस्थापकसँगको छलफल र कार्यान्वयन अवस्थाको अनुगमन गर्ने पनि महासंघले जनाएको छ । श्रमजीवि पत्रकारहरुको अवस्था अध्ययन गरी केन्द्रीय समितिको निर्णय बमोजिम ‘जहाँ बढी समस्या त्यहाँ पत्रकार महासंघ’ भन्ने अभियान सञ्चालन गर्दै पुस मसान्तभित्र यसको प्रतिवेदन केन्द्रमा पठाईने शाखा उपाध्यक्ष दिपेन्द्र बडुवालले जानकारी दिए ।
आगामी माघ ८ गतेभित्रै संविधान निर्माण हुनुपर्ने र अब बन्ने संविधान प्रेस र अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्ने भन्दै महासंघले अबको एक महिना विभिन्न पेशागत सञ्जालहरुसंग संयुक्त कार्यक्रम गर्ने भएको छ ।
२०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गरेका पेशाकर्मीहरुको साझा संस्था शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) को सदस्य पत्रकार महासंघ पनि हो । महासंघसहित पापडमा नेपाल बार एशोसियसन, नेपाल चिकित्सक संघ, नेपाल प्राध्यापक संघ, नेपाल इञ्जिनियर एशोसियसन र नेपाल शिक्षक युनियन सदस्य रहेका छन् ।