«

»

चैते धानमा रोग लाग्यो, उत्पादन घट्ने

dhanकरुणा देवकोटा
भण्डारा, ३० जेठ
पूर्वी चितवनको विभिन्न क्षेत्रमा लगाइएको चैते धानमा रोग लागेसँगै किसानहरु मारमा परेका छन् । रोग लागेपछि यस वर्षको चैते धान उत्पादनमा समेत गिरावट आउने भएको छ ।
पूर्वी चितवनको भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाइएको धान काट्ने समयमा धानको बोटमा ‘नेक ब्लास्ट’ र ‘शीत ब्लाइट’ नामको रोग लागेपछि किसानहरु मर्कामा परेका हुन् । पूर्वी चितवनमा लगाइएको ८० प्रतिशत धानमा रोग देखापरेको जिल्ला आईपीएम कृषक संघ चितवनले जनाएको छ ।
धान झुल्ने बेलामा धानको बाला कुहिएर बाला सुक्दै गएपछि सो क्षेत्रमा लागाइएको अधिकांश धानका बोटहरुमा दाना लागेको छैन । २०७० सालमा पनि उक्त क्षेत्रको धानमा फौजी किरा लाग्दा चैते धानको उत्पादनमा ७० प्रतिशत गिरावट आएको थियो ।
भिœयाउने बेलाको धानमा रोग लागेका कारण ती क्षेत्रमा लगाइएको मध्ये ८० प्रतिशत धान खेर गएको छ । एउटा बोटमा यो रोग लागेपछि सजिलै अन्य बोटमा पनि सर्ने भएका कारण यस रोगले पूर्वी चितवनका किसानहरुलाई ठूलो घाटा पारेको हो ।
चैते धान मध्ये पछि लगाइएको धानमा धेरै समस्या देखा नपरेको तर अगाडि लगाइएको धानका बोटहरुमा रोगको सङ्क्रमण बढी देखिएको जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले जानकारी दिएका छन् । धानको बालामुनी हुने घाँटी कुहिएर उत्पादन शक्तिमा ह्रास आएको घिमिरेले बताए ।
भण्डारा गाविस–२, हर्दीका रुद्र प्रसाद गौतम चैते धानमा क्षति व्यहोर्नु परेसँगै अब लगाउने वर्षे धानमा पनि रोग लाग्छ कि भन्ने चिन्तामा छन् । धानमा नेक ब्लास्ट रोग देखिएपछि अब के खाने भन्ने चिन्ताले सताएको गौतमले बताए । ‘चैते धान भिœयाउने आशमा वर्षे धान बेचिसकेका छौँ’ गौतमले भने, –‘अब रोग लागेर धान भिœयाउनै नपाएपछि के खाने भन्ने समस्या परेको छ ।’
धेरै खर्च गरेर लगाएको धानमा रोग लागेसँगै अर्को पटक धान कसरी लगाउने, कस्तो बीउ–विजन, मलको प्रयोग गर्ने लगायतका विषयमा किसानहरुबीच छलफल चल्न थालेको छ । एक हप्ता अगाडि जिल्ला कृषि विकास कार्यालय, जिल्ला आईपीएम कृषक समूह लगायतको टोली अनुगमनको लागि उक्त क्षेत्रमा गएको थियो ।
अनुगमनको क्रममा धानमा धेरै मात्रामा रासायनिक मलको प्रयोग भएको र वर्षको दुई खेती गरेका कृषकहरुमा खेतमा समस्या देखिएको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले बताए । प्रशस्त प्राङ्गारिक मल राखेको बालीमा रोग नदेखिने भएपनि कृषकहरुले प्राङ्गारिक मल भन्दा रासायनिक मलको प्रयोग धेरै गर्ने हुँदा समस्या आएको घिमिरेले बताए । बढी मात्रामा रासायनिक मलको प्रयोग भएको कारण रोगले सङ्क्रमण गरेको घिमिरेले जानकारी दिए ।
एक वर्षमा धान, गहुँ र धान गरेर लगाउनु भन्दा धान, तरकारी र धान गरेर बाली लगाउने किसानहरुमा समस्या नपर्ने घिमिरेको भनाइ छ । त्यस्तै, जिल्ला आईपीएम कृषक संघ चितवनका अध्यक्ष धर्मराज कँडेलले धान लगाउने समयमा किसानहरुले कडा विषदीको प्रयोग गरेका कारण रोग लागेको बताए । आफूहरुले किसानहरुलाई विभिन्न समयमा तालिम, सहजीकरण गर्ने गरेको भएपनि परम्परागत तरीकाले खेती गर्दा रोग लागेको कँडेलले बताएका छन् ।
किसानले आफ्नो बारीमा लगाएको बालीमा समस्या देखिना साथ राम्रोसँग नबुझी एग्रोभेटहरुबाट औषधि ल्याएर प्रयोग गर्नाले पनि समस्या आएको कँडेलको भनाइ छ । कँडेलले आगामी दिनमा जिल्ला आईपीएम कृषक संघ चितवनले अझै धेरै तालिम आयोजना गर्ने बताएका छन् ।