«

»

मैयादेवीको नाममा ट्रष्ट स्थापना

maiyadeviपाँच करोडको घरघडेरी ट्रष्टको नाममा
सञ्चारपत्र सम्वाददाता
नारायणगढ, २० पुस
समाजसेवी एवम् पूर्व साँसद् मैयादेवी श्रेष्ठले आफू बस्दै आएको नारायणगढको घरघडेरी ट्रस्टलाई प्रदान गरेकी छिन् । उनकै नामबाट दर्ता गरिएको ‘सुश्री मैयादेवी ट्रस्ट नेपाल’ लाई श्रेष्ठले घरघडेरी प्रदान गरेकी हुन् ।
नारायणगढको मेनरोडमा रहेको २२२ दशमलब ६८ वर्ग मिटर र त्यसमा बनेको तीनतले भवन श्रेष्ठले मालपोत कार्यालय चितवनबाट ट्रस्टको नाममा पास गरिदिएकी हुन् । आफ्नो निजी घर जग्गा ट्रष्टको सम्पत्तिको रुपमा रहने गरी ‘सेवा नै परमो धर्म’ भन्ने उक्तिलाई आत्मसात गर्दै सम्पत्ति उपलव्ध गराएको ट्रष्टका महासचिव टंकनाथ पौडेलले आईतबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
महासचिव टंकनाथ पौडेलका अनुसार उक्त घरघडेरीको हालको चल्ती मूल्य पाँच करोड रुपैयाँ बराबर रहेको छ । अविवाहित ८७ वर्षीया श्रेष्ठले सामाजिक संघसंस्थालाई करोडौँ रुपैयाँ बराबरको भौतिक सम्पत्ति प्रदान गरिसकेकी छिन् ।
उनी बस्ने गरेको देवघाटको घर जग्गा ओम शान्ति मैयादेवी ट्रष्टलाई यसअघि नै प्रदान गरिसकेकी छिन् । ट्रष्ट विधिवत् रुपमा गएको वैशाख १९ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो ।
मैयादेवीकै सदिच्छा बमोजिम ट्रष्ट स्थापना गरिएको र विगतमा उनीमार्फत भएका सामाजिक कामहरुको निरन्तरता अब ट्रष्टमार्फत गरिने अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए । नेपालको सामाजिक, राजनीतिक एवम् धार्मिक क्षेत्रहरुमा मैयादेवीले पु¥याएको योगदानलाई जीवन्त राख्न र उनको जीवनका समग्र पक्षको अध्ययन, अनुसन्धान गरी लिपिवद्ध गर्न ट्रष्टले भूमिका खेल्ने पनि श्रेष्ठको भनाई छ ।
ट्रष्टको संरक्षकमा मैयादेवी श्रेष्ठ नै रहेकी छन् । उनले काठमाडौँको रविभवनमा रहेको घरजग्गा पनि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिलाई प्रदान गरेकी थिइन् । नारायणगढको कमलनगरमा रहेको नेपाली काँग्रेस चितवनको कार्यालय भवन भएको जग्गा पनि श्रेष्ठले नै प्रदान गरेकी हुन् । यसैगरी मैयादेवी कन्या कलेज पनि उनकै सहयोगबाट निर्माण भएकोले उनकै नामबाट राखिएको छ ।
ट्रष्टको सञ्चालन गर्न प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा १५ जनाको मूल समिति र संरक्षक मैयादेवीबाट चार जना मनोनीत सदस्य रहने व्यवस्था गरिएको छ । ट्रष्टको उपाध्यक्ष सिद्धकुमार श्रेष्ठ, महासचिव टंकनाथ पौडेल, सचिव उज्जल श्रेष्ठ, कोषाध्यक्ष उत्सव श्रेष्ठ रहेका छन् । यसैगरी सदस्यहरुमा सुधा जोशी, सुभ मल्ल, शवरी पिया, रमेश पिया, हरिहर पोख्रेल, सरला पिया, भोला जोशी, प्रगति अधिकारी, कञ्चन अधिकारी रहेको ट्रष्टले जानकारी दिएको छ । संरक्षकमा रहेकी मैयादेवीले मनोनित गरेका चार जना सदस्यहरुमा पूर्व डिआइजी ज्ञानेन्द्र विक्रम महत, चितवनका पूर्व प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा तथा स्थानीय बासिन्दा उमाशंकर अग्रवाल र देवेन्द्र गुरुङ रहेका छन् ।
मैयादेवी वि.सं. २००३ मा नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिई आजीवन राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मन्त्रलाई आत्मसात गरेकी नेतृ हुन् । सादा जीवन र उच्च विचार लिने उनी विगतको प्रतिनिधिसभा, राष्ट्रिय सभा, व्यवस्थापिका संसद्मा सदस्य भईसकेकी छिन् ।
ट्रष्टद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले मुलुकमा लोकतन्त्रको स्थापना, सामाजिक जागरण, महिला हक हित र समाजको अग्रणी एवम् सम्बृद्धिका लागि राजनीति र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनको नाममा स्थापना गरिएको ट्रष्ट सबैको साझा सम्पत्ति भएको बताए । ‘यो सबैको सम्पत्ति हो, मैयादेवी श्रेष्ठको चाहना अनुसार सबैले यसको संरक्षण, सम्वद्र्धन गर्नु जरुरी छ’– अध्यक्ष पोखरेलले भने ।
कार्यक्रममा ट्रष्टकी संरक्षक श्रेष्ठले आफूलाई समाजसेवी भन्न लाज लागेको बताउँदै ट्रष्टमार्फत चितवनको पत्रकारिता र साहित्यको विकासका लागि पनि पुरस्कार, अक्षय कोष र क्षमता अभिवृद्धिका काम गर्न लागिएको जानकारी दिईन् ।