«

»

सरकारी कागज किर्ते गरेको अभियोगमा नारायणगढबाट दश जना पक्राउ

police

नारायणगढका पसलबाट बरामद गरेका सामग्री सार्वजनिक गर्दै प्रहरी । तस्विर ः सञ्चारपत्र

सञ्चारपत्र सम्वाददाता
भरतपुर, २७ जेठ
सरकारी छाप दस्तखत किर्ते गरी नक्कली कागजपत्र तयार गर्दै आएको अभियोगमा प्रहरीले नारायगढबाट १० जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा नारायणगढको दुई वटा पसलमा छापा मार्दा सरकारी छाप दस्तखत किर्ते गरेको भेटिएको कारण ती पसलबाट १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी नारायणगढको सहिदचोकस्थित नमस्ते स्टेशनरी सेन्टरका सञ्चालकसहित सात जना र बालकुमारी कलेज रोडमा रहेको ए टु जेड प्रिन्टिङ एण्ड ग्राफिक्स सेन्टरबाट सञ्चालकसहित तीन जनालाई मङ्गलबार पक्राउ गरेको जनाएको छ ।
नारायणगढको सहिदचोकमा रहेको नमस्ते स्टेशनरीमा नक्कली लाईसेन्स, विद्यार्थी परिचय पत्र, गाविसका सिफारिस, भ्याट सम्बन्धी काम, विभिन्न संघ संस्थाका नक्कली कागजपत्र बनाउने लगायतका विभिन्न गैरकानुनी कार्यहरु हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक रुगम कुँवरको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको बुधबारको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रहरी टोलीले स्टेशनरीमा खोज तलासी गर्दा उक्त पसलबाट गैरकानुनी काम हुँदै आएको पाएपछि पसलमा प्रयोग भएका सामानहरु बरामद गरी पसल सञ्चालक दिलिप श्रेष्ठ र अन्य छ जना कर्मचारीलाई पक्राउ गरेको बताइएको छ । प्रहरीले नमस्ते स्टेशनरीबाट लाइसेन्समा नम्बर राख्ने मेसिन, विभिन्न सात वटा विद्यालयका छाप र प्रधानाध्यापकको छाप, यातायात व्यवस्था कार्यालय बागमतीको छाप, यातायात व्यवस्था कार्यालय लुम्बिनीको छाप, यातायात व्यवस्था कार्यालय नारायणी र गण्डकीको छाप समेत बरामद गरेको छ ।
त्यसैगरी, भ्याट कार्यालयको छाप, विभिन्न गाविस र गाविस सचिवको छाप र दस्तखत, सरकारी कार्यालयको कार्यालय प्रमुख र शाखा अधिकृतको छाप स्थानीय पञ्जिकाधिकारीको छाप समेत प्रहरीले बरामद गरेको छ । मङ्गलबार पसलमा छापा मार्दा प्रहरीले विभिन्न यातायात व्यवस्था विभागहरुको आधिकारिक व्यक्तिको सहि छाप र लोगो निकालिएको २६ थान सवारी चालक अनुमतिपत्र, नक्कली सवारी चालक अनुमति पत्रहरु बरामद गरेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए ।
नमस्ते स्टेनसरीबाट नक्कली काम गर्न प्रयोग हुने कम्प्युटरको सीपीयु चार वटा, कम्प्युटरको मोनिटर पाँच वटा, रङ्गीन र सादा प्रिन्ट गर्ने प्रिन्टर छ वटा र एउटा ल्यापटप प्रहरीले बरामद गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
त्यसैगरी, बालकुमारी कलेज रोडमा रहेको ए टु जेड प्रिन्टिङ एण्ड ग्राफिक्स सेन्टरबाट पनि नक्कली सवारी चालक अनुमतिपत्र, गाविसका सिफारिस, विभिन्न कार्यालय तथा संघ संस्थाको नक्कली परिचयपत्र बनाउने गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक रुगम कुँवरको नेतृत्वको टोलीले खान तलासी गरेको प्रहरी उपरीक्षक थापाले बताए । प्रहरीको खान तलासीको क्रममा गैर कानुनी काम गरेको पाइएको कारण पसल सञ्चालक धर्मपाल बिक र अन्य दुई जना कर्मचारीलाई पक्राउ गरेको बुधबारको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रहरीले ए टु जेड प्रिन्टिङ एण्ड ग्राफिक्स सेन्टरबाट विभिन्न सरकारी कार्यालयहरुको छाप, यातायात व्यवस्था कार्यालय बागमतीको नेपाली र अङ्ग्रेजी छाप, यातायात व्यवस्था कार्यालय लुम्बिनीको छाप, यातायात व्यवस्था कार्यालय धौलागिरिको छाप र यातायात व्यवस्था कार्यालय नारायणीको छाप बरामद गरेको प्रहरी उपरीक्षक थापाले बताए । त्यसैगरी विभिन्न विद्यालयको छाप, सरकारी कार्यालयको छाप, सहसचिवको छाप, गाविस सचिवको छाप, चितवन भन्दा बाहिरका कलेजका छाप, विभिन्न व्यक्तिको आठ थान सवारी चालक अनुमतिपत्र प्रहरीले बरामद गरेको छ ।
प्रहरीले ए टु जेट प्रिन्टिङबाट दुई थान कम्प्युटर, दुई थान मोनिटर, पाँच थान प्रिन्टर र रबर छाप बनाउन प्रयोग गरिने मेसिन समेत बरामद गरेको छ । प्रहरीले बरामद गरेका सामानहरुमध्ये नक्कली लाईसेन्स र सरकारी छाप बढी रहेको प्रहरी निरीक्षक रुगम कुँवरले जानकारी दिए । धेरैजसो नक्कली सवारी चालक अनुमतिपत्र र लोगो निकालिएको पुराना सवारी चालक अनुमतिपत्र बरामद भएकोले अन्य व्यक्तिहरुको संलग्नताको बारेमा समेत अनुसन्धान भइरहेको कुँवरले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार पक्राउ परेका व्यक्तिहरुलाई ‘सरकारी छाप दस्तखत किर्ते’ मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । उनीहरुको कसुर प्रमाणित भएमा आरोपितहरुलाई विगोसहित मुलुकी ऐन किर्ते कागजको महल बमोजिम १ वर्Èसम्म कैद सजाय हुने अधिकारीले बताए ।