«

»

द्वन्द्व व्यवस्थापनबारे अन्तरक्रिया

IMG_8427सञ्चारपत्र सम्वाददाता
भरतपुर, २७ जेठ
द्वन्द्व व्यवस्थापनका प्रचलित अभ्यासहरु र समन्वयको बाटो अवलम्बन गर्दै समाजमा उत्पन्न हुनसक्ने र उत्पन्न भइसकेका विवादहरुको अध्ययन गरी शान्तिपूर्ण समाधानका लागि समन्वय गर्न सम्वाद मञ्च चितवनलाई सरोकारवाला निकायले सुझाव दिएका छन् ।
मञ्चद्वारा बुधबार नारायणगढमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले समाजमा शान्ति सुव्यवस्था र अमन चयनको वातावरण कायम गर्नमा योगदान पु¥याउने मूल अभिप्रायका साथ यसका गतिविधि अगाडि बढाउनुपर्ने बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेले लोकतन्त्रमा नागरिकस्तरबाट गठन भएका यस्ता संस्थाले सरकारका प्रशासनिक र न्यायिक कामलाई समेत सहयोग पुगिरहेको बताए । मेलमिलापका नाममा कानुनको पनि सम्मान गर्नुपर्ने बताउँदै उनले द्वन्द्व र विवादलाई बेलैमा सम्बोधन गर्न सकियो भने बार्ताबाट धेरै समस्याको समाधान गर्न सकिने उल्लेख गरे ।
द्वन्द्व व्यवस्थानपनका लागि कसरी काम गर्ने भन्ने सम्बन्धमा मञ्चले चितवनका राजनीतिक दल र प्रशासनिक निकायसँग छलफल गरेको हो । अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, नेकपा एमाले चितवनका अध्यक्ष जेएन थपलिया, एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियार, राप्रपा नेपाल चितवनका अध्यक्ष बद्रि तिमिल्सिना, नेकपा–माओवादीका घननाथ सापकोटा, स्थानीय विकास अधिकारी भरतमणि पाण्डे, प्रहरी उपरीक्षक शम्भु उप्रेतीको सहभागिता थियो ।
कार्यक्रममा मञ्चका सहसंयोजक रमाकान्त सापकोटाले मञ्चको उद्देश्यमाथि प्रकाश पार्दै सरोकारवाला निकायबाट आएका सुझावका आधारमा यसलाई क्रियाशिल बनाइने बताए । कार्यक्रम मञ्चका संयोजक डा.ईश्वरीराज लौडारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
संयुक्त राष्ट्रसंघ, द्वन्द्व व्यवस्थापन कार्यक्रम अन्तर्गत मध्यमाञ्चल क्षेत्रीय कार्यालयको सक्रियता र चितवनका प्रमुख राजनीतिक दल, नागरिक समाज एवम् जिल्लास्थित महिला सञ्जालका प्रतिनिधिहरुको समन्वयमा दुइ महिनाअघि सम्वाद मञ्च गठन गरिएको हो । मञ्चको सचिवालयमा प्राध्यापक डा. ईश्वरीराज लौडारी, रमाकान्त सापकोटा, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष चुडामणि सापकोटा र शान्ति समिति चितवनका संयोजक घनश्याम दाहाल ‘अविनाश’ रहेका छन् ।