«

»

सन्दर्भ : विश्व धूमपान रहित दिवस , आजैदेखि धूमपान त्यागौं, उदाहरणीय बनौ

tirtha nepalतिर्थ नेपाल

सालको पातमा सुर्ती बेरेर घरको डिलमा बसी बिडी खाने गरेको देखिन्थ्यो । घरका मुलीहरु नै त्यसो गर्थे । ग्रामिण भेगमा बिडी खानेको संख्या अझै छ । घर नै कुहिरोले छेकेजस्तो धुँवाले ढाक्ने । ससाना छोरा नातीहरुको मनमा खेल्थ्यो, म पनि बा ले जस्तै बिडी तान्न पाए ठूलो मान्छे हुन्थेँ होला । केटाकेटीहरु बारीमा सनको डाँठलाई सल्काएर धुवाँ उडाउँथे । आपसमा कुरा चल्थ्यो, म पनि ठूलो मान्छे भएँ ।
यसरी ठूलो मान्छे बन्ने ध्याउन्नमा धेरै अवोध बालबालिकामा धूमपानको लत बसेको छ । चुरोट बिडी पिउने मानिसलाई समाजमा ठूलो मान्छे हैन, घृणाको नजरले हेरिन्छ । सामाजिक अपमानका साथै ठूलो शारीरिक कष्ट धूमपान सेवन कर्ताले भोग्नु पर्दछ । क्यान्सर जस्तो रोगको प्रमुख कारण धूमपान बनेको छ । सुर्तिजन्य पदार्थको सेवनले शरिरमा प्रत्यक्ष असर पर्दछ । हरेक बर्ष झै मे ३१ शनिवार विश्व धूमपान रहित दिवस मनाईदैछ ।
यस वर्षको नारा ‘सुर्तिजन्य पदार्थको कर बढा मृत्यु तथा रोग घटाउँ’ तय गरिएको छ । सुर्तिजन्य पदार्थको सेवनले हुने हानि नोक्सानीलाई जनमानसमा पु¥याई जनचेतना बढाउन बिभिन्न प्रचारात्मक कार्यक्रमहरु गरी नेपालमा पनि यो दिवस मनाउने गरिएको छ । सरकारी र गैरसरकारी संघसंस्थाहरुको आयोजनामा विविध कार्यक्रम हुने गरेका छन् ।
सन् २०११ को नेपालको जनसांख्यिक सर्वेक्षण अनुसार ५२ प्रतिशत पुरुष र १३ दशमलब ३ प्रतिशत महिलाहरुले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाईन्छ । सुर्तिजन्य पदार्थ भन्नाले धूमपान वा सुर्ति सेवनका लागि बनाइएको चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ति, खैनी, गुट्खा वा यस्तै प्रकारका सुर्तिजन्य पदार्थलाई बुझिन्छ । सुर्तिजन्य पदार्थको सेवनवाट क्यान्सर, मुटुरोग, दिर्घ श्वासप्रश्वास रोग मुख्य रुपमा लाग्ने गरेको छ । यी रोगलाई नसर्ने रोगका रुपमा लिईन्छ ।
९० प्रतिशत फोक्सोको क्यान्सर सुर्तिजन्य पदार्थको सेवनवाट हुने गरेको अध्ययनले प्रमाणित समेत गरिसकेको छ । नेपालमा धूमपानको सेवनवाट बार्षिक १५००० जनाको ज्यान जाने गरेको छ । जसमध्ये नसर्ने रोगहरुवाट मात्रै ५१ प्रतिशतले ज्यान गुमाउँछन् । सुर्तिजन्य पदार्थको सेवनवाट विश्वमा बर्षेनि करिव ६० लाख मानिसहरुको मृत्यु हुने गरेको छ ।
धूमपान तथा सुर्ति सेवन गर्नेहरुलाई विभिन्न किसिमका दीर्घकालीन रोग तथा असरहरु देखिने गरेका छन् । हाल मुटु रोगीको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । मुटु सम्वन्धि रोग, मस्तिष्कमा रक्तश्राव हुने, मुख, फोक्सो, घाँटी, पेट, रगत आदिको क्यान्सर हुने गरेको पाईन्छ । दम, खोकी, निमोनिया, व्रोङकाईटिस हुने, दाँत ओठ बिग्रने पनि हुन्छ । त्यस्तै धूम्रपान गर्ने आमाबाट कम तौलको शिशु जन्मिने तथा गर्भपतन हुने खतरा पनि उत्तिकै रहन्छ । काम गर्ने क्षमतामा समेत कमि आई हानी पु¥याउँछ । यसका साथै धूमपान र सुर्ति सेवनले पारिवारिक, सामाजिक र आर्थिक क्षेत्रमा समेत नकारात्मक असर पु¥याउँछ ।
धूमपान सेवन गर्नेले त आफुलाई हानी पु¥यायो नै, तर उसका नजिकमा रहने निर्दोषहरुले पनि हानी बेहोर्नु पर्ने हुन्छ । धुवाँले वरपर बस्नेलाई पनि प्रत्यक्ष रुपमा असर पु¥याएको हुन्छ । धूमपानको असरले सेवन नगर्नेलाई पनि उत्तिकै क्यान्सरको जोखिम हुने गर्दछ । गर्भवतीले धूमपान गर्दा कम तौलको वा मरेको बच्चा जन्मने वा जन्मेको केही दिनमा मर्ने वा दूध खुवाउने आमाले धूमपान गर्दा उनको बच्चालाई दम, खोकी, कानको संक्रमण, शैशावस्थाको क्यान्सर, निमोनिया हुने र मृत्यु सम्मको खतरा रहन्छ । घरका अभिभावकले सेवन गर्दा छोरा छोरी र परिवारका सबै सदस्यलाई धुवाँले असर गर्दछ । स–साना बालवालिकाले त्यसैको सिको गर्दछन् । गलत कामको प्रेरणाको श्रोत बनेर बिल्कुल नतिजा राम्रो निस्कदैन । धूमपानको सिको गर्ने बालवालिकाले पछि हुर्कदैं गएपछि अन्य लागूपदार्थ दूव्र्यसनिमा फस्ने संभावना पनि उत्तिकै हुन्छ । यसले उनीहरुको भविष्य अन्धकार हुने मात्र हैन, हाम्रा सपना पनि तुसारापात हुन्छन् ।
dhumpanसुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ र नियमावली २०६९ अनुसार नेपालमा सार्वजनिक स्थलमा धूमपान वा सुर्ति सेवनलाई निषेध गरिएको छ । यदि सेवन गरेमा कार्वाहीको समेत व्यवस्था छ । धूमपान सेवन गर्न नमिल्ने सार्वजनिक क्षेत्रहरुमा राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय पर्दछ । त्यस्तै शिक्षण संस्था, पुस्तकालय, तालिम वा स्वास्थ्य सम्बन्धि सँस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारी साधनमा पनि सेवन गर्न पाईदैत । त्यसैगरी वालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बालउद्यान तथा क्लवमा पनि धूमपान निषेध गरिएको छ । सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, साँस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटर, रिसोर्ट, रेष्टुरेण्ट, वार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथी गृहमा पनि नियमतः धूमपान सेवन गर्न मिल्दैन । रंगशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्म तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टरमा धूमपान सेवन वर्जित गरिएको छ ।
ऐनले बिक्री वितरण तथा प्रदर्शनका सवालमा पनि स्पष्ट गरेको छ । १८ बर्ष मुनिका व्यक्तिलाई बिक्री गर्न नपाईने व्यवस्था छ । त्यस्तै ऐनमा गर्भवती महिलालाई बिक्रि गर्न नपाईने, सार्वजनिक स्थलवाट कम्तिमा एक सय मिटर भित्र बेच्न नपाउने, निशुल्क वितरण र उपहार दिन नपाउने, सजावट वा प्रदर्शन गर्न नपाउने जस्ता प्रावधानहरु स्पष्ट उल्लेख गरिएको छ ।
तर, बिडम्वना सार्वजनिक स्थलमा धूमपान वा सुर्ति सेवन गर्नेलाई राज्यले आजको मितिसम्म न कार्वाही गरेको छ । न नियम बिपरित बिक्री बितरण गर्नेहरु कारवाहिमा परेका छन् । ऐनको कार्वान्वयन पक्ष अत्यन्त फितलो छ । ऐनमा सजायको पनि स्पष्ट ब्यबस्था छ । सार्वजनिक स्थलमा धूमपान वा सुर्तिको सेवन गर्नेलाई बाहिर निकाल्ने र एक सय रुपैया जरिवाना गर्ने, पटक पटक गरेमा कर्मचारी भएमा कानुन बमोजिम सचेत गराउने वा विभागिय कारवाहि गर्ने भनिएको छ । त्यस्तै सार्वजनिक स्थलको सञ्चालक तथा व्यवस्थापकको हकमा सूचना टाँस नगरेमा ५ हजार जरिवाना, उत्पादन, विवरण पेश र चेतावनीमूलक सन्देश नराखेमा ५० हजार र जफत, विज्ञापन र प्रायोजन गरेमा एक लाख, बिक्री वितरण र प्रदर्शन गरेमा १० हजार जरिवाना गर्ने ऐनमा व्यवस्था छ ।
‘चुरोट खैनीको सेवन नगरौं, यसले हानी पु¥याँउछ’ भन्ने चेतना फैलाउँदा यसको नियन्त्रण हुनसक्छ । तर यसो गर्दा पनि चुनौती छन् । प्रशस्त पढे गुनेका, समाजमा भद्र कहलिएकाहरुले पनि चुरोट, खैनीको सेवन गरेको पाईन्छ । अहिले त कलेज तथा स्कूलमा अध्ययनरत केही किशोर किशोरी पनि यस्तो लतमा फसेको देखिन्छ । धूमपान नियन्त्रणको चुनौती भनेको यसको लत नै हो । सेवन गर्ने लत बसेकाहरुलाई छुटाउन अत्यन्त मुस्किल हुने जानकारहरु बताउँछन् । उनीहरुलाई यसले गम्भिर रोगले च्यापेपछि मात्रै लत हटाउन बाध्यता पर्ने गरेको छ । तर, आजभोली धूमपानको लत हटाउन बिभिन्न किसिमका उपायहरु पनि भेटिने गरेका छन् ।
रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै उपयुक्त हो । सर्वप्रथम यसको लतमा नफसेको नै बेस हुन्छ । साथीभाईको लहैलहै र दबाबमा नपर्ने, कुनै किसिमका सुर्तीजन्य पदार्थ नचाख्ने, चुरोट, सलाई, एस्ट्रे आफुसंग वा घरमा नराख्ने, काममा व्यस्त रहने, प्रशस्त पानी पिउने, धूमपान छुटाउन चिकित्सकको सल्लाह लिने वा छाड्ने अठोट गर्ने र धूमपान सेवन एकैपटक छाड्ने वा संख्या कम गर्दै बिस्तारै छाड्ने गर्न सकिन्छ । चुरोट, बिडी, खैनी खरिद गर्ने पैसालाई दैनिक रुपमा खुत्रुकेमा हाल्ने हो भने पनि हाम्रा लालावालालाई काम लाग्नेछ ।
विश्वलाई धूमपान रहित बनाउने मान्यताले संसारभर संदेश दिन यो दिवस मनाउने गरिएको छ । तपाई हामी पनि आजैका मितिदेखि धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनलाई त्याग गरी यो विश्वव्यापी अभियानलाई सहयोग मात्र हैन, व्यक्तिगत लाभ समेत प्राप्त गर्ने हो कि ?