«

»

वर्षेनि छ हजार नयाँ क्यान्सर रोगी

cancerसञ्चारपत्र सम्वाददाता
भरतपुर, १६ जेठ
विश्वमा जति पनि मान्छेको मृत्यु हुने गरेको छ ती मध्ये ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट भएको छ भने सूर्तिजन्य पदार्थको सेवनबाट मात्र वर्षेनि ६० लाख मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । जसमा छ लाख मानिसहरु आफूले सूर्तिजन्य पदार्थ सेवन नगरेपनि परिवारका सदस्य वा अन्य व्यक्तिले गरेको धुमपानको असरका कारण ज्यान गुमाउन बाध्य भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अबको १५ वर्षमा विश्वमा धुमपानका कारण वर्षेनि ८० लाख मानिसले ज्यान गुमाउने छन् । धुमपानका कारण ज्यान गुमाउनेहरुमा अधिकांश नेपाल जस्तो विकासशिल देशका जनता रहेका पनि डब्लुएचओले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । डब्लुएचओले सन् २०११ मा गरेको अध्ययनको प्रतिवेदन अनुसार नेपालमा हाल वर्षेनि छ हजार मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ । अहिले नेपालमा हरेक एक लाख जनसंख्यामा एक सय ३० जनालाई क्यान्सर लागेको हुन सक्ने प्रतिवेदनमा जनाइएको छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका उप निर्देशक डाक्टर देजकुमार गौतम हाल नेपालमा करिब तीन लाखको हाराहारीमा क्यान्सर रोगी रहेको बताउँछन् । क्यान्सर रोगीको बारेमा एकिन तथ्याङ्क निकाल्ने काम नभएको कारण यो सङ्ख्या बढी पनि हुन सक्ने गौतमले बताए । ‘वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा वर्षेनि छ हजार जनाको क्यान्सर रोगको डाइग्नोसिस (रोग पत्ता लगाउने कार्य) हुन्छ’ गौतमले भने– ‘अस्पतालमा वर्षेनि क्यान्सर रोगको उपचारको लागि २५ हजार बिरामी आउने गरेका छन् ।’
नेपालमा फोक्सोको क्यान्सर भएका बिरामीहरुको सङ्ख्या सबैभन्दा धेरै रहेको गौतमले बताए । त्यसपछि महिलाको स्तनको क्यान्सर, पाठेघरको क्यान्सरका बिरामीहरु पनि धेरै भएका गौतमले जानकारी दिए । ‘हामीले मुलुुकका ठूला अस्पतालहरुको तथ्याङ्कलाई विश्लेषण गरेका थियौँ’ गौतमले भने– ‘जसमध्ये पहिलो नम्बरमा फोक्सोको क्यान्सर लागेका बिरामीहरु भेट्टायौँ ।’
फोक्सोको क्यान्सर भएका मान्छेहरु मध्ये ९९ दशमलव नौ प्रतिशतलाई धुमपानका कारण क्यान्सर लाग्ने गरेको बताउँदै डाक्टर गौतमले भने, –‘त्यसपछि मादक पदार्थ सेवन गर्ने व्यक्तिहरुलाई क्यान्सरको खतरा बढि छ ।’ अहिले क्यान्सर रोग रोकथामका लागि मुलुकका ४४ वटा जिल्लाहरुमा ‘हेल्प डेस्क’को स्थापना गरेर काम भइरहेको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका डाक्टर यदुचन्द्र घिमिरेले सरुवा रोगका कारण मृत्यु हुने मानिसको संख्या घट्दै गएको भए पनि क्यान्सर लगायतका नसर्ने रोगका कारण मर्ने मानिसहरुको संख्या वर्षेनि बढेको बताए । विश्वमा नसर्ने रोगका कारण ६० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । दक्षिण एशियामा ५४ प्रतिशत र नेपालमा ५१ प्रतिशत मानिसहरुको नसर्ने रोगका कारण ज्यान जाने गरेको डाक्टर घिमिरेले बताए । नेपालमा वर्षेनि नसर्ने रोगमध्ये क्यान्सर, मुटुरोग, मधुमेह र श्वासप्रश्वास सम्बन्धी दीर्घरोगका कारण ८० प्रतिशत मान्छेले ज्यान गुमाउने गरेका घिमिरेले बताए ।
मुटु सम्बन्धी रोग लाग्नुको मुख्य कारण सूर्तिजन्य पदार्थको सेवन, भुटेको तथा पोलेका जस्ता अस्वस्थकर खाना, मदिरा, व्यायामको कमी लगायत रहेको घिमिरेले जानकारी दिए । सूर्तिजन्य पदार्थमा चार हजार भन्दा बढि हानिकारक रसायनहरु हुने खनालले बताए । अझै पनि २२ प्रतिशत नेपालीले सूर्तिजन्य पदार्थ सेवन गरिरहेको तथ्याङ्क डब्लुएचओले सार्वजनिक गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख मधुसूदन कोइरालाले सूर्तिजन्य पदार्थको ७५ प्रतिशत भागमा चेतावनीमूलक सन्देश हुनुपर्ने बताउँछन् । ‘चुरोटका बट्टाहरुको ७५ प्रतिशत भागमा चेतावनीमूलक सन्देश भएको हुनुपर्दछ’ कोइरालाले भने– ‘१८ वर्ष मुनिका बालबालिका, गर्भवती महिलाहरुलाई सूर्तिजन्य पदार्थ बेच्न नपाइने कानुन बनेको छ ।’ विद्यालय, अस्पताल, प्रतिक्षालय लगायतका सार्वजनिक स्थानको सय मिटर वरिपरी चुरोट तथा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने कोइरालाले बताए ।
सूर्तिजन्य पदार्थको विज्ञापन र प्रवद्र्धन गर्न नपाइने, उपहार र सजावटका लागि प्रयोग गर्न नपाइने पनि कोइरालाले जानकारी दिए । सरकारी कार्यालय लगायतका सार्वजनिक स्थानहरुमा धुमपान निषेधको सूचना टाँस्नुपर्ने नियम बनेको उनले बताए । सूर्तिजन्य पदार्थका कारण विश्वमा प्रति छ सेकेण्डमा एक जना मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
डब्लुएचओको प्रतिवेदन अनुसार मृत्यु हुनेमा हरेक १० वयस्कमा एक जनाको सूर्तिजन्य पदार्थको कारण मृत्यु हुने गरेको छ । विश्वमा बीसौँ शताब्दीमा सूर्तिजन्य पदार्थका कारण १० करोड मानिसहरुको मृत्यु भएकोमा हालकै अवस्थामा सूर्तिजन्य पदार्थको सेवन रहिरहने हो भने २१ औं शताब्दीमा यो संख्या एक अरब पुग्ने डब्लुएचओले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सूर्तिजन्य पदार्थमा १० प्रतिशत कर बढाउँदा आठ प्रतिशत प्रयोगकर्ता घट्ने देखिएको छ ।
सन् २००३ मे ३१ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थ रोकथामका बारेमा महासन्धी पारित गरेपछि यसै दिनलाई स्मरण गर्दै विश्व धुमपान दिवस मनाइने गरिएको छ ।