«

»

ताप्लेजुङको पहिरोमा १२ जनाको मृत्यु, १४ बेपत्ता, दर्जनाैं घर बगायो

6481e25faed8efb882bad4698ad5ccd9_Lताप्लेजुङ-बुधबार साँझदेखि परेको वर्षासँगै ताप्लेजुङको पश्चिमी क्षेत्रका ६ गाविसमा गएको पहिरोमा परी हालसम्म १२ जनाको मृत्यु भएको छ। एकै परिवारका १० सहित १४ जना बेपत्ता भएका छन्। पहिरोले दर्जनौं घर बगाएको छ भने ८ जना गम्भीर घाइते भएका छन्।
पश्चिमी गाविस थिम्लाबुको याकफेदीमा पाँच जनाको शव भेटिएको छ। स्थानीय नरेन्द्र ओखराबुका अनुसार सो ठाउँमा भेटिएको शव कसको हो भन्ने पुष्टि भएको छैन। पहिरोले खोप्लिन गाविसको वडा ७ धुसेनीमा एक घर बगाउँदा २ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ११ वर्षीय सविन मादेन र ८ वर्षीय वसन्त बिक छन्।
त्यसैगरी लिङ्तेक गाविसमा १ जनाको मृत्यु भएको छ। सो गाविसका आइतबादुर लिम्बुकी छोरी चमेली भनिनेको मृत्यु भएको स्थानीय शिक्षक ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए।
सान्थाक्रा गाविस वडा ३ मा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरबहादुर लिबाङ र उनका नाम नखुलेका नाति छन्। यसैगरी लिन्तेन गाविसमा वडा ३ बस्ने ३१ वर्षीय मनमाया लिम्बूको मृत्यु भएको छ।

लिवाङमा १४ बेपत्ता

त्यसैगरी लिवाङ गाविस वडा नं १ मा एउटै घरमा १० जनासहित १४ बेपत्ता भएका छन्। मध्यराति गएको पहिरोपछि सन्तहान फेन्सोहाङको परिवारका ९ जना हराइरहेका हुन्। बेपत्ता हुनेहरुमा एकै परिवारका सन्तहाङ फेम्सोहाङ, आइतमाया फेम्सोहाङ, शिक्षा फेम्सोहाङ, जुनु फेम्सोहाङ, प्रेम फेम्सोहाङ, अन्जु फेम्सोहाङ, शिशिर फेम्सोहाङ, सपना फेम्सोहाङ, तीन महिनाको नाम नखुलेको बच्चा र सोही घरमा लेलेपबाट पाउना बस्न आएकी राई थरकी एक महिला गरी १० जना एकै घरमा बेपत्ता रहेको सन्तहाङका भाई कर्ण फेम्सोहाङले बताए। त्यस्तै, सोही वडामा निमा खाङ्दु शेर्पा, उनको एक नाती,चन्द्र घिमिरे र नारायण अधिकारी बेपत्ता भएका हुन्।
अहिले पनि खोला र पहिरो नरोकिएकाले उद्दार कार्यमा कठिनाई भएको बताइएको छ। काठमाडौंबाट एउटा हेलिकप्पर पठाउने तयारी भइरहेपनि मौसमका कारण अवतरणमा कठिनाई हुने देखिएको छ।
पहिरोमा पुरिएर घाइते भएका अरू दुई जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताए।
पहिरोले दर्जनौं घर बगाएकाले हाताहती हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ। घाइतेलाई खोलाखोल्सी बढेको र पहिरो झर्ने क्रम जारी रहेकोले थप उपचारका लागि सदरमुकाम ल्याउन सकिएको छैन। उद्धारका लागि हेलिकोप्टर ल्याउने प्रयास भइरहेको निमित्त प्रमुख जिल्ला अधकिारी सुरेन्द्र भट्टाराईले जानकारी दिए।
जिल्ला प्रहरी प्रमुख तथा डिएसपी शान्तिराज कोइरालाका अनुसार प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि पहिरोले गर्दा बाटोमै रोकिएको छ।–नागरिकन्यूजबाट