«

»

‘दुई तिहाई लगानी निजी क्षेत्रबाट हुनुपर्छ’

Poultry Rally  Page 1मुकुन्द दहाल
भरतपुर, १७ पुस
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.गोबिन्दराज पोखरेलले नेपाललाई सन् २०२२ सम्ममा विकासशील अवस्थामा पु¥याउन निजी क्षेत्रको लगानी अनिवार्य भएको बताएका छन् । चितवनको भरतपुरमा बिहीबार आयोजित दोस्रो राष्ट्रिय पोल्ट्री दिवस–२०७१ कार्यक्रममा पोखरेलले नेपाललाई अति कम विकसित अवस्थाबाट विकासशील अवस्थामा पु¥याउन उत्पादनशील क्षेत्रमा करिब ९७ खरब रुपैयाँ खर्च गर्नु पर्ने आयोगको अनुमान रहेको बताए ।
पशु सेवा विभाग, पशुपंक्षी निर्देशनालय र नेपाल कुखुरा बजार व्यवसायी मञ्चद्वारा आयोजित कार्यक्रममा उपाध्यक्ष पोखरेलले सरकारले मात्र सो रकम उपलब्ध गराउन नसक्ने भएकोले त्यसको दुई तिहाई रकम निजी क्षेत्रबाट लगानी गर्नु अनिवार्य भएको बताए ।
उत्पादनशील क्षेत्रमा दुई तिहाई लगानी गर्नुपर्ने भएकोले निजी क्षेत्रको मह¤व स्वतः रहने उनको स्पष्टोक्ति थियो । कुखुरा व्यवसायको लागि सरकारले दिने ६ प्रतिशत अनुदान र असिमित प्रिमियम लगायतका सकारात्मक प्रावधान बजेटमा समायोजन गर्न आफुले अर्थ मन्त्रायसँग समन्वय गरिरहेको पोखरेलले बताए । उनले अर्थ र कृषि मन्त्रालयसँग समन्वय गरेर सो प्रावधान लागू गर्न पहल गर्ने व्यवसायीहरुलाई आश्वासन दिए ।
त्यस अवसरमा पशुसेवा विभागका महानिर्देशक डा.केशव प्रेमीले पशुपंक्षी व्यवसाय सम्बन्धमा छलफल गर्न फोरमको स्थापना, पंक्षी नीति निर्माण र पंक्षी नीति निर्देशक समिति गठन हुनु मह¤वपूर्ण उपलब्धी भएको बताए । विदेशबाट फर्केका युवाहरुको पशुपालन र पंक्षी पालनमा आकर्षण हुनु देशको विकासको लागि राम्रो सङ्केत भएको प्रेमीको भनाई थियो ।
महानिर्देशक प्रेमीले पोल्ट्री र दुग्धजन्य व्यवसायमा लागेका युवाहरुलाई पेशाप्रति आकर्षण गरी राख्न र ती वस्तुहरुमा देशलाई आत्मनिर्भर बनाउन पेशालाई संरक्षण गर्दै दिगोपनतर्फ लाग्नुपर्छ भने । अन्यथा स्वदेशमा आएर पेशा गर्नतिर आकर्षित युवा फेरि विदेशतर्फनै पलायन हुने उनले बताए । उनले भने– ‘पंक्षीमा भएको लगानीबाट प्रत्यक्ष उपलब्धी कम देखिन सक्छ तर अण्डा र ब्रोईलर कुखुराको मासुले सबै किसिमको पौष्टिक पदार्थ उपलब्ध गराएर जनस्वास्थ्यमा करौडौं मूल्यको योगदान गरेकोलाई समेत मूल्याङ्कन गर्दा लगानी भन्दा कयौं गुना उपलब्धी भएको मान्न सकिन्छ ।’
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले क्वारेन्टाईन ऐन लागू भएपछि कुखुरा व्यवसायको संरक्षणमा ठूलो योगदान पुगेको बताए । प्रत्येक दश वर्षमा हरेक व्यवसायले रुप फेर्ने हुनाले व्यवसायीहरुले पनि सो अनुसार आफूलाई तयार पार्न सक्नुपर्ने अन्यथा व्यवसायनै धरापमा पर्ने उनको भनाई थियो । बिष्टले राज्यले कृषि व्यवसायमा अनुदानको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । कुखुरा व्यवसायमा विश्वमा कहीँ पनि बीमाको व्यवस्था नभएको स्पष्ट पार्दै हाल सरकारले बीमाको लागि छुट्याएको रकम देखाउनको लागि मात्र भएको बिष्टको दावी थियो ।
आजको लगानीस्तरमा नै पेशाको आधुनिकीकरण हुन सक्ने भएकोले आधुनिकीकरणबाट व्यवसायीहरु डराउन नहुने तर व्यवसायको स्थानान्तरण भने गर्नैपर्ने धारणा उनले राखे । कुखुरा व्यवसायमा हालको लगानी र प्रतिफलको अनुपातलाई मूल्याङ्कन गर्दा राज्यको वर्तमान कर प्रणाली लागू हुन सक्ने अवस्था नभएको बिष्टले जिकिर गरे ।
नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय अध्यक्ष शंकर कँडेलले ब्रोईलर कुखुरा व्यवसाय भेन्टिलेटरमा राखेको बिरामी जस्तो अवस्थामा रहेको भन्दै राज्यको तर्फबाट तत्काल संरक्षणमुखी नीति अवलम्बन गर्न माग राखे । भारतबाट आयातित मासु कोल्डस्टोरमा राखिएको, अण्डा र चल्ला भारतबाट अबैधरुपमा आयात भैरहेकोले नेपालको कुखुरा व्यवसाय सङ्कटमा परेकोले त्यसलाई रोकिनुपर्ने उनको भनाई थियो ।
देशभित्र उत्पादन बढी भै मूल्यमा आउने गिरावटलाई सन्तुलनमा राख्न उपभोग वा खपतमा बृद्धि गर्ने नीति राज्य र निजी क्षेत्रले ल्याउनुपर्ने कँडेलको सुझाव थियो । उनले उपभोगमा बृद्धि गर्न सरकारी स्तरबाट ‘कुखुराको मासु तथा अण्डा खाऔं’भन्ने प्रचारको अभियान ल्याएमा निजी क्षेत्र आवश्यक लगानी गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले अरुलाई दोष दिनुभन्दा आफ्नो लागि आफैले पहल गर्नुपर्ने धारणा राखे । आफूले जिम्मेवारी पूरा गर्ने हो भने व्यवसायमा सफलता मिल्ने उनको विश्वास थियो । दिवस मनाउनुुको अर्थ जिम्मेवारी बोध गर्नुपनि हो भन्ने केसीको भनाई थियो ।
चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले पोल्ट्री व्यवसाय चितवनको परिचय र पहिचान भएको बताए । उनले स्थानीय निकायले व्यवसायको प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
कृषि तथा वन विश्व विद्यालयका उपकुलपति प्रा.डा.कैलाशनाथ प्याकुरेलले कृषि शिक्षाको प्रसार व्यक्तिगत तवरमा केही मात्रामा भैरहेको तर संस्थागत रुपमा हुन नसकेको बताए ।
पोल्ट्री व्यवसायी मञ्चका पूर्व अध्यक्ष डा.तिलचन्द्र भट्टराईले पोल्ट्री उद्योगको वर्तमान प्रवृत्ति र भावी रणनीति एवम् कृषि तथा वन विश्व विद्यालयका उप प्राध्यापक डा. होमबहादुर बस्नेतले नीति कार्यान्वयनमा सकारात्मक सोचाई बारेमा कार्यपत्र पेश गरेका थिए । मूल आयोजक समितिका संयोजक चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मित्रराज दवाडीले गरेका थिए ।