«

»

लक्ष्मीनारायणले रुँदै भने, ‘१२ करोड कसरी तिरुँ ?’

Laxminarayanसञ्चारपत्र सम्वाददाता
नारायणगढ, २ असोज
‘सरकारले मेरो सम्पूर्ण जायजेथाको मूल्याङ्कन तीन करोड मात्रै गरेको छ । राजस्व अनुसन्धान विभागले भने १२ करोड रुपैया“ तिर् भन्छ’ बुधबार चितवनका तीन सय जना भन्दा बढी उद्योगी व्यवसायीका बीच आफू अन्यायमा परेको भन्दै नारायणगढका व्यापारी लक्ष्मीनारायण श्रेष्ठ हारगुहार गर्दै थिए ।
राजश्व अनुसन्धान विभागले नारायणगढमा श्रेष्ठले सञ्चालन गरेको लक्ष्मीनारायण वस्त्रालयलाई मूल्य अभिवृद्धि कर बापत चार करोड ५८ लाख आठ हजार आठ सय २३ रूपैयाँ तिर्न पत्राचार गरेको छ । मूल्य अभिवृद्धि करसहित वस्त्रालयले आय कर शुल्क र जरिवाना सहित करिव १२ करोड रूपैयाँ तिर्नुपर्ने अनुसन्धान विभाग स्रोतले बताएको छ ।
उद्योग वाणिज्य संघ चितवन परिसरमा भेला भएका जिल्लाका उद्योगी व्यवसायी सँग श्रेष्ठले आफुलाई राजश्व विभागका कर्मचारीले व्यक्तिगत रिसइवीको कारण अन्यायमा पारेको दावी गरे । ‘घटनाको छानबिनको क्रममा म लगायत मेरो बुबा र भाउजुलाई समेत दुई महिनासम्म धम्कीको भाषामा बयान लिने काम गरियो’ श्रेष्ठले रुँदै भने– ‘बयान लिँदा विभागका कर्मचारीले मानसिक तनाव समेत दिए ।’
श्रेष्ठको सम्पत्ती सरकारले रोक्का समेत गरिसकेको छ । श्रेष्ठले भने मानवीय सम्वेदना समेत लत्याएर राजस्व विभागका कर्मचारीले दुःख दिएका गुनासो गरे । बुबा बाहिर पानी पनि नखाने धार्मिक सम्प्रदायको भएको बताउ“दै उनले बयान प्रकृया सरल गरिदिन अनुरोध गर्दा उल्टै सर्वस्व हरिदिन्छु भनेर धम्काएको दुःखेसो पोखे ।
२०६९ साल जेठ २४ गते राजश्व अनुसन्धान विभागले लक्ष्मीनारायण बस्त्रालयमा छापा मारेको थियो । जिल्लाका उद्योगी व्यवसायीको संगठन उद्योग वाणिज्य संघ, चितवनले पनि श्रेष्ठलाई साथ दिएको छ । सोही विषयलाई लिएर उवासंघको टोली नै केही दिन अघि काठमाडौं गएर एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डस“ग भेट समेत गरेको थियो ।
उद्योग वाणिज्य संघको भेलामा उपस्थित भएका विभिन्न वस्तुगत संघका अध्यक्ष, उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुले लक्ष्मीनारायणलाई न्याय दिलाउनको लागि आन्दोलनको विकल्प नभएको बताए । ‘सरकारले भन्सारमा चेक गरेर राजश्व लिएर पठाएको सामानलाई कसरी कर छलीको आरोप लगाउन पाउँछ ?’ व्यवसायी बिनोद शर्माले भने ।
व्यवसायीहरुले ‘सरकारले विभिन्न बहानामा आक्रमण गर्छ भने व्यावसायीहरु प्रतिकारमा उत्रने’ बताएका छन् । आन्दोलन निष्कर्षमा नपुगुन्जेल रोक्न नहुने वस्तुगत संघका अध्यक्षहरुको धारणा थियो । लक्ष्मीनारायण वस्त्रालयलाई न्याय दिलाउन काठमाडौं गएर राजश्व विभागका महानिर्देशकलाई समेत अनुरोध गर्ने तयारी भइरहेको उवासंघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराइले जानकारी दिए ।
उद्योग वाणिज्य संघ, चितवनको पहलमा आगामी सोमबार नारायणी अञ्चल र यस आसपासका जिल्लाहरुका १७ वटा उद्योग वाणिज्य संघहरुको भेला गर्ने तयारी रहेको अध्यक्ष भट्टराईले बताए । उनले भने– ‘हामीले यातायात व्यवसायी लगायत सम्पूर्ण व्यवसायीहरुसँग यही ७ गते छलफल गर्ने भएका छौँ ।’