«

»

सम्पादकीय : क्यान्सर निम्त्याउने धूमपान

आज विश्व धूमपान रहित दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाईँदैछ । नेपालमा वर्षेनि सूर्तीजन्य पदार्थको सेवनले १६ हजार जनाको मृत्यु हुने गरेको तथ्याँक छ । सूर्तीजन्य पदार्थको प्रयोगबाट विश्वभर हरेक वर्ष ६० लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसमा अप्रत्यक्ष धूमपानका कारण ज्यान गुमाउने ६ लाख जना छन् । सूर्तीजन्य पदार्थको प्रयोग रोक्न प्रयास नगरे सन् २०३० सम्म विश्वभर ज्यान जानेको संख्या ८० लाख भन्दा बढी पुग्ने अनुमान संगठनको छ । वर्षभरि धूमपान र सूर्तीजन्य पदार्थ सेवन गर्न आम मानिसलाई छुट दिने, तर एक दिन भएपनि यसको जनचेतनाको लागि भन्दै दिवस मनाउने कार्य धेरै पहिलेदेखि चल्दै आएको छ । तर यसले सार्थक उपलब्धि भने हासिल गर्न सकेको छैन ।
विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थको विज्ञापनले ठूलो संख्यामा मानिसहरुलाई धूमपान सुरु गर्न र निरन्तरता दिने क्रम घटाउने दावी गरेको छ । यसका साथै सूर्तीजन्य पदार्थको प्रयोगबाट हुने कुल मृत्युको ८० प्रतिशत न्यून र मध्यम आय भएका मुलुकमा रहेको छ । यसैले नेपाल यस्तो मृत्युको जोखिममा समेत रहेको हो । सूर्तिजन्य पदार्थको प्रयोगले मुटु रोग, दिर्घ स्वासप्रश्वास सम्बन्धी रोग, क्यान्सर, मधुमेह, जस्ता रोगलाग्ने गर्दछ । धूमपान तथा सूर्तीजन्य पदार्थहरुमा निकोटिन, टार, कार्बन मोनोअक्साइड, बेन्जोपाइरीन जस्ता विषालु रासायनिक तत्वहरु पाईने चिकित्सकको भनाई छ ।

यतिबेला उत्पादनदेखि प्रयोगस्थलसम्म सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने गरी ऐन जारी भएपनि सार्वजनिकस्थलमै धूमपान तथा सूर्ती सेवन गर्ने सँस्कार अभैm नेपालमा हट्न सकेको छैन । जसका कारण वर्षेनि धूमपान र सूर्तीजन्य पदार्थको सेवन गर्ने प्रयोगकर्ताहरुको संख्यामा कमी आएको छैन । धूमपान प्रयोगकै कारण मानव स्वास्थ्यमा नकारात्मक असर पनि पर्दै आएका छन् । जसले क्यान्सर लगायतका रोगहरुलाई निम्त्याईरहेको छ । यसले के प्रष्ट पारेको छ भने ‘धूमपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने सन्देश दिँदैमा आम मानिसले धूमपान गर्न छाड्दोरहनेछ । यसका लागि त आम नागरिक पनि जागरुक र इमान्दार हुनु आवश्यक रहेछ ।

क्यान्सर हुने प्रमुख कारण नै धूमपान तथा सूर्तीजन्य पदार्थको प्रयोग भएकाले सचेतना नेपालमा पनि सचेतना अभियान आवश्यक भएको हो । नेपालमा २० प्रतिशत बिरामी क्यान्सरका छन् । यसैले धूमपान गर्ने मात्रै नभई नजिकै रहने व्यक्ति समेतलाई धुवाँको असरले क्यान्सर हुने भएकाले सार्वजनिक स्थलमा धुमपान गर्नेलाई कडा कारबाहि गर्न संयन्त्र परिचालित हुनुपर्ने देखिएको छ । यसैगरि यस्ता पदार्थको विज्ञापन र प्रायोजनमा प्रतिबन्ध लगाइयो भने सेवन गर्नेको संख्यामा पनि कमी आउँछ । सूर्तीजन्य पदार्थको प्रयोगका कारण विभिन्न रोग लाग्ने गरेकाले त्यसबाट आफू मात्रै नभई अप्रत्यक्ष धुमपानको असरबाट अरुलाई पनि जोगाउन धूमपान तथा सूर्तीजन्य पदार्थको प्रयोग रोक्नु आवश्यक छ ।