«

»

रेडियो सम्पदाका श्रमजीविको समस्या समाधान

IMG_20150319_223204गीतानगर, ५ चैत
गीतानगरमा रहेको रेडियो सम्पदाका श्रमजीवि पत्रकार र कर्मचारीको समस्या नेपाल पत्रकार महासंघ, चितवनको समन्वयमा बिहीबार समाधान भएको छ । श्रमजीवि पत्रकारको हकहित र अधिकार खोस्ने गरी अन्याय भएको भनि आवश्यक छानविन गर्न रेडियोका कर्मचारीहरुद्वारा महासंघमा संयुक्त उजुरी आएपछि अध्यक्ष हरिप्रसाद पोखरेलको नेतृत्वमा गएको महासंघको टोलीले रेडियो सम्पदामा पुगेर समस्या समाधान गरेको हो ।
महासंघको टोलीमा अध्यक्ष पोखरेलसहित उपाध्यक्ष दिपेन्द्र बडुवाल, सह–सचिव सविता श्रेष्ठ, पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्ण गिरी, क्रियाशिल महिला पत्रकार मंच, चितवनकी अध्यक्ष शान्ता अधिकारी, पत्रकारहरु एकल सिलवाल, दिपेन्द्र अधिकारी, र राजु सापकोटाको सहभागिता रहेको थियो ।
रेडियोको व्यवस्थापन पक्षबीच भएको असन्तुष्टि कारण बुधबारबाट काम छाड्नुपरेको गुनासोसहितको निवेदन कर्मचारीबाट आएपछि महासंघले तत्काल समाधानको बाटो तय गर्न रेडियोको व्यवस्थापन पक्षसँग वार्ता गरेको हो । यसैगरी समाचार शाखामा कार्यरत महिला पत्रकारलाई रेडियोकै कर्मचारी शिवनरेश गुप्ताले अपमानजनक व्यवहार गरी इज्जतमाथि प्रश्नचिन्ह उठाएको आरोप पनि कर्मचारीहरुले लगाएका थिए ।
गुप्ताले महिला कर्मचारीप्रति लक्षित गर्दै बोलेको अपशब्दको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले महासंघकै रोहबरमा कर्मचारीका सामुन्ने माफी समेत मागेका छन् । रेडियोमा देखिएको विवाद बुधबार साँझ इलाका प्रहरी कार्यालय गीतानगरसम्म पुगेर फर्किएको थियो ।
IMG_20150319_221514रेडियो सम्पदाको व्यवस्थापन पक्ष र कर्मचारी पक्षबीच महासंघको रोहबरमा भएको छलफलमा कार्यरत कर्मचारीहरुलाई बिहीबारबाटै पुनर्वहाली गरी ससम्मान काममा लगाउने सहमती समेत भएको छ । यसैगरी आगामी एक हप्ताभित्र कर्मचारीलाई जिम्मेवारीका साथ नियुक्तिपत्र उपलब्ध गराउन महासंघले अनुरोध गरेपछि व्यवस्थापन पक्ष सहमत भएको छ ।
महिलाद्वारा समाज परिवर्तनका लागि स्थापना गरिएको रेडियोमा महिला कर्मचारीलाई विशेष प्राथमिकता दिइ सम्मानजनक रुपमा सहज वातावरणमा काममा लगाइने र पुरुष कर्मचारीको हकमा पनि कुनै विभेद नहुने विषयमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।
कर्मचारीहरुले पनि आफूले पाएको जिम्मेवारी अनुसार अनुशासित, मर्यादित भएर नियमित रुपमा रेडियोलाई हानि नपुग्ने हिसावले कार्य गर्ने लगायतका विषयमा पनि दुबै पक्षले हस्ताक्षर गरेका छन् । यसैगरी व्यवस्थापन पक्ष र श्रमजीवी पक्षवीच देखिएको मतभेद आपसी वैठकबाट टुंगो लगाउने विषयमा पनि उनीहरुबीच सहमती भएको नेपाल पत्रकार महासंघ, चितवनले जनाएको छ ।
सहमती पत्रमा व्यवस्थापन पक्षबाट रेडियो सम्पदाकी अध्यक्ष मुना गुरुङ र संरक्षक खेम गुरुङले हस्ताक्षर गरेका छन् । यसैगरी कर्मचारीको तर्फबाट समाचार शाखा प्रमुख प्रमिता भण्डारी, कार्यक्रम संयोजक मुक्ति कँडेल, प्राविधिक प्रमुख श्याम विकले हस्ताक्षर गरेका छन् ।