«

»

मैत्रीपूर्ण क्रिकेट सम्पन्न

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ८ पुस
क्रिकेटमा महिला सहभागिता बढाउने उद्देश्यले पत्रकार महिला र क्याम्पसका छात्राहरुबीच मङ्गलबार भरतपुरमा मैत्रीपूर्ण क्रिकेट सम्पन्न भएको छ । चितवनमा सक्रिय पत्रकार महिला र वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका छात्राहरुबीच मङ्गलबार मैत्रीपूर्ण क्रिकेट आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघ, चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलले ब्याटिङ गरेर खेल सुरु गरिएको थियो । उक्त मैत्रीपूर्ण क्रिकेटमा टस जितेर ब्याटिङ सम्हालेको पत्रकार महिलाको टोलीले ६ ओभरको खेलमा दुई विकेट गुमाउँदै ३१ रन जोडेको थियो ।
जवाफी ब्याटिङमा ३२ रनको लक्ष्य सहित मैदानमा उत्रिएका वीरेन्द्र बहुमुखी क्याम्पसका छात्राहरुको टीमले चार दशमलव पाँच ओभर खेल्दै तीन विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो । खेलमा १० बल खर्चदै १२ रन बनाएकी वीरेन्द्रकी ममता थापा वुमन अफ दि म्याच भइन् । खेलमा पत्रकार महिलाहरुको तर्फबाट पुनम गौतम र वीरेन्द्र क्याम्पसका छात्राको तर्फबाट अर्चना अधिकारीले क्याप्टेनको भूमिका निर्वाह गरेका थिए ।
मैत्रीपूर्ण क्रिकेटमा नेशनल एम्पाएर रविन्द्र गुप्ताले एम्पाएरिङ गरेका थिए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलले विश्वमै क्रिकेट खेलप्रति सहभागिता र रुची बढ्दै गएकोले यसमा नेपाली महिलाहरुको पनि सहभागिता बढाउन आवश्यक रहेको बताए । उद्घाटन कार्यक्रम महिला लेखक मञ्च चितवनकी अध्यक्ष सिर्जना अर्यालको अध्यक्षतामा भएको थियो ।