«

»

हात्ती महोत्सवमा पर्यटकलाई विशेष छुट

राजेन्द्र आचार्य
सौराहा, ८ पुस
अङ्ग्रेजी नयाँ वर्ष एवम् क्रिसमसको अवसर पारेर आयोजना गरिने चितवन हात्ती महोत्सव २०७१ मा पर्यटकहरुलाई विशेष छुट योजना ल्याईएको छ ।
फरक शैलीमा हात्तीको पिकनिक समेत आयोजन गर्न लगिएको हात्ती महोत्सवमा स्वदेशी एवम् विदेशी पर्यटकहरुलाई लक्षित गरि सौराहा बसाईमा आकर्षित गर्न विशेष छुट योजना ल्याईएको क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ । संघको यो निर्णयपछि सौराहा आउने जोकोही पर्यटकले यहाँका सबै होटल तथा रेष्टुराँमा विशेष योजनासहित सेवा पाउनेछन् ।
चितवनको समग्र पर्यटनको विकास गर्ने उद्देश्यले सौराहामा आयोजना हुन लागेको चितवन हात्ती महोत्सव र अङ्ग्रेजी नयाँ वर्र्षसँगै पर्ने क्रिसमसलाई ध्यानमा राखेर सो योजना ल्याएको क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ ।
चितवन आउने हरेक किसिमका पर्यटकहरु यस अवधिमा सौराहाका होटलमा बास बस्दा कोठामा ३० प्रतिशत छुट दिने योजना ल्याइएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले जानकारी दिए । पहिलो पटक हात्ती संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन हात्ती पिकनिक आयोजना गरेको बताउँदै उनले एक सय भन्दा बढी हात्तीलाई पिकनिकमा हात्तीलाई मनपर्ने परिकारहरु खुवाउने बताए ।
यस्तै रेष्टुराँको बिलमा २० प्रतिशत छुट गरिएको रेवान सौराहाका अध्यक्ष सीताराम कुमालले जानकारी दिए । यसअघि होटलमा २५ र रेष्टुराँमा १५ प्रतिशत छुट दिँदै आएकोमा पर्यटकहरुलाई थप आकर्षित गर्न ५ प्रतिशत बढी छुट गरिएको संघका अध्यक्ष विष्टले प्रष्ट पारे ।
सौराहाको होटल रेनफरेष्टका सञ्चालक समेत रहेका अध्यक्ष विष्टले क्रिसमसको समयमा बाह्य पर्यटकको आवागमनमा कमी आउने र हात्ती महोत्सव यही बेला पर्ने भएकाले पनि आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएको बताए । विष्टले भने– ‘यो अवधिभर सस्तोमा खाना र कोठा उपलब्ध हुनेछ ।’
उनले सौराहालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि विभिन्न प्याकेज योजना ल्याएको जानकारी दिए । मुुलुककै तेश्रो पर्यटकीय गन्तव्य सौराहामा ११ देखि १३ पुससम्म चितवन हात्ती महोत्सवको ११ औं संस्करण हुँदैछ ।
११औं हात्ती महोत्सव यसअघिका भन्दा धेरै राम्रो र व्यवस्थित हुने होटल संघका प्रथम उपाध्यक्ष एवम् महोत्सवका संयोजक सुमन घिमिरेले बताए । महोत्सवमा हात्ती दौडतर्फ २० टिम उपाधिका लागि भिड्नेछन् । त्यस्तै, ४ वर्ष अघिदेखि थप गरिएको हात्ती ब्युटी कन्टेस्टका लागि ५७ हात्ती तयार छन् भने छावाको रोमाञ्चकारी फुटबल प्रतियोगितामा चार टिमबीच खेल हुने पनि घिमिरेले जानकारी दिए ।
टाँगा, गाडा दौड प्रतियोगितासहित हात्तीको दिनचर्याबारे जानकारी र स्थानीय आदिवासी जनजातिको कलासंस्कृति एकसाथ हेर्न पाउनु यो समयमा घुम्न आउने पर्यटकलाई विशेष अवसर भएको महोत्सवका संयोजक घिमिरेको भनाई छ ।
क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष अञ्जनकुमार पाण्डेले प्रत्येक मौसमलाई लक्षित गरेर सौराहालाई बाह्रै महिना घुम्न सकिने गन्तव्यका रुपमा स्थापित गराउन यस्ता विशेष छुटको योजनाले थप सहयोग मिल्ने बताए । उनले यो योजना १० देखि १६ पुससम्म रहने पनि जानकारी दिए ।
योजनाअन्तर्गत एकजनाले एकदेखि तीन रातको प्याकेजमा सौराहा घुम्न पाउनेछन् भने प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्टसहित सम्पूर्ण सफारी गर्न पाउनेछन् । पर्यटकलाई सौराहामा हात्ती सफारी, डुंगा सयर, हात्ती प्रजनन् केन्द्र, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्ने व्यवस्था छ । हात्ती महोत्सवभरि यो योजनामा सहभागी हुने पर्यटकलाई हात्ती महोत्सव निशुल्क अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ ।