«

»

एक सातादेखि बस ठप्प : यात्रुलाई सास्ती

रत्ननगर, ८ पुस । चितवनका यातायात व्यवसायीको रुट विवादका कारण यहाँका विभिन्न क्षेत्रमा चल्ने स्थानीय बस एक सातादेखि नचल्दा यात्रुलाई सास्ती भएको छ ।
सातवटा यातायात व्यवसायीसँग आवद्ध रहेका गाडी बन्द हुँदा यात्रुलाई सास्ती भएको हो । सहमति बिपरीत चितवन टेम्पु, माइक्रो तथा मिनीबस व्यवसायी समितिले चितवनका विभिन्न क्षेत्रमा गाडी सञ्चालन गरेको भन्दै अन्य व्यवसायी आन्दोलित भएका छन् ।
सहमति विपरीत मनपर्दी रूपमा यातायात सञ्चालन गरिएको भन्दै जिल्लामा चलिरहेको चितवन यातायात व्यवसायी सङ्घ, चितवन माइक्रो र ओमशान्ति माइक्रो बस व्यवसायी सङ्घलगायत आन्दोलित भएका हुन् ।
यही पुस २ गतेदेखि चितवन यातायात, चितवन माइक्रो र ओमशान्ति माइक्रो बस व्यवसायी सङ्घसँग आवद्ध सवारी सञ्चालन रोकेर चाबी चितवन प्रशासनमा बुझाई आन्दोलन थालिएको व्यवसायी बद्री पौडेलले बताए । मङ्सिरदेखि चितवन टेम्पु तथा माइक्रो मिनीबस व्यवसायी समितिले विगतको सहमतिबिना चितवनको भरतपुरबाट रत्ननगर तथा पश्चिमी क्षेत्रमा नयाँ गाडी थपेर चलाउन थालेका थिए ।
चितवन टेम्पु तथा माइक्रो मिनीबस व्यवसायी समितिले भने आन्दोलन गर्ने व्यवसायीले आलोपालो प्रथा गरेकाले यातायात सञ्चालन गर्नु परेको बताएको छ । यसबीचमा भएका दुई–तीनपटकको वार्तासमेत सहमतिमा आउन सकेको छैन ।
अहिले सवारी साधनहरु केन्द्रीय बस टर्मिनलमा थन्काइएको छ । व्यवसायी विवादका कारण विद्यार्थी हिँडेरै कलेज जानुपर्ने बाध्यता भएको छ भने अत्यावश्यक कामका लागि आउजाउ गर्नुपर्ने यात्रु मारमा परेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासङ्घका मध्यमाञ्चल संयोजक कपिल पाण्डेले विवाद समाधानको प्रयास भइरहेको बताएका छन् । रासस