«

»

‘चरम राजनीतिकरणले विकास रोक्यो’

New Imageआनन्द पोखरेल
भरतपुर, १९ पुस
राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर स्वर्णीम वाग्लेले मुलुकमा चरम राजनीतिकरणले विकासलाई रोकेको बताएका छन् । चितवन उद्योग संघको शनिबार आयोजित १५औँ साधारणसभामा वाग्लेले सबै क्षेत्रमा राजनीतिकरण भएकोले मुलुकको विकास हुन नसकेको टीप्पणी गरे ।
‘देशको जुनसुकै क्षेत्रमा पनि राजनीतिकरण भएको छ’ वाग्लेले भने,– ‘चरम राजनीतिकरणको कारण औद्योगिक क्षेत्रको समेत विकास हुन सकेन ।’ चितवनमा कृषि, स्वास्थ्य, सेवा र उद्योगको राम्रो सम्भावना रहेको समेत वाग्लेले औंल्याए ।
कृषि, उद्योग र सेवा क्षेत्र अगाडि बढेमात्र विकास भएको मानिने वाग्लेले बताए । ‘चितवन जिल्लामा कृषि, उद्योग र सेवा क्षेत्रमा धेरैनै सम्भावना रहेको छ’ वाग्लेले भने,– ‘यी तीनवटै क्षेत्रलाई उकास्नुपर्ने चुनौती हाम्रो सामु छ ।’
देशको मध्यभागमा रहेको चितवन जिल्ला कृषि भण्डारको रुपमा रहेको उल्लेख गर्दै वाग्लेले भने,– ‘कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न सक्ने र उद्योगको विकास गर्न सक्ने हो भने चितवनमा विकासको राम्रो सम्भावना छ ।’ मुलुकमा औद्योगिक पूर्वाधारहरुको सङ्कट, नीतिगत अस्पष्टता, चरम राजनीतिकरणले विकासलाई रोकेको वाग्लेको भनाई थियो ।
योजना आयोगबाट कृषि, सेवा र उद्योग तीन क्षेत्रको विकासको लागि नीतिगत रुपमा विशेष योजनाहरु अगाडि ल्याइने वाग्लेले बताए । सय वर्षको अवधीमा आठ सय मेघावाट मात्र बिजुली उत्पादन भएकोमा अहिले पछिल्लो तीन वर्षको अवधिमा एक हजार दुई सय मेघावाट विजुली उत्पादान हुने अपेक्षा रहेको वाग्लेले बताए । ‘जलबिद्युतको क्षेत्रमा हामीले ठूलो फड्को मार्दैछौ“’ वाग्लेले भने, –‘जसको कारण वर्षायाममा लोडसेडिङको अन्त्य हुनेछ ।’
बिजुलीको सब स्टेशनहरु निर्माण गर्दै बिजुली आयात गरेरै भएपनि हिउ“दमा समेत लोडसेडिङ अन्त्य गर्ने आयोगको तर्फबाट योजना बनाउने वाग्लेले बताए । पछिल्लो समयमा सरकारी क्षेत्रबाट भन्दा निजी क्षेत्रबाट बिद्युत उत्पादनमा बढी योगदान भएको र सरकारी लगानीबाट पा“च सय ६० मेघावाट बिजुली उत्पादन हुन लागेको तथा निजी क्षेत्रबाट छ सय ३० मेघाबाट बिजुली उत्पादन गर्ने तयारी भइरहेको वाग्लेले बताए ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले चितवन उद्योग संघले सहकारीको माध्यमबाट औद्योगिक सहकार्य गरेको बताए । नेपाल सरकारले प्रशिक्षार्थी कामदारलाई विदेश पठाउने गरेको तर आफूहरुले हेल्भेटासको सहयोगमा स्थानीय स्तरका उद्योगहरुमा नै प्रशिक्षार्थी कामदार उत्पादन गरेर युवा जनशक्तिलाई विदेशिनबाट रोकेको पनि अधिकारीले बताए ।
त्यस्तै, दिगो विकास निर्माण परियोजना अन्तर्गत चितवन तथा नवलपरासीका करिव सय जना उद्योगीहरुलाई तालिम दिएको पनि अध्यक्ष अधिकारीले साधारणसभामा उल्लेख गरे । उद्योग व्यवसायमा देखिएका कमजोरीलाई सुधार गर्दै अगाडि बढाउने उद्देश्यले चितवन उद्योग संघको पहलमा पोल्ट्री, प्लाष्टिक सबै क्षेत्रमा नीतिगत सुधार गर्ने काम गरेको अधिकारीले बताए । औद्यौगिक विकासको लागि भ्रष्टाचार प्रमुख शत्रु भएको भन्दै अधिकारीले नेपालमा रोजगार नपाएर ४० लाख युवाहरु सस्तोमा बिदेश गएर श्रम बेच्न बाध्य भएको बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले नेपालीलाई काम गरेर खान पाउने संविधान बनाउन सरकारसँग माग गरे । ‘संविधान जस्तो सुकै आओस् तर काम गरेर खान पाउने संविधान बन्नुपर्छ’ शर्माले भने,– ‘नेपालमा कसैले पनि चन्दा मागेर खान पाउनु हुँदैन ।’ मुलुकको जुन स्थानमा पनि निर्वाध रुपमा उद्योग स्थापना गर्न पाउने संविधान बनेमा मुलुकले विकासमा फड्को मार्ने शर्माको भनाइ थियो ।
चन्दा आतङ्कले गर्दा मुलुकका उद्योग व्यवसायहरु सङ्कटमा परेको शर्माले बताए । ‘अब बन्ने संविधानमा चन्दालाई अबैधानिक बनाइयोस्, कि त कानुन सम्मत बैधानिक बनाइयोस्’ शर्माले भने, –‘उद्योगीहरुले दिएको चन्दा लेख्न पनि पाइँदैन जसले गर्दा आर्थिक पारदर्शी हुँदैन ।’ उद्योगीहरुले दिएको चन्दालाई पारदर्शी बनाउन समेत शर्माले माग गरे ।
नेपालमा धेरै सम्भावना भएको र छिमेकी देशहरुसँग प्रतिपर्धा गर्ने वस्तुहरु उत्पादन गर्न सक्नुपर्ने शर्माले बताए । ‘हामी व्यवसायीहरुसँग पैसाको अभाव छैन’ शर्माले भने, –‘व्यवसायीलाई लगानी गर्ने वातावरण बनाइयोस्, हामी जलबिद्युतमा लगानी गर्न पनि तयार छौँ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, नेकपा एमालेका देवी ज्ञवाली, नेपाली का“ग्रेसका भूपतिदास सापकोटा, राप्रपाका प्रकाशराज थपलिया, राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष मोहनमणि ढकाल, उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष चिरञ्जीवि सुवेदी, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठ, राप्रपा नेपाल चितवनका अध्यक्ष बद्रि तिमिल्सिना, एनेकपा माओवादीका घनश्याम दाहाल, सभासद धनिराम पौडेल, नेपाल घरेलु तथा साना उद्योग संघका उपाध्यक्ष तथा मध्यमाञ्चल अध्यक्ष उमेशप्रसाद सिंह, पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टलगायतले मन्तव्य राखेका थिए । चितवन उद्योग संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष भेषराज दवाडीले धन्यवाद ज्ञापन गरेका थिए ।