«

»

अन्तर विद्यालय टी–ट्वाण्टी सुरु

सञ्चारपत्र सम्वाददाता
भरतपुर, २५ जेठ
भरतपुर क्रिकेट क्लबको आयोजनामा सोमबारदेखि भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
सोमबारको सुरुआती पहिलो खेलमा सनराइज इङ्लिस स्कुल भरतपुर र सेन्ट्रल इङलिस स्कुल नारायणगढबीच प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा सनराइज इङ्गलिस स्कुलले एक सय २४ रनको फराकिलो अन्तरले सेन्ट्रल स्कुललाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजले पूरै ओभर खेलेर छ विकेट गुमाउँदै एक सय ६० रन बनाउन सफल भएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको सेन्ट्रल बोर्डिङ स्कुल सात ओभर खेल्दै ३६ रन बनाएर अल आउट भयो । उक्त पहिलो खेलमा सनराइज इङ्लिस स्कुलका निसान तिमिल्सिना म्यान अफ द म्याच घोषित भएका छन् । तिमिल्सिनाले ५७ रन बनाएका थिए भने एक ओभरमा दुई रन खर्चेर दुई विकेट लिन सफल भएका थिए ।
त्यसैगरी, सोमबारको दोस्रो खेल वाल्मीकि शिक्षा सदन उच्च मावि भरतपुर र पीसजोन इङ्लिस स्कुल गौरीगञ्जबीच सम्पन्न भएको छ । उक्त दोस्रो खेलमा वाल्मीकि एक सय आठ रनले विजयी भएको छ । टस जितेर व्याटिङ रोजेको बाल्मीकिले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा एक सय ५३ रन बनाउन सफल भएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको पिसजोनले नौ ओभरमा पूरै विकेट गुमाएर ४५ रनमा समेटियो । दोस्रो खेलको म्यान अफ दि म्याच वाल्मीकि शिक्षा सदनका असिम खरेल भएका छन् । खरेलले दुई दशमलव चार ओभरमा चार रन खर्चिदै सात विकेट लिन सफल भएका थिए ।
त्यसैगरी, मङ्गलबारको पहिलो खेलमा नारायणी नमूना उच्च मावि भरतपुर र नयाँ किरण मावि भोजाडबीच प्रतिष्पर्धा हुँदैछ भने दोस्रो खेलमा स्टप बाइ स्टेप बोर्डिङ स्कुल सदरपुर र सेन्ट जेभियर्स् स्कुल नारायणगढबीच प्रतिष्पर्धा हुने भरतपुर क्रिकेट क्लबका प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार श्रेष्ठले जानकारी दिए ।